परीक्षा आइसक्यो, किताब आएन

भरतपुर, १४ असार ।
अस्ति आइतबार गैंडाकोट- १ स्थित शुभलाभ पुस्तक पसलका सञ्चालक बुद्धिसागर गैरेलाई विद्यालयको पाठ्यपुस्तक किन्न आएका एक ग्राहकले नमिठो वचन लगाए । शैक्षिकसत्र सुरु भएको डेढ महिना पुग्दा पनि पाठ्यपुस्तक नपाएको रोष प्रकट गर्दै गैरेमाथि ती ग्राहक खनिए । जनक शिक्षा सामग्रीले प्रकाशित गर्ने ६ र ८ को किताब अभाव भएपछि बुद्धिसागरले पटकपटक अभिभावक र विद्यार्थीको यस्ता आक्रोस सुन्दै र भोग्दै आएका छन् ।
‘अहिलेको हाम्रो समस्या भनेको जनक शिक्षाबाट जति चाहिने हो त्यति किताब आएको छैन । किताब नआउँदा अभिभावकले हामीले नै किताब लुकाएजसरी गाली गर्नुहुन्छ’ उनले भने, ‘सरकारले समयमै किताब छापेर नपठाउँदा विद्यार्थीलाई त घाटा छ नै, हामीमाथि नै आक्रमण हुने हो कि भन्ने डर भइसक्यो । अब जतिसक्दो छिटो किताब उपलब्ध होस् भनेर माग गर्न आएका हौँ’ मंगलबार भरतपुरमा रहेको जनक शिक्षा सामग्री वितरण केन्द्रमा भेटिएका उनले भने । तत्काललाई ६ र ८ को अङ्ग्रेजी र नेपाली अभाव रहेको उनी बताउँछन् ।

गोर्खाली पुस्तक पसल टाँडीका संचालक नारायण रेग्मीले परीक्षा आउने बेला भइसके पनि जनक शिक्षाले किताब उपलब्ध गराउन नसकेको दुःखेसो पोखे । ‘१५ दिनपछि परीक्षा हुँदैछ । अभिभावक र विद्यार्थी किताब लिन भनेर आउनुहुन्छ, हामीले के उत्तर दिने ? अहिले सात वटा किताबमध्ये तीन वटा किताब त पाएकै छैनन् । म एउटा व्यवसायीमात्रै नभएर अभिभावक पनि हो । किताब छुनै पाएको छैन विद्यार्थीले, कसरी परीक्षा दिने ?’ उनले आक्रोस पोख्दै भने ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ चितवनका निवर्तमान अध्यक्ष राजेन्द्र तिवारीले जनक शिक्षाले उत्पादन गर्ने कक्षा ४ देखि १० सम्मकै पाठ्यपुस्तकको चरम अभाव रहेको बताउँछन् । ‘विद्यार्थीको पढ्ने र शिक्षकको पढाउने अधिकारमाथि खेलवाड भइराखेको छ । जनक शिक्षाले हालसम्म ६० प्रतिशतमात्रै किताब छापेको छ । किन यस्तो भइराखेको छ ? जवाफ दिनुपर्छ’ उनले भने, ‘अबका दिनमा अपुग पाठ्यपुस्तक छापेर हरेक विद्यार्थीको हातहातमा पुर्‍याउन ध्यानाकर्षण गराएका छौँ ।’

कृष्णगण्डकी मावि गैंडाकोट–५ का प्रध्यानध्यापक सूर्यनाथ तिवारी पाठ्यपुस्तक समयमै हात नपर्दा शिक्षण सिकाई क्रियाकलप नै प्रभावित बनेको बताउँछन् । कक्षा ६ र ८ को स्वास्थ्य, नेपाली र अङ्ग्रेजी विद्यार्थीको हातमा नपरेको दुःखेसो तिवारी पोख्छन् । ‘गैंडाकोट र चितवनका पुस्तक पसल चाहार्‍यौँ । जनक शिक्षा सामग्री भरतपुरमा पनि पुग्यौँ । किताब नै आएको छैन भन्नुहुन्छ । पहिलो त्रैमासिक परीक्षा आइसक्यो, विद्यार्थीको हातमा किताब छैन’ उनले भने ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको क्षेत्रीय कार्यालय भरतपुरका प्रमुख राम विनय श्रेष्ठले ६ जिल्लामा (चितवन, नवलपरासीपूर्व, मकवानपुर, बारा, पर्सा र रौतहट) मा आफूले पुस्तक पठाउने जिम्मा पाए पनि माग बमोजिम पठाउन नसकेको स्वीकार्छन् । ‘यो साल कक्षा ६ र ८ का पुस्तक चाहे जति उत्पादन नभएकाले व्यवसायी र विद्यालयले मागे जति वितरण गर्न सकेका छैनौँ । अन्य पुस्तकको हकमा कक्षा ४, ७, ९ र १० को किताब पर्याप्त गइसकेको छ’ उनले भने ।
कक्षा ६ र ८ को पुस्तक केही दिनमा आउने उनले आश्वसन दिए । ‘समयमै कागज खरिद गर्न नसक्दा पाठ्यपुस्तक उत्पादनमा अवरोध भएको हो । कक्षा ६ र ८ का पुस्तक असार १९ गतेभित्र आइपुग्छ अनि वितरण गर्छौं’ उनले भने ।

आन्दोलनको चेतावनी
मागबमोजिम पाठ्यपुस्तक नआएपछि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले आन्दोलनको चेतावनी दिएको छ । मंगलबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको क्षेत्रीय कार्यालय प्रमुख विनयराम श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीहरुले यस्तो चेतावनी दिएका हुन् ।
महासंघले क्षेत्रीय कार्यालय प्रमुख श्रेष्ठलाई बुझाएको विज्ञप्तिमा ६० प्रतिशत पाठ्यपुस्तक आपूर्ति भए पनि अझै ४० प्रतिशत किताबको अभाव रहेको बताइएको छ ।

जनक शिक्षा सामग्रीद्वारा प्रकाशित हुँदै आएका ४ देखि १० कक्षासम्मका पाठ्यपुस्तक पर्याप्त मात्रामा नआउँदा विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भन्दै आक्रोश व्यक्त गरिएको छ ।
‘आज नेपालभरि रहेका नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघसँग आवद्ध १६ हजार व्यवसायीले हरेक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउँदै आइरहेको सर्वविदितै छ’ विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थी तथा अभिभावकले हाम्रा व्यवसायीहरुको पसलपसलमा गएर धर्ना दिएर विभिन्न गालीगलौज तथा असभ्य व्यवहार प्रकट गरेर व्यवसायीहरुको व्यवसायमाथि नै धावा बोल्ने काम भएको छ । त्यसैले यी सम्पूर्ण कुराहरुलाई मध्यनजर गर्दे आजका मितिले ७ दिन भित्रमा नपुगेका पाठ्यपुस्तकहरु पूरा गरिदिनको लागि अनुरोध गर्दछौं ।’

महासंघले ७ दिनभित्र माग पूरा नगरेमा जुनसुकै आन्दोलन गर्न समेत पछि नपर्ने चेतावनी दिएको छ । महासंघका केन्द्रीय उपाध्यक्ष
किरणकुमार खनाल, चितवन शाखाका अध्यक्ष उद्योगविक्रम बानियाँ, सचिव महेन्द्र कोइरालालगायतका महासंघका प्रतिनिधिहरुले जनक शिक्षा सामग्री केन्द्र भरतपुरका प्रमुख श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन् ।

निजी प्रकाशनका किताब पनि अभाव

बजारमा निजी प्रकाशन गृहका किताबको समस्या पनि उस्तै छ । ओएसिस प्रकाशनको कक्षा ५ को सोसल स्टडी र कक्षा ८ को हेल्थ एण्ड फिजिकल एजुकेसन अनि ग्रिन पब्लिकेसनको कक्षा ६ को ग्रामरलगायतका किताब पनि धेरै विद्यार्थीलाई दिन बाँकी रहेको पुस्तक पसल संचालकहरु बताउँछन् ।

त्यसैगरी विदेशी प्रकाशन गृहका किताबहरुको अभाव पनि उत्तिकै रहेको छ । जिल्लामा सैनिक आवासीय मावि, अङ्कुरम् एकाडेमी, सनराइज स्कुल, ओम शान्ति एकाडेमी र स्मल हेभन स्कुल कल्याणपुरले विदेशी प्रकाशन गृहका केही किताब आफ्नो पाठ्यक्रममा राखेका छन् । तर अधिकांश विद्यार्थीले यी पुस्तक अहिलेसम्म पाएका छैनन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट