गैँडाकोट, १४ असार ।
स्वतन्त्र पत्रकार संघ नेपालले सामाजिक पत्रकारिता पुरस्कार–२०७७ बाट वरिष्ठ पत्रकार भूपनिधि पन्तलाई सम्मान गर्ने निर्णय गरेको छ । संघको मंगलबार गैँडाकोटमा सम्पन्न केन्द्रीय समिति बैठकले पत्रकार पन्तलाई सम्मानित गर्ने निर्णय गरेको हो ।
आगामी साउन ६ गते गण्डकी प्रदेशको राजधानी पोखरामा जिल्ला अध्यक्ष र सचिवहरुको भेला आयोजना गर्ने र सोही अवसरमा पत्रकार पन्तलाई पुरस्कृत एवं सम्मानित गर्ने निर्णय नयाँ कार्यसमितिको पहिलो बैठकले लिएको अध्यक्ष कृष्णप्रसाद बास्तोलाले जानकारी दिए ।
बैठकले संघको सम्पर्क कार्यालय गैँडाकोट नगरपालिकामा स्थापना गर्ने, सदस्यता एवं शाखा बिस्तार गर्ने, सबै सदस्यहरुको व्यक्तिगत विवरण संकलन गर्ने, स्वतन्त्र सन्देश स्मारिका र टेलिफोन डाइरेक्टरी प्रकाशन गर्ने, कार्यसमितिलाई पूर्णता दिने, बैंक खाता संचालनलगायतका महत्वपूर्ण निर्णय गरेको अध्यक्ष बास्तोलाले बताए ।
स्वतन्त्र पत्रकार नेपालको दसौँ साधारणसभा तथा चौथो राष्ट्रिय अधिवेशन गत जेठ २१ र २२ गते गैँडाकोटको मौलाकालिका मन्दिर परिसरमा सम्पन्न भएको थियो । संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको पहिलो बैठक मंगलबार गैँडाकोटमा सम्पन्न भएको हो । बैठकले राट्रिय अधिवेशन सफल पार्न भूमिका खेलेका सबैलाई धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गरेको छ ।





