कावासोतीमा युवामैत्री स्थानीय शासन क्षमता अभिवृद्धि तालिम

कावासोती, २२ असार ।
१२ बुँदे प्रतिबद्धता जाहेर गर्दै कावासोती नगरपालिकामा युवामैत्री स्थानीय शासन अवलम्बन गरी कार्य प्रारम्भ गर्ने गरी क्षमता अभिवृद्धी तालिम सम्पन्न भएको छ । असार २० देखि २२ गतेसम्म कावासोती नगरपालिकाका युवा तथा सरोकारवालाहरुको सहभागितामा ३ दिने युवामैत्री स्थानीय शासन सम्वन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

जागृती बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षतामा भएको समापन समारोहमा कावासोती नगरपालिकाका शिक्षा शाखा तथा सामाजिक शाखा प्रमुख क्षेत्रबहादुर भण्डारी प्रमुख अतिथि र अन्य संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तीन दिनसम्म संचालित कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, खेलकुद विकास समितिका प्रतिनिधि, जिल्ला युवा समितिका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधि, संचार, युवा संघसंस्था, विभिन्न अभियानका प्रतिनिधिहरु, बाल क्लव सदस्य, बालमैत्री अभियानकर्मी, कृषक युवा उद्यमी, युवा स्वयंसेवक तथा युवामैत्री स्थानीय शासन अभियानकर्मीहरु गरि ४० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा अतिथि तथा सहभागीहरुले कावासोती नगरपालिकालाई युवामैत्री बनाउन योगदान गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।कार्यक्रममा सहभागी राधिका भुसालले सबै क्षेत्र तह, विभेदमा परेका, अपाङ्गता भएका, यौनिक तथा लैङ्गिक अल्पसङख्यक तथा सबै पृष्ठभूमिका युवाहरु समेटेर युवामैत्री पालिका बनाउन जोड दिएकी थिईन् । साथै नगरलाई पहिलो युवामैत्री निर्माण गर्नको लागि आफ्नो तर्फबाट र यो समूहको तर्फबाट साझा प्रतिबद्धता जाहेर गरेकी थिइन् ।

युवाको अधिकारलाई सुनिश्चित गर्न स्थानीय तहदेखि नै युवाका सवालहरु शासन प्रणालीमा जोड्दै, उनीहरुको सक्रिय सहभागिता, संलग्नता र सहकार्यमा संचालन गरिने शासन प्रणाली युवामैत्री स्थानीय शासन हो । यस अवधारणामा ७ रणनीति, ४६ कार्यनीति, ४५ सुचकहरु र अबलम्वन, कार्यान्वय र घोषणाका लागि ४ चरणहरु प्रस्ताव गरिएको छ । स्थानीय आवश्यकता अनुसार रणनीति, कार्यनीति, सुचक र चरणहरुको स्थानीयकरण गर्न सकिन्छ ।

युवामैत्री स्थानीय शासनको आवश्यकता र यसले समग्र विकासमा पार्ने सकारात्मक प्रभावलाई मध्यनजर गर्दै कावासोती नगरपालिकाको संयोजनमा राष्ट्रिय युवा परिषद, जागृति बाल तथा युवा सरोकार नेपाल, युएनडिपि र युनिसेफ नेपालले संयुक्त प्रयासमा युवामैत्री स्थानीय शासन अभियानलाई ठोस रुप दिन साझेदारी भईरहेको छ ।

युवामैत्री स्थानीय शासन सम्वन्धी क्षमता अभिवृद्धि कार्यक्रमका सहभागीहरुलाई प्रमुख अतिथि क्षेत्र बहादुर भण्डारीले प्रमाण पत्र वितरण गर्नुभएको थियो । तालिमको सहजीकरण अधिवक्ता तथा युवामैत्री स्थानीय शासन अभियानकर्मी विष्णु खत्री , राष्ट्रिय युवा परिषदका कार्यकारी सदस्य तथा युवामैत्री स्थानीय शासन अभियानकर्मी तिलोत्तम पौडेल र दीपक शर्माले गरेका थिए । कार्यक्रममा उपस्थित सहभागीहरुले कावासोती नगरपालिकालाई युवामैत्री स्थानीय तहका रुपमा अवलम्बन, कार्यान्वयन र घोषणा गर्नका लागि कार्ययोजना तयार गर्दै सबै सहभागीहरुले आआफ्नो व्यक्तिगत र संस्थागत रुपमा योगदान पुर्‍याउँदै युवामैत्री नगरपालिकाका लागि यो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै प्रतिबद्धता कार्यान्वयनका लागि सबै सरोकारवालाबाट सहयोगको लागि अपेक्षा गरेका छन् ।

कावासोती नगरपालिकामा युवामैत्री स्थानीय शासनको प्रबर्द्धनका लागि कावासोती नगरपालिकाका सरोकारवालाहरुको अपिल

१) कावासोती नगरपालिकाको कार्यपालिका बैठकबाट युवामैत्री स्थानीय शासन अवलम्बन गर्ने यथाशक्य निर्णय गरी कावासोती नगरपालिकालाई युवामैत्री नगरपालिकाका रुपमा विकास गर्न आवश्यक स्रोत साधनसहित काम गर्न गराउन अपिल गर्दछौं ।

२) नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषदले तयार गरेको युवामैत्री स्थानीय शासन सम्बन्धी दिग्दर्शनका आधारमा युवामैत्री स्थानीय शासन अवलम्बन, कार्यान्वयन र दिगोपनसँग सम्बन्धित कावासोती नगरपालिकाको कार्यविधि तयार गरी कार्यान्वयन गर्न अनुरोध गर्दछौं ।

३) कावासोती नगरपालिमा नगर युवा परिषद गठन तथा संचालन सम्बन्धी कार्यविधि निर्माण गरी नगर युवा परिषदको गठन गर्न अनुरोध गर्दछौं ।

४) कावासोती नगरपालिकामा युवाका साझा सवालहरुको प्रभावकारी संयोजन गर्न कार्यपालिका अन्तर्गतको विषयगत समिति, नगरपालिकाको विषयगत शाखा/इकाई र सम्पर्क व्यक्ति स्पष्ट रुपमा तोकी जिम्मेवारी प्रदान गर्न अपिल गर्दछौं ।

५) कावासोती नगरपालिका भित्रका १६ देखि ४० वर्ष उमेर समूहका युवाहरुको विशिष्टकृत तथ्याङ्क सहितको युवा प्रोफाइल तयार गरी वार्षिक रुपमा अद्यावधिक गर्न अनुरोध गर्दछौं ।

६) कावासोती नगरपालिकाका सबै युवाहरुको युवा क्लब/समूहहरुमा सहभागिता सुनिश्चित गर्न अपिल गर्दछौँ । सबै युवाहरुको सहभागिता सुनिश्चित हुनेगरी युवा क्लब/समूहहरुको गठन/पुनर्गठन गर्न अनुरोध गर्दछौ । युवा क्लब/समूहहरुको वडास्तरीय र नगरपालिका तहको संजाल गठन/पुनर्गठन गरी स्रोतसाधन सहित सकृय बनाउन अनुरोध गर्दछौं।

७) कावासोती नगरपालिकाका युवाहरुको साझा सवालहरुको सम्बोधनका लागि प्राथमिकताका सवालहरु पहिचान गरी सो को कार्यान्वयको निम्ति नीतिगत रुपमा सम्बोधन सहित आवश्यक स्रोत साधनको समेत व्यवस्था गर्न अपिल गर्दछौं ।

८) युवा रोजगारी, स्वरोजगारी र उद्यमशीलता प्रबर्द्धन, सहुलियतपूर्ण ऋण, अनुदान र आर्थिक तथा प्राविधिक सहयोगको वातावरणका लागि विशेष रणनीति तयार गरी कार्यन्वयन गर्न अनुरोध गर्दछौँ । युवाहरुको नेतृत्व, व्यक्तित्व र क्षमता विकाससँग सम्वन्धित कार्यक्रमहरु समेत तय गरी कार्यन्वयन गर्न अनुरोध गर्दछौं ।

९) वैदेशिक रोजगारीबाट फर्केर आएका युवाहरुको ज्ञान, सिप र अनुभवलाई नगरपालिकाको समग्र विकासमा योगदान पुग्ने वातावरण तयार गर्न उनीहरुको सामाजिक तथा आर्थिक पुनः एकिकरणसँग सम्वन्धित कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न अनुरोध गर्दछौं ।

१०) विभिन्न विषय, विधा र क्षेत्रमा आफ्नो दक्षता र विज्ञता हासिल गरेका कावासोती नगरपालिकाका युवाहरुलाई नगरपालिकाको समग्र विकासमा योगदान दिन सक्ने वातावरणको समेत विकास गर्न युवा विज्ञहरुको रोष्टर तयार गरी कावासोती नगरपालिका र युवा साझेदारी विकास गरी हाम्रो कावासोती नगरपालिकाको समग्र विकासमा सहयोग पुग्ने वातावरण तयार गर्नका लागि अनुरोध गर्दछौं ।

११) अपाङ्गता भएका युवा, अल्पसंख्यक युवा, आर्थिक, सामाजिक वा साँस्कृतिक रुपमा जोखिम समूहमा रहेका युवा, हिंसा पीडित वा प्रभावितलगायतका युवाहरुका लागि विशेष कार्यक्रम तय गरी ती युवाहरुको शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका आधारभूत आवश्यकताहरुको सम्बोधनका लागि विशेष पहल गर्न अपिल गर्दछौं ।

१२) युवामैत्री स्थानीय शासनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने नगरपालिका तहका संरचनाहरुको निर्माण गर्न तथा विकास साझेदार, नागरिक संस्था, युवा संस्था, क्लव, संजाललगायत सबै सरोकारवालाहरुसँग साझेदारी विकास गरी समन्वयमा काम गर्दै हाम्रो कावासोती नगरपालिकालाई युवामैत्री नमूना नगरपालिकाका रुपमा पहिचान गर्न गराउन अपिल गर्दछौं ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट