भरतपुर, १४ असार ।
नेपाल सहकारी वित्तीय संस्था चितवन शाखा प्रमुख वसन्त मोहन अधिकारीले जिल्लाको आर्थिक समृद्धिका लागि संस्था विभिन्न योजनाका साथ अगाडि बढिरहेको बताएका छन् । संस्थाका सेयर सदस्यहरूलाई प्रमाणपत्र र मुद्दती रसिद वितरण साथै सम्मान कार्यक्रममा बोल्दै शाखा प्रमुख अधिकारीले आफ्नो संस्थाका सदस्यहरूलाई आर्थिक समृद्धिमा ध्यान दिँदै लगानी गर्ने ठाउँमा निर्धक्कसँग लाग्न आग्रह गरे ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले सेयर सदस्यहरूलाई प्रमाणपत्रसहित सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका अधिकारीले आर्थिक सुधार गर्न वित्तीय संस्थाहरूको भूमिका उल्लेख रहेकोले समाजमा आर्थिक गतिविधिलाई चलायमान गराउन सदस्यहरूलाई आग्रह गरे ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ र नेपाल सहकारी वित्तीय संस्थाका केन्द्रीय उपाध्यक्ष रोहित भट्टराई साथै अतिथिका रूपमा उपस्थित नेपाल सहकारी वित्तीय संस्थाका केन्द्रीय कोषाध्यक्ष लोकराज गौतम, डाक्टर सूर्यज्योति श्रेष्ठ, केदारनाथ तिमिल्सिना, रामेश्वर खनाल र वडा नम्बर ३ का अध्यक्ष विकास थापाले शुभकामना सन्देश दिएका थिए ।




