पूर्व तेह्रथुमकी एलिना लिम्बु चितवन राप्ती नगरपालिका–१३ को पहाडी गाउँ कान्दामा पढाउनु हुन्छ । उहाँ टिकटक बनाउन पनि रुचाउनु हुन्छ । टिकटकमा उहाँले कान्दाको पाखा पखेरा देखाउनु हुन्छ । आफुले पढाउने स्कुल, होस्टेल र विद्यार्थीलाई पनि टिकटकको शर्ट भिडियोमा पर्याप्त ठाउँ दिनुहुन्छ ।
टिकटक हेर्दा कान्दा प्राकृतिक सुन्दरताले भरिपुर्ण भौतिक उन्नतिमा पनि लम्कदै गरेको गाउँ हो भन्नेमा शंका रहँदैन । कान्दा प्राकृतिक रुपमा त अनुपम छँदैछ । तर भौतिक उन्नति सोचे जस्तो भने छैन । खैर एलिना जीले कान्दाको सौन्दर्यलाई दुनियाका सामु पस्कनु भएको छ । त्यति टाढाबाट उहाँ यहाँ आएर पढाउनु आफैमा ठुलो कुरा हो । र रमाउनु झनै सुखद पक्ष हो ।
सो विद्यालयका प्रधानध्यापक हुनुहुन्छ बालकृष्ण थपलिया । उहाँ राप्ती नगरपालिकाकै भण्डारा नजिक हर्दि पुर्वारी गाउँको बासिन्दा हो । आजभन्दा ठिक १२ वर्षअघि विस २०६७ सालको असार ३ गते बालकृष्ण सरको पछि पछि लागेर म, एकल सिलवाल र प्रतिमा सिलवाल कान्दा पुगेका थियौं । त्यो बेला भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालिन कार्यकारी निर्देशक डा.भक्तमान श्रेष्ठको अपहरण भएको थियो । मिडियामा यो खबर निकै नै आइरहेको थियो । भक्तमान अपहरणका विषयले पत्रकारहरु बेफुर्सदी भएका थिए । समाजमा यो बाहेक अरु केहीको चर्चा नै थिएन । त्यही बेलामा भरतपुरभन्दा निकै टाढा भण्डाराबाट सुदुर उत्तरको गाउँ कान्दामा जंगली च्याउ खाएर परिवारका सवै सदस्य विरामी भएको खबर आयो ।
थपलिया सरले पढाउने कान्देश्वरी स्कुलभन्दा यस्सो तल बाबुराम चेपाङको घर थियो । चैत्र लागेपछि चेपाङ गाउँमा अनिकाल सुरु हुन्छ । वनका कन्दमुल, साग सिस्नो, गिट्ठा भ्याकुरले छाक टार्नु पर्ने बाध्यता अरु चेपाङ गाउँमा जस्तै कान्दामा पनि थियो । बाबुराम गए जंगल । भेटाए च्याउ । घर ल्याएर पकाए । घरमा नौ महिने काखे बालकसहित नौजना नै थिए । काखे बालकले मात्रै खाएनन् त्यो तरकारी । बाँकी अरुले खाए । त्यो दिन थियो, ६७ सालको जेठ १४ । च्याउ खाएकाहरु भोलिपल्टबाटै बिरामी पर्न थाले । झाँक्री लगाउने, खरानी पानी खुवाउने, सुँगुर कुकुरको दिसा खुवाएर वान्ता गर्न लगाने जस्ता गाउँलेले जानेका अनेक उपाए लगाए । तर निको हुनुको साटो मान्छे नै मर्न थाले ।
