देवचुली, ७ असार ।
देवचुली नगरपालिकामा ट्याक्टरको जोताई प्रतिघण्टा २ हजार ५ सय रुपैयाँ कायम गर्ने सहमति भएको छ । मंगलबार देवचुली नगरपालिकाको सभाहलमा ट्याक्टर व्यवसायी संघका पदाधिकारी, किसान र नगरपालिकाबीच त्रिपक्षीय छलफलबाट मूल्य निर्धारण गरिएको हो । हाल डिजेलको मूल्य १९२ रुपैयाँ रहेको र मूल्य प्रतिलिटर २० रुपैयाँ बढ्दा वा घट्दासम्म ट्याक्टरको कल्टी र हाईरोद्वारा जोताईको प्रतिघण्टा २ हजार ५ सय र रोलाभेटरको प्रतिघण्टा २ हजार ६ सय कायम गरिएको हो ।
ईन्धनको मूल्यवृद्धिले गर्दा ट्याक्टर जोताईमा फरकफरक मूल्य हुँदा किसानहरुमा परेको मर्कालाई सहजीकरण गर्न नगरभित्र ट्याक्टरको मूल्य एकरुपताका गर्नका लागि देवचुली नगरपालिकाले छलफल आयोजना गरेको हो ।
देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा नगरउपप्रमुख पार्वता तिवारी, नगर प्रवक्ता तिलप्रसाद काफ्ले, प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल, कार्यपालिका सदस्य, ट्याक्टर व्यवसायी संघका पदाधिकारी र किसानका प्रतिनिधि बीच छलफल गरिएको हो ।
ईन्धनको मूल्यवृद्धिले व्यवसायीहरुलाई समस्या रहेता पनि रोपाइँको समयमा किसानहरुलाई ट्याक्टरको जोताईको मूल्य निर्धारणले सहज हुनेगरि आपसी समन्वय कायम राख्नुपर्ने भएकाले नगरपालिकाले छ्लफलमार्फत रकममा एकरुपता गरिएको नगरप्रमुख हरिप्रसाद न्यौपानेले बताए । नगरले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमका लागि किसानहरुलाई आवश्यक योजनाहरु राखिएको र आपसी समझदारीमा कार्यक्रम गरिने नगरप्रमुख न्यौपानेले बताए । उनले किसानसँगै व्यवसायीहरुको समस्या समाधान गर्नका लागि नगरपालिका सदैव तयार रहेको बताए ।
देवचुली नगरपालिकाभित्र रोपाइँको समय भैरहेको समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले गर्दा ट्याक्टरको मूल्य नगरभित्र एउटै कायम गर्नका लागि नगरपालिकाले छलफल आयोजना गरेको नगरउपप्रमुख पार्वता तिवारीले बताइन् ।
छलफल कार्यक्रममा देवचुली ५ का कृषक ठाकुरप्रसाद पोखरेलले ट्याक्टर व्यवसायीहरुले न्युनतम खर्चमा किसानहरुको लागि काम गर्न र मूल्य समायोजन गर्न आग्रह गरे ।
त्यस्तै ट्याक्टर व्यवसायी दुर्गाप्रसाद भुसालले बर्खाको समय ट्याक्टरको धेरै नै प्रयोग हुने तर डिजेलको मूल्यवृद्धिले गर्दा बाध्य भएर जोताइको मूल्य वृद्धि गर्नु परेको बताए । किसानहरुसँग सदैव समन्वय गर्दै काम गरिरहँदा अहिले ईन्धनको मूल्यवृद्धिले व्यवसायी तथा किसानहरु मारमा परेकोले सबैलाई सहज हुनेगरि मूल्य कायम गर्न तयार रहेको भुसालले बताए ।
तेलको मूल्य आकाशिएर सबै क्षेत्रमा असर परिरहेको वर्तमान परिस्थितिमा ट्याक्टरको दररेट कायम गर्ने सन्दर्भमा कृषक, व्यवसायीबीच आपसी समझदारीमा निष्कर्ष निकाल्नु पर्ने भएकोले नगरपालिकाले समन्वयकारी भूमिका खेलेको नगरप्रवक्ता तिलप्रसाद काफ्लेले बताए । देवचुली नगरका किसानहरुका लागि नगरपालिकाले विशेष योजना बनाउने उनले बताए ।
छलफल कार्यक्रमको सहजीकरण देवचुली नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख तथा सूचना अधिकारी कृष्णहरि सापकोटाले गरेका थिए ।





