भरतपुर, ५ असार ।
भरतपुर अस्पतालको ‘साइक्याट्रिक वार्ड’ को उपचार कक्षको ढोकानजिकैको भित्तामा फ्रेम गरिएको कागजमा एउटा सन्देशमूलक नारा लेखिएको छ – ‘फोहोर छ जहाँ, रोग छ त्यहाँ ।’ यो उपचार कक्षमा यति सुन्दर वाक्य पढिरहँदा त्यहाँको परिवेश भने पृथक देखिन्छ ।
मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेका बिरामी र तिनका कुरुवा बसेका आफन्त यहाँको व्यवस्थापन देखेर दिक्क देखिन्छन् । रङ खुइलिएर उराठलाग्दो बनेका यी उपचार कक्षमा भित्ताभरि माकुराको जालो यथावत छन् । यतिमात्रै होइन यहाँ अन्य पक्षको व्यवस्थापनको दुरावस्थाले गर्दा यहाँ आएका बिरामी पटकपटक भाग्ने गर्दछन् । कुरुवालाई आफ्नै बिरामी सम्हाल्न हम्मेहम्मे पर्छ ।
‘साइक्याट्रिक वार्ड’ आफैंमा संवेदनशील ठाउँ पनि हो । तर यहाँ न अस्पताल प्रशासनले सुरक्षा गार्डको व्यवस्थापन गरेको छ, न उपचार कक्ष नै चुस्तदुरुस्त छ । ढोकामा चुकुल छैन, वर्षा भए भित्रै पानीको आहाल पर्छ । यहिँ उपचार कक्षमा भरतपुर–१२ बाट छोरीको उपचार गराउन आएका नारायण अधिकारीकी छोरी अघिल्लो जेठ महिनाको दोस्रो सातातिर मध्यरातमा एकाएक गायब भइन् । बिरामी कुरुवा बसेका उनी यस्सो आँखा मात्रै के झिमिक्क गरेका थिए, छोरी गायब हुँदा उनको होसहवास उड्यो । खोज्दै जाँदा बिहानीपख नारायणी किनारमा छोरी भेटेर फेरि अस्पताल फर्काए । त्यसयता बिरामी छोरीको कुरुवामा नारायणका दम्पती नै खटिँदै आएका छन् ।
सामान्य जीविकोपार्जन गर्दै आएका उनीहरुको दैनिकी अहिले बिथोलिएको छ । अस्पतालले ‘साइक्याट्रिक वार्ड’ मा सेक्युरिटी गार्ड राखिदिएमा बिरामी भाग्ने अवस्था नआउने नारायणको ठम्याई छ । ‘एक जना बिरामी कुर्नका लागि दुई जना आउनुपर्ने बाध्यता छ । गार्ड त राख्नुपर्ने हो, खै अवस्था यस्तो छ’ उनी गुनासो गर्छन् ।
तीन वर्षयता मानसिक समस्या झेल्दै आएकी छोरीको स्वास्थ्य जचाउन बेलाबेलामा आउने उनी यसपालि झण्डै एक महिना लामो समयसम्म अस्पताल भर्ना गरेरै उपचार गराइराखेका छन् । तर उनलाई यहाँको अवस्थाले भने घरै फर्केर जाउँ झैं गरी मन अत्ताउने गरेको उनी बताउँछन् । ‘छोरी गर्भवती छिन् । कडा औषधि चलाउन मिल्दैन । सामान्यले थेग्दैन । त्यहीँ भएर भर्ना गरेरै उपचार गरिराखेका छौँ ।’ नारायण अस्पतालको व्यवस्थापनप्रति असन्तुष्टि मान्दै भन्छन्, ‘अस्पतालको अवस्था देख्दा त आउनै मन लाग्दैन नि । तर हाम्रो बाध्यता पनि हो । पानी परे भित्रै पस्छ । रात परेपछि लामखुट्टेले बस्न दिँदैन।’
नारायणको परिवारमा दुई जना भएकाले कुरुवाको लागि जसोतसो धाएका छन् । भरतपुरको कल्याणपुर घर भएकी लक्ष्मी थापा भने एक्लै जतिबेलै बिरामी छोरालाई रुँघेर बस्न बाध्य छिन् । उनका २८ वर्षे छोरा गम्भीर मानसिक स्वास्थ्य समस्याबाट पीडित छन् ।
पहिले चितवन मेडिकल कलेजमा छोराको उपचार गराएकी उनले अहिले भरतपुर अस्पतालमा उपचार गराउँदै आएकी छिन् । बेलाबेला आएर चिकित्सकले जाँचबुझ गरेकोमा उनी सन्तुष्ट सुनिन्छिन् । तर मानसिक स्वास्थ्य जस्तो संवेदनशील उपचार कक्षमा सुरक्षा गार्ड नहुँदा भने उनले भोगेको सास्ती पनि कम छैन ।
‘बिरामी बाहिर निस्केर हिँडेको हिँड्यै गर्छन् । आफै पछिपछि दौडेर हिँड्नुपर्दछ । मेरो त पालो दिने पनि कोही छैन । चौबिसै घण्टा आफै खट्नुपर्छ’ उनी भन्छिन्, ‘एउटा गार्ड मात्रै राखीदिएको भए हामीलाई यति सास्ती हुने थिएन होला । सबै अवस्थामा हामीले मात्रै पनि त सम्हाल्न सक्दैनौं ।’
उपचार कक्षका बेरङ्ग फोहोरी भित्ताले पनि उनको मन अत्याउँछ । कहिले उपचार कक्षमै शौचालयबाट बगेर आइपुग्ने पानीले सताउँछ । तर जे भए पनि उनीसँग उपचारको लागि अन्त धाउने विकल्प भने छैन । ९ वर्षदेखि मानसिक स्वास्थ्य समस्याबाट जुधिरहेका छोराको उपचारको लागि सरकारी अस्पतालमा आउनु लक्ष्मीको लागि रहर होइन । बाध्यताका अनेकौँ सिँढीका बीचमा अस्पतालको व्यवस्थापन राम्रो हुन सके थोरै भए पनि सहज हुन सक्थ्यो भन्ने उनको अपेक्षा छ ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेल दरबन्दी अभावका कारण आवश्यक स्थानमा समेत सुरक्षा गार्ड राख्न नसकेको तथ्य स्वीकार्छन् । गम्भीर मानसिक स्वास्थ्य समस्याको उपचार कक्षमा गार्ड राखिए पनि यी वार्डमा मध्यम बिरामी भएकाले सुरक्षा व्यवस्थापन नगरिएको उनको भनाइ छ ।
‘साइक्याट्रिक वार्ड’ को दुरावस्थाको बारेमा भने भवन पुरानो भएकाले भत्काउनका लागि टेण्डर समेत भइसकेकाले ३ महिना यता मर्मत नगरिएको उनले खुलाए । अस्पतालको नयाँ भवनमा आवश्यक सुरक्षा व्यवस्थापनसहित वार्ड सार्ने तयारी भइरहेको उनले जानकारी दिए । उनले भने ‘अस्पतालको नयाँ भवनमा साइक्याट्रिक वार्ड सार्दैछौँ । रेलिङ लगाउने काम भइराखेको छ ।’ डा. पौडेलले एक हप्ताभित्र वार्ड सारिसक्ने दाबी गरे ।