यो खबर थपलिया सरको कानमा पुग्यो । उनी हकानिदै बाबुराम चेपाङको घरमा पुगे । कोही आँगनमा, कोही पिढीमा लडीबुडी खेलेका थिए । कोहीको परान गइसकेको थियो । यसरी हुन्न, बालकृष्ण सरले च्याउ खाएकालाई अस्पताल लैजाने निधो गरे । ओरालो उकालो दौड्दै झण्डै २४ घण्टा लगाएर उनले बिरामीहरुलाई भरतपुर अस्पताल ल्याए । तर च्याउ निकै विषालू निस्कियो । भरतपुरको उपचारले छोएन । अरुको प्राण गयो । एकजना त बाँच्लान कि भनेर बालकृष्ण सर काठमाडौं हानिए । काठमाडौं लगेका पनि बाँचेनन् । जेठ २२ गतेभित्र च्याउ खाएका सवै आठजनाको इहलिला समाप्त भयो । बचेको काखे बालकलाई भरतपुरको एसओएस बालग्रामले आश्रय दियो । सवै काम भ्याएर त्यो वर्षको असार ३ गते हामी सरसँगै कान्दा उक्लियौं ।
कान्दा पुग्न अहिले त सजिलो छैन । उ बेला झनै अफ्ठ्यारो थियो । अहिलेको जस्तो भण्डारा मलेखु चेपाङ मार्ग चर्चामा मात्रै थियो । त्यसैले हामी भण्डाराबाट हैन मेहन्द्रराजमार्गको लोथर बजारमा गाडीबाट झरेर लोथर खोलो ठाउँ ठाउँमा तर्दै पैदल अगाडी बढ्यौं । बिहान सात बज्दा नबज्दै हामी लोथर बजारबाट उत्तर लागेका थियौं । चरक्क घाम चर्कदा मध्यान्हमा हात्तीढाप भन्ने ठाउँमा पुग्यौं । त्यसपछि केही बेर लोथर खोलै खोल हिँडेर डाँडा तिर लम्कियौं । सुरुमै उकालो यति बिधि चर्को थियो कि सय मिटर कटाउन पनि निकै सकस हुन्थ्यो । स्वास फुलेर स्वास्वा गर्दा मुटु नै मुखमा आयो कि झै हुने उकालो बल्ल बल्ल उक्लेका थियौं ।
उकाले काटेपछि तेर्सो बाटो हिँड्दै गर्दा झरर पानी आयो । ओत लाग्ने ठाउँ खोज्दै एउटा घरमा पस्यौं । त्यो ससानो छाप्रो थियो । पानी दर्कदै गर्दा पनि एकजना महिला पछाडी बारीमा केही काममा व्यस्त थिइन् । हामी साँघुरो पिँढीमा बस्यौं । पानी झनै दर्कियो, भित्र नगइ भएन । सानो घर खाना पकाउने अँगेनो, सुत्ने डफला एकै ठाउँ थिए । सुरुमा त अध्यारोले केही मेसो पाइएन । तर विस्तारै आकृतिहरु खुल्न थाले । सात आठजना कलिला भन्ट्याङ भुन्टुङ वरपर थिए । साथै एउटा नवजात शिशु पनि त्यहाँ देख्यौं । अघि पानी आउँदा पनि काम गर्दै गरेकी र दर्केपछि बल्ल भित्र पसेकी महिलाको बस्चा रहेछ त्यो । उनी २२ दिनकी सुत्केरी रहिछन् । आङ्मा राम्रो लुगा थिएन । लुङ्गि माथि लगेर छाती छोपेकी थिइन् । २२ दिनको सुत्केरीको यो हालत देख्दा विरक्त चल्यो ।
त्यहाँबाट निस्केर फेरि बाक्लो जंगलमा उकालो ओरालो गर्दै अगाडी बढ्दा झमक्क साँझ परेपछि हामी कान्दा स्कुल पुगेका थियौं । लोथर बजारबाट हिँडेको १२ घण्टापछि हामी कान्दा पुग्यौं । गाउँ कहाँ छ कता छ केही मेसो भएन । जस्ताले छाएको उही स्कुल मात्रै आँखामा प¥यो । मकै बारी हर्लक्क बढेको थियो । गाउँ भोलि हेरौंला डुलौंला भन्दै हुनुहुन्थ्यो बालकृष्ण सर । स्कुलको पनि एउटा पुरानो भवन थियो । अलि माथि ससानो भवनमा कार्यालय रहेछ । भान्सा, विस्तारा कक्षा कोठा एउटै भवनमा थियो । हामी स्कुलमै सुत्यौं । भोलि पल्ट बिहान लगातार पानी प¥यो । पानी बिदो भएको थियो । एकजना व्यक्तिले बच्चा डो¥याउँदै ल्याएर आए । उनी विद्यार्थी रहेछन् । कम्मरमाथि मैलो न मैलो निकै पुरानो टिसर्ट थियो । तर कम्मर तल केही थिएन । उनी बिना कट्टु स्कुल आएका थिए ।
बालकृष्ण सर, सहदेव पाठक र निसा तमाङले पढाउँथे । तीन कक्षासम्म पढाइ हुन्थ्यो । गाउँमा मकै र जंगलमा रुख बिरुवा लहराको हरियाली छाएको त्यो ठाउँँमा अरु चहक चमक केही थिएन । गाढा हरियालीको कालो च्यादर ओढेको यो गाउँ बाबुराम चेपाङको झण्डै झण्डै वंश नै बिनास भएको घटनाको गहिरो शोकमा छ झै देखिन्थ्यो । हामीले बाबुराम चेपाङको अर्की श्रीमतीलाई भेट्यौं । उनको कम्मरमाथि कुनै लुगा थिएन । गाउँका अरु पाका महिलाहरु पनि यही अवस्थामा थिए । अहिले एलिना लिम्बु मिसको टिकटक हेर्नेहरुलाई कान्दाको यो कथा सत्य हो या काल्पनिक दुविधा पर्लान् । कान्दामा अचेल हरियाली त छँदै छ गाउँका घरमा छाएको जस्ताको चमक पनि थपिएको छ । स्कुल आउने केटाकेटीहरु चिटिक्क छन् । सफा ड्रेस लगाएर टाइ झुण्ड्याएर स्कुल आउँछन् । स्कुल सकिएपछि पनि उनीहरु घर फर्कदैनन् । उनीहरुलाई बस्न त्यही होस्टेल खुलेको छ ।
हामी १२ वर्षअघि कान्दा जाँदा तीन कक्षामा पढ्न ९८ जना विद्यार्थी भर्ना भएका थिए । तर कति आउँथे, कति अउदैन थिए । अहिले त्यहाँ सात कक्षासम्म पढाइ हुन्छ । विद्याथी १५८ जना पुगेका छन् । होस्टेलका चिटिक्कका भवन छन् । स्कुलका भवन पनि थपिएका छन् । ति पनि मज्जाका छन् । यो कथा सुन्दा, अवस्था थाहा पाउँदा लाग्दो हो गजबै भएछ त कान्दामा । हो त गजबै भएको छ नि । सुरुमा एकल सिलवाल र उहाँका मित रंगमञ्चकर्मी रविन्द्रसिंह बाँनिया कान्दा रुपान्तरणका लागि भनेर कस्सिनु भयो । उहाँहरुले संस्था नै खोल्नु भयो, मितेरी फाउण्डेशन । फाउण्डेशनले कपडा बाँडेर कान्दामा कल्याणकारी कामको सुरुवात ग¥यो । कान्दा परिवर्तन गराउन पशु पालनका विज्ञ डा.होमबहादुर बस्नेतलाई गाउँ पु¥यायो । मकैको बीउ बोकेर रामपुर फार्मका बीउ बाजे कान्दा पुगे । कान्दा बिस्तारै बाहिरि दुनियाँसँग जोडिन थाल्यो । नभए कान्दा धेरैका लागि बिरानो थियो ।
च्याउ खाएर त्यत्रो बिनास भएको ठाउँमा त्यो बेला राज्य पुगेन । भण्डाराबाट गएको प्रहरी कान्दाभन्दा निकै नै तल कालिटारको एउटा घरमा पुगेर फर्केछ । राज्य त त्यहाँ अहिले पनि खासै पुगेको छैन । तर परिवर्तन त धेरै नै भयो नि । मितेरीले लक्ष्मी प्रतिष्ठानलाई त्यहाँ पु¥यायो । विष्णु गौतम दुईजना लक्का जवान छोरालाई सडक दुर्घटनमा गुमाउँन पुग्दा संसारदेखि नै विरक्तिएका थिए । चोटग्रस्त मनलाई मल्हम लगाउन उनले सामाजिक सेवामा लाग्ने निधो गरेर लक्ष्मी प्रतिष्ठान बनाए । प्रतिष्ठान कान्दा पुग्यो । कान्दाका घरमा जस्ता र सोलार बत्ती राख्ने कार्यक्रम आयो । र महत्वपुर्ण काम छात्राबास बन्यो । कान्दाभरका केटाकेटीहरु छात्राबासमा बसेर कान्देश्वरी स्कुलमा पढ्छन् । उनीहरुलाई पढाउन १० जना शिक्षकहरु छन् ।
कान्दाको कथा यति मात्रै छैन । यो त सफल्ताको उच्च कथा भयो नि भन्ने लाग्दो हो । मलाई पनि त्यस्तै नै लाग्छ । तर यसो सोच्चु बालकृष्ण सर राहत कोटामा त्यहाँ पढाउन गएका हुन् । अब ढिलो चाँडो उहाँ बिदा हुनुहुन्छ । बालकृष्ण सर आफ्नो घरभन्दा धेरै कान्दा बस्नु भयो । स्कुल र गाउँ उहाँका लागि घर जस्तो भयो । विद्यार्थी र गाउँले उहाँका परिवार जस्ता भए । बालकृष्ण सरको सक्रियाता देख्छु, त्यो कक्षा कोठामा मात्रै सिमित छैन । नागरिकता बनाउन होसा या अन्य कुनै सरकारी काम होस, उहाँ कुदेर गाउँलेको साथमा लाग्नु हुन्छ । यदी उहाँ हिँडे स्कुल के होला ? गाउँ के होला ? चिन्ता लाग्छ ।
लक्ष्मी प्रतिष्ठानले छात्राबास बनायो । खाने, बस्ने, पोशाक, स्टेशनरी सवै निःशुल्क उपलब्ध हुने भयो । कान्दा जान अहिले उ बेला हामी लोथर बजारबाट हिँडेरै गए जस्तो छैन । भण्डारा मलेखु चेपाङ मार्ग चालु भएको लामो समय भयो । अहिले त कालिटारभन्दा धेरै पर बाटो गएको छ । यता हात्तीढाप तर्फबाट नाकै ठोक्किने उकालो काटेर जानु पर्ने बाध्यता पनि अहिले छैन । कालिटार हुँदै तीन घण्टा सजिलो बाटो पैदल हिँड्ने हो भने कान्दा पुगिन्छ । तर छात्राबासको खर्च लक्ष्मी प्रतिष्ठानले विदेश र स्वदेशका नेपालीहरुबाट सहयोग संकलन गर्दै जुटाएको हो । कोरोना र अन्य आर्थिक समस्याले कुनै दिन यो सहयोग नजुट्दा छात्राबास के होला ? यो सम्झदा मन झनै चसक्क हुन्छ । तर कामना गरौं यस्तो कहिल्यै नहोस ।
कान्दामा उत्कर्षमा पुगेर सफल नभएका कथाहरु त कति छन् छन् । कान्दा पुगेर पाखा पाखामा रहेका एक एक घर डुल्नु भयो भने त्यहाँका कथा सुन्दै गर्दा रमाउँदै रमाउँदै निरास हुने अवस्था पनि आउँछ । गाउँका निकै मिहेनती चेकराम चेपाङ उत्साहित हुँदै सुनाउँछन मकै फलाएका कुरा । तरुल, पिँडालु स्याहारेका कुरा । अनि खुईए हुँदै एकै पटक २०/२२ वटा बाख्रा भसक्कै भएका कुरा । आठ आठजना मान्छे मर्दा त राज्यले नसुनेको गाउँमा चेकरामका ति बाख्रा कसरी स्वाहा भए कस्ले चासो दिनु ।
छात्राबास बनेर पढाइमा मात्रै प्रगति भएन खेलकुदमा पनि बालबालिकाहरु लागे । तेक्वान्दो सिकेर प्रतिस्पर्धा गर्न बाहिर जान थाले । एक पटक इटहरी पुगेर राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक नै जिते । उनीहरु मध्येका एकजना बुद्धिबहादुर चेपाङ आफ्नो कौशल देखाउन थाइल्याण्ड नै जाने भए । अ हो कान्दाबाट कोही थाइल्याण्ड जाँदै छ । त्यहाँबाट अलि परको सानो पहाडी बजार थाकलटार नपुग्ने चेपाङहरु कान्दामा कति छन् छन् । तर बुद्धिबहादुर ठुलो जहाज चढेर थाइल्याण्ड जाँदै पो छ । गाउँमा ठुलो चर्चा भयो । बुद्धिबहादुर गाउँबाट निस्कने दिन बिदा गर्न र सफल्ताको आर्शिवाद दिन गाउँलेहरु धुइरिए । फुल माला लगाइ दिए । दुई चार पैसा हातमा राखि दिए । बुद्धिबहादुर थाइल्याण्ड उड्ने दिन गन्दै काठमाडौमा बसेका थिए । अचानक लडेर हात भाँचियो । उनी खेल्न नसक्ने भए । उत्कर्ष तर्फको यात्रा चिप्लेर धरातलमा झ¥यो ।
एकजना नानी थिइन घर बाहिर गएर पढ्ने अवसर पाइन् । राम्रो नम्बर ल्याएर एसईई उत्तीर्ण गरिन् । विदेश गएर पढ्न पाउने अवसर आयो । राहदानी बनाउन भन्दै उनी भरतपुर आउन थालेकी थिइन् । तर गाउँको समस्या कम उमेरमै बिहे गर्ने परिपाटीबाट उनी उम्कन सकेकी रहिनछन् । राहदानी बनाउन जाने दिन उनले बच्चा पो जन्माइन् । अब कहाँको राहदानी, कहाँको विदेश यात्रा । खोज्दै जाँदा के के भेटिन्न त्यहाँ ? टिकटक हैन पुरै फिचर फिलिम बनाउन सकिने कथा व्यथाहरु छन् कान्दामा । सीताबहादुर चेपाङ दाइ किन घर बनाउँदैनन् ? घर बनाउन कै लागि मलेसिया गएको सीताबहादुरको जेठो छेरा पशुपतिले पैसाको जोहो कसरी गरे ? घर सकिन सकिन लाग्दा मेरुदण्डमा निर्मम चोट पर्ने गरेर घरबाट कसरी लड्यो ? समयमा भरतपुर ल्याएर डा.कृष्ण पौडेलले उपचार नगरेको भए पशुपतिको हालत कस्तो हुन्थ्यो ?
जेठो छोरो उपचारले बाँचेको देख्दा देख्दै पनि अर्को कान्छो छोरोको कानको उपचार गराउन सिताबहादुर किन भरतपुर झर्दैनन् ? यस्ता प्रश्नको उत्तर खोज्दै जाँदा कान्दा मात्रै हैन हाम्रो सामाजिक मनोविज्ञान के हो भन्ने कुराको मेसो पाउन सकिन्छ । कान्दा पहिलाको भन्दा चहकिलो छ । तर त्यो चमकले स्थानीयलाई नै परिवर्तन प्रति कति उत्प्रेरित गरेको छ ? या यो बाहिरबाट हेर्दा मात्रैको चमक हो ? १२ वर्षयता म कयौं पटक कान्दा पुगेर फर्कदा मनमा यही प्रश्न उब्जी रहन्छ ।





