प्रयोगात्मक सिकाइमा फुरुङ्ग विद्यार्थी

भरतपुर , १६ असार ।

असार १५ नेपालीका लागि महत्वपुर्ण चाड हो । म खाना खाएर चितवनको रोपाई कहाँ कहाँ भएको रहेछ भनि स्कुटर लिएर फिल्डमा निस्किए । पानी परिरहेको थियो । र्यानकोट ओडेर भएपनि पश्चिम चितवनतिर हानिए । बाटोमा जाँदै थिए ।

एउटा दृश्यले मेरो ध्यान खिच्यो । निकै ठुलो संख्यामा बिद्यार्थीहरु धान रोपिरहेका थिए । म त्यहि अडिए । स्कुटरबाट ओर्लेर एक जना हातमा धानको विउ लिएकी नानीलाई सोधिहाले ए नानी, ‘स्कुल नगई यो हिलोमा के गरेकी?’ जवाफमा उनले भनिन्,‘हामी त धान रोप्ने विधिबारे प्रयोगात्मक रुपमा पढिरहेकै हौ म्याम ।’ त्यसपछि मलाई झन् उत्सुकता लाग्यो र सोधे, ‘यसअघि धान रोपेको थिएनौ र’ उनले भनिन् ,‘मलाई त धान कसरी फल्छ भन्ने पनि थाहा थिएन ।

ममीले भान्छामा पकाउने चामल त पसलबाट नै आउँछ होला झै लाग्थ्यो,चामल कसरी फल्छ भनेर कहिल्यै कसैलाई सोधेकी पनि थिइन । यसलाई यसरी हिलोमा रोप्नुपर्छ यसबाट धान फल्छ यहि धान कुटेर चामल निकाल्ने हो भन्ने विधि मैले यहाँ आएपछि मात्र थाहा पाए ।’

उनको नाम अविप्स्या कार्की हो उनी अंङकुरम् एकेडेमी भरतपुरमा कक्षा ८ मा अध्ययन गर्छिन् । अविप्स्या जस्तै आरोही खनालको अनुभव पनि उस्तै छ, ‘म पहिलो पटक यसरी हिलोमा धान रोप्दै छु, अहिलेसम्म धानप्रतिको मेरो बुझाई गलत रहेछ’ उनले भनिन्, ‘धान त हिलोमा रोपेर पो मलजल गरि फलाउनुपर्ने रहेछ’ उनले सुनाइन् । आरोहीलाई त केही समय अघि आफुले खाने दुध पनि डेरीले दिन्छ झै लाग्थ्यो रे गाई भैसी पाल्नुपर्छ र दुध दिन्छ भन्ने ज्ञान उनले अंङकुरम्मा आएपछि मात्र थाहा पाएकी रहिछन् । अविप्स्या र आरोहीजस्ता ७ देखि १० कक्षा सम्मका झन्डै डेढ सय विद्यार्थीहरुलाई धान रोपाई विधिको बारेमा पहिलो पटक जानकारी मिलेको थियो ।

अंकुरम्को विशेषता नै यहि हो । विद्यार्थीहरुलाई जुनसुकै विषयबस्तुमा पनि प्रयोगात्मक विधिद्धारा सिकाउनु र उनीहरुलाई महसुस हुनेगरि ज्ञान दिनु । एकेडेमीका कार्यकारी निर्देशक नवराज पौडेल आफ्ना विद्यार्थीहरु यसबारेमा व्यवहारिक ज्ञान दिन र धानको उत्पादन विधिबारे प्रस्ट पार्नका लागि खेतबारीमै विद्यार्थीहरुलाई लिएर आएको बताए ।

विद्यार्थीहरुलाई रोपाई गर्ने व्यवस्था भने पश्चिम चितवनको गितानगर स्थित विसहजारी फार्म हाउसभित्रको जमिनमा मिलाइएको थियो । मिलिजुली आमा समुहसंगको सहकार्यमा गरिएको उक्त कार्यक्रममार्फत अंङकुरम््का विद्यार्थीहरुले प्रयोगात्मक रुपमा धान रोप्ने विधिबारे प्रस्ट हुने पौका पाएका छन् ।

यसरी आफ्नो नातीनातीनी जस्ता बाबु नानीलाई खेतमा संगै राखेर रोप्न सिकाउन पाउँदा मिलीजुली आमा समुहकी अध्यक्ष गोमा सुवेदी फुरुगं थिइन् ।
धान दिवसले धान खेती र पारस्परिक श्रम प्रयोगको प्रविधि, आपसी प्रतिबद्धता र सांस्कृतिक प्रदर्शनको सन्देश विभिन्न गतिविधिमार्फत झल्काउने देखिन्छ ।

यो दिनले रोपण अवधिको सुरुवात पनि गर्दछ। यो दिन देशको सबैभन्दा महत्त्वपूर्ण कृषि अभ्यासहरू मध्ये एकको प्रतीक हो र नेपालीहरूका लागि विशेष दिन हो। नेपाली संस्कृतिमा मनाइने धेरै पर्वहरूमध्ये रोपाइँ दिवसको विशेष राष्ट्रिय महत्व छ । यो पर्व नेपालका ग्रामीण क्षेत्रहरूमा विभिन्न परम्परागत तरिकाले मनाइन्छ, जहाँ कृषि र पशुपालन अझै पनि जीविकोपार्जन र आय आर्जनको प्रमुख पेशा हो।

तर शहरबजारमा बसोबास गर्ने विशेषगरी पछिल्लो पुस्ताका बच्चाहरुलाई यो दिवसको महत्वबारे खासै ज्ञान छैन । खेतीयोग्य जमिनहरु सबै प्लटिगं गरेर भौतिक संरचना निमार्ण भइरहेको छन् गाउंका खेतबारी बाँझै छन् यस्तो अवस्थामा पछिल्लो पुस्ताले धान कसरी उत्पादन हुन्छ भन्ने कुरा नै विर्षिरहेका छन् । चामल कहाँबाट आउंछ भनेर सोध्दा कुनै डिपार्टमेन्ट स्टोरको नाम लिने बच्चाहरु धेरै छन् ।

प्रयोगात्मक रुपमा डिजिटल माध्यमबाट कक्षा सञ्चालन हुदैं आइरहेको अन्तराष्ट्रिय स्तरको विद्यालय अंङकुरम्ले धान दिवसको अवसर पारेर विद्यार्थीहरुलाई खेतबारीमै उतारेको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट