साइकल चलाइरहेका गान्धी

ठोरी नाका पाका नेपालीहरुका लागि परिचित ठाउँ हो । कुनै बेला चितवन र हाल पर्सा जिल्लामा पर्ने यो नाकामा पहिला पहिला बुढा पुरानाहरु नुन लिन जान्थे । संविधान जारी भएपछि २०७२ सालमा भारतले लगाएको अघोषित नाकाबन्दीले ठोरीलाई युवा नेपाली माझमा पनि परिचित गरायो । त्यो बेला मध्यनेपालका तत्कालिन गण्डकी, धौलागिरी र बाग्मती अञ्चलका जिल्लाहरुबाट धेरैजना ड्रम र ग्यालेन बोकेर ठोरी पुगे । औपचारिक ठूला नाकाहरुबाट डिजेल पेट्रोल आएको थिएन । तर अरु बेला सुनसान रहने ठोरी नाकाबाट नाकाबन्दी ताका भाँडामा भरेर पेट्रोल ल्याउन रोकतोक थिएन । पुर्खाले नुन ल्याए जसरी नाकाबन्दीका बेला नेपालीले ठोरी पुगेर डिजेल पेट्रोल बोके ।

अहिले पनि ठोरीसम्म पुगेका नेपालीहरु खोलो तरेर अन्तराष्ट्रिय सिमाना पार गर्दछन् र भारतीय गाउँले बजार भिखना ठोरीबाट चिनी तेल किनेर फर्कन्छन् । झण्डैझण्डै एक दुई घण्टा परको नरकटियागञ्ज पुगे भने कपडासपडा पनि किन्न थाल्छन् । यी सिमावर्ती बजारहरु हाम्रा लागि यताको तुलनामा सस्तोमा खत्राकखुत्रुक घरेलु सरसमान किन्ने पाइने ठाउँहरु हुन् । तर नरकटियागंज र अलि परको रामनगर आसपासका इलाकामा नेपालको इतिहास र बुद्ध तथा गान्धी जस्ता अन्तराष्ट्रिय व्यक्तित्वसँग जोडिएका अनेकौं स्थान स्मारकहरु छन् भनेर हामीलाई सायदै हेक्का होला । ठोरीबाट दुई चार घण्टा भारततर्फ डुल्ने हो भने यी ठाउँहरुको दर्शन हुन्छ ।

हेर्नलाई मात्र छोटो समय लाग्ला तर यी स्थलहरुको महत्व र मर्म बुझ्न हप्ता, महिना र उस्तै परे वर्ष पनि कम होला । बिहार यात्राको हाम्रो लक्ष्य रामनगर थियो । तनहुँका सेन वशंहरुको राज्य रहेको रामनगर नेपाल एकीकरणका बेलामा यतातर्फ नगाभिएको इलाका हो । एकीकरणका बेला तनहुँ र चितवन शाह वंशको कब्जामा आयो तर रामनगर बाँकी रहयो । ‘गुगल म्याप’मा हेर्ने हो भने हाम्रो भरतपुर र उताको रामनगर सिधा रेखामा छन् । माडी सोमेश्वर पहाडबाट नजिकै रहेछ । रामनगरमा सोमेश्वरको निकै महत्व रहेको छ । बिहार सरकारले ‘सोमेश्वर धाम’ सडक बनाउँदै रहेछ । रामनगरबाट २० किलोमिटर पर रहेछ सोमेश्वर । १७ किलोमिटर सडक बन्दै रहेछ अहिले । तीन किलोमिटर सायद जंगल इलाका भएर त्यसै छाडिएको होला कि !

हामी चितौनेले माडीभन्दा माथि अन्तराष्ट्रिय सिमाना आडैमा रहेको हाम्रै सोमेश्वरको त खासै वास्ता गर्दैनौं अलि परका उताका अनेक स्थलहरुको झनै के चासो । सोमेश्वर धाम सडक बनेछ भने छुट्टै कुरा, अहिले रामनगर पुग्न त्यत्ति छोटो मार्ग भने छैन । यात्रुबस चढेर भरतपुरबाट ८५ किलोमिटर परको ठोरी पुग्न पाँच घण्टा लाग्यो । ठोरी पार भएपछि भिखना ठोरी ठोक्किन आउँछ । त्यहाँबाट हामीले एउटा अटोरिक्सा रिजर्भ गर्‍यौं । अटोरिक्सा यता नेपालमा चल्नेभन्दा अली ठूलो थियो । बीचमा हामी शुभद्रामा सहोदरा माताको मन्दिरमा केही बेर अडियौं र त्यसपछि लगातार अगाडी बढ्यौं । हामी नरकटियागञ्ज तिर नलागेर त्रिवेणीबाट आएको गण्डक नहरैनहर रामनगरतर्फ लाग्यौं । हामीलाई के पनि थाहा भयो भने त्रिवेणीबाट यो नहर समाएर आउने हो भने रामनगर ८० किलोमिटर टाढा रहेछ । वीरगञ्ज सिर्सियाबाट पनि गण्डक नहर समाएर आउन सकिँदो रहेछ । रामनगर आउने मार्ग अनेक रहेछन् । तर यी मार्गहरु समाएर यताबाट त्यता जाने खासै हुँदैनन् ।

हामी चढेको अटोरिक्सा दुई घण्टापछि रामनगर आडको छङ्गुरही गाउँमा रोकियो । बाचाकबुल अनुसार एक हजार ५० रुपैयाँ आइसी अटो भाडा बुझाएर हामी एउटा घरभित्र छिर्‍यौं । हल्का रातो रंगको घरको आँगन चौडा थियो । पछि यो घरसँग जोडिएको इतिहास थाहा पाएपछि हामी दंग पर्‍यौं । यो घर सन् १९४२ मा तयार भएको रहेछ । अहिले यो घरमा रञ्जन उपाध्यायको परिवार छ । यो घर रञ्जनका हजुरबुबाले बनाएको थाहा भयो । सेनवंशी राजाका पालामा तनहुँ चुँदीबाट गएका पौडेल हो उहाँहरु । दरबारले पौडेलहरुलाई प्रशासनिक कामको जिम्मा लगाएर फौजदार उपाधी र जिमिन्दारीसमेत दियो । रञ्जन फौजदार खलकको पर्नु भयो । यति मात्रै हैन उहाँ विस २००९ मा नेपाली काँग्रेसको महामन्त्री हुनु भएका अञ्जनीप्रसाद उपाध्यायका छोरा पनि हो । नेपालको इतिहाससँग कहीँ न कहीँ जोडिने घर परेछ यो । अझ काँग्रेसको लागि त खास नै रहेछ ।

रञ्जन जीको नातागोताको बेली बिस्तार लगाउने हो भने हामी दंग छक्क पर्न सक्छौं । तर अहिले त्यो चर्चा गर्न नलागौं । हामी पाँचजना त्यहाँ पुगेका थियौं । तिमध्ये ठोरीबाट हामीसँग मिसिनु भएका लक्ष्मण पोखरेल उहाँहरुको चिरपरिचित हुनुहुन्थ्यो । डिआर पोखरेल सरसँग अघिल्लो वर्ष मात्रै चिनाजान भएको । हामी तीनजना चितौने पत्रकारहरु म, राजेश घिमिरे र विचित्र पौडेलसँग पहिलो साक्षात्कार थियो ।
तर रञ्जन जीसहित उहाँको परिवारको बोली बचन, सत्कारले यो पहिलो भेट हो भन्ने भान पर्नै दिएन । हामी नातासम्बन्ध भएका वर्षौँदेखिका चिरपरिचित हौं भन्ने लाग्यो ।

उहाँको घर पुगेको केही बेरपछि हामी रामनगर हेर्न निस्कियौं । नेपाली टोला रहेछ त्यहाँ । सिमा पारीको नेपाली टोला डुल्न थाल्यो । हुन त आधुनिक नेपाल बन्नु भन्दा पहिल्यै त्यहाँ पुगेका थिए नेपाली बोल्नेहरु । तर नेपालीपनलाई अहिलेसम्म जोगाएर राखेका छन् । सेन वंशका राजा प्रह्लाद सेनले सुरु गरेको र उनकी रानीले पुरा गरेको भव्य नर्बदेश्वर महादेव मन्दिर पनि उसै दिन हेर्‍यौं । त्यहाँका पुजारी अहिलेसम्म नेपाली नै रहेछन् । १७९ फिट अग्लो भव्य सेतो रंगको मन्दिरको पाँचवटा शिखरहरु छन् । सन् १८७९ मा यसको जग राजा प्रह्लाद सेनले राखे । उनको निधनपछि रानी विन्धवासीनीले ६ वर्ष लगाएर मन्दिर बनाइछन् । एक लाख २५ हजार रुपैयाँ आईसीमा बनेको मन्दिर रहेछ त्यो ।
‘यो बिहारको मात्रै हैन उत्तरी भारतको नै भव्य मन्दिरमध्ये पर्दछ’ रञ्जन जीले हामीलाई भन्नु भयो । उहाँका हजुरबुबा अम्बिकाप्रसाद उपाध्याय इतिहासकार हुनुहुन्छ । अम्बिकाप्रसाद उपाध्यायले नेपालको इतिहास पनि लेख्नु भएको छ । सेन वंश, तनहुँका सेन वंश र रामनगरको जानेबुझे जतिको नालीबेली रञ्जनजीको मुखबाट सुन्यौं हामीले । रामनगरका नेपाली भाषी समाजबारे र पश्चिम चम्पारणको बारेमा पनि बुझ्यौं । यता हाम्रो आडबाट बग्ने नारायणी नदीलाई त्रिवेणीमा बाँध बाँधेर बनाएको गण्डक नहरले यहाँको पुरै भूमिलाई सिंचित गरेको रहेछ । बाली नाली राम्रोसँग हुने । उखु खेति त कति हो कति, आँखाले भ्याएसम्म परपरसम्म उखुको हरियाली मात्रै ।

सन् १९३४ मा पहिलो चिनी मिल खुलेको रहेछ । प्रति दिन एक लाख २५ हजार टन उखु पेल्ने क्षमताको प्लान्ट त्यहाँ रहेछ । पाँचवटा उखु मिल भएपछि समुन्द्र बराबरको उखु खेति हुने नै भयो । किसानले मिहेनत गर्दछन् । मिलले उखु किन्छ । भुक्तानी पनि सरासर हुँदो रहेछ । रञ्जनजीले पनि आफ्नो ८० एकड जमिनमा उखु लगाउनु भएको रहेछ । सम्वृद्धिको आधार नै उखु खेति रहेछ । नहरका कारण अरु बाली पनि उत्तिकै हुँदो रहेछ । वर्षौ पहिले उताका पुर्खा उता पुगेको ठाउँमा बग्दैबग्दै यताको पानी पनि मोडिएर उतै पुगेछ ।

गान्धीको साइकल शिर्षक राखेको यो लेख पनि त्यही पानी जस्तै खै कता कता दौडियो, मोडियो । रामनगर, नेपाली टोला, सेन वंश र त्यससँग जोडिएर आउने शाहा राजाहरुको बारेमा बताउन थाल्ने हो भने गान्धीको साइकलसम्म पुग्नै सकिदैन । यो विषय हामीले सरर्र हेरेर भन्न बुझाउन सकिने खालको पनि छैन । सयौं वर्षदेखि बस्दै आएको समाज र इतिहाँसका बारेमा सानो तिनो बुझाइलाई प्रचार गर्दै हिँड्न पनि भएन । यत्ति बुझौं रामनगर नेपालीले जान्नै पर्ने ठाउँ हो । जान्न बुझ्न मन लाग्नेहरु त्यहाँ पुगौं । र अब लागौं गान्धी जीको साइकल तर्फ । त्यहाँ पुग्नुभन्दा पहिले हामी ठाउँ ठाउँमा अशोक स्तम्भ र स्तुपाहरु प्नि डुल्यौं ।

रामनगर पुगेको भोलिपल्टै रञ्जनजीले हामीलाई लौरियाको अशोक स्तम्भ पुर्‍याउनु भयो । त्यहाँबाट केही परको नन्दनगढ पुग्यौं । नन्दनगढमा निकै भव्य तर खण्डहर भएको स्तुपा रहेछ । बुद्धसँग जोडिएका यी स्तम्भ स्तुपा हेर्न हाम्रो यात्राको कमाण्डर डिआर पोखरेल सर निकै उत्साहित हुनुहुन्थ्यो । यी ठाउँ पुग्दा उहाँ निकै प्रफुलित हुनु भयो । दिउँसोको खाना खाएर हामी लाग्यौं चानकीगढ । चन्द्रगुप्त मौर्यका पालाका विद्वान चाणक्यले शिक्षा दिन बनाएको बिहारको भग्नावशेष त्यहाँ रहेछ । हामी पुगेका जे जति यस्ता प्राचिन स्मारकहरु थिए त्यसका बारेमा जानकारी दिने सूचना बोर्डहरु खासै थिएनन । बिहार सरकारले यी स्मारकहरुको स्याहार गर्नु होला, अतिक्रमण नगर्नु होला, गरेर कारवाही हुन्छ भनेर राखेका चेतावनी बार्ड मात्रै थिए । इतिहासकार अम्बिकाप्रसादका नाति रञ्जनजी हाम्रो साथमा भएपछि ति स्थलका बारेमा उहाँबाटै ज्ञान पाइयो ।
चानकीगढपछि हामी नरकटियागञ्जतर्फ लाग्यौं । तर बजार छिरेनौं, जानु थियो भितिहरवाको गान्धीस्मारक र रामपुरवाको अशोक स्तम्भ पनि हेर्नु थियो । बाटोमा भारतका सुप्रसिद्ध सिने कलाकार मनोज बाजपेयीको घर पनि आयो । रञ्जन जी र मनोज जी चिरपरिचित नै रहेछन् । रामपुरवामा दुईवटा अशोक स्तम्भ रहेछन् । तर दुवै ढलेका । एउटा टहरो तल यसलाई संरक्षित गरेको पाइयो । यसका बारेमा लय मिलाएर जानकारी दिने एकजना प्रौढ भने त्यहाँ थिए । जन्मस्थल नेपालको लुम्बिनीदेखि बुद्धसँग जोडिएका ठाउँ र रामपुरवाको स्तम्भ बारेमा सुनाए उनले ।

भितिहरवाको गान्धी स्मारक संग्रहालय गान्धीसँग जोडिएको निकै पुरानो स्थल रहेछ । पश्चिम चम्पारणमा पर्ने यो ठाउँबाट नै गान्धीले पहिलोपटक सत्याग्रह सुरु गरेको इतिहास रहेछ । कपडा रंगाउन प्रयोग हुने निर बोटबिरुवाबाट निस्कदो रहेछ । जमिन्दारहरुले त्यसको खेति गर्न त्यहाँका किसानलाई बाध्य पार्दा रहेछन् । त्यसका विरुद्ध मुद्दा लड्न गान्धी सन् १९१७ को अप्रिल १५ मा चम्पारण गएका रहेछन् । त्यसको तीन दिनपछि नै १८ अप्रिलमा एसडीओ कोर्टमा मुद्दा दायर भएको रहेछ । चम्पारण सत्याग्रहका बेला गान्धी र उनकी धर्मपत्नी कस्तूरबाले इटा र खपडाले बनाएको आश्रम पनि त्यही रहेछ ।

भितिहरवा सन् १९१७ मै नोभेम्बर २० मा गान्धीले उद्घाटन गरेको पाठशाला पनि रहेछ । गान्धीकी श्रीमती कस्तूरबाले यही पाठशालामा पढाउन सुरु गरिन् । आश्रम र पाठशालाका लागि प्रयोग भएको घण्टी, टेबल र जाँतो पनि सुरक्षित छ । गान्धी र उनको अभियानसँग जोडिएका निकै पुराना पुराना तस्बिरहरु पनि यहाँ छन् । र यही भेटिन्छ गान्धीले साइकल चलाउँदै गरेको तस्बिर । गान्धी जस्तो विश्व राजनीतिलाई प्रभावित गर्न सक्ने महान व्यक्तिका बारेमा बुझ्न सकिने स्मारक चितवनबाट यति नजिकै रहेछ । तर हामी उही चिनी चिया र सस्तो समानका लागिभन्दा अरु हिसाबले यो ठाउँका बारेमा जानकार सायदै भयौं ।
रामनगर सोमेश्वर धाम सडक बन्दै छ । यसलाई प्रयोग गरेर हामी उताका महत्वपूर्ण यी स्थलहरुमा जान र उताका बासिन्दालाई यताका धार्मिक प्राकृतिक पर्यटकीय स्थल डुलाउने गरेर केही योजना बनाउन सकिन्छ त ? गान्धी जस्तो युग पुरुषको आश्रममा अनेकौं महत्वपूर्ण सामग्री र चित्र तथा तस्बिरहरु छन् । तर मैले साइकल नै किन उल्लेख गरेँभन्दा सोमेश्वरधाम सडक बनेका खण्डमा यी क्षेत्रहरु घुम्न हामी साइकल नै चढेर पनि जान सक्छौं है भन्ने संकेत गर्नलाई पनि हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट