मलेसिया, २६ जेठ ।
आइसिसी यू–१९ महिला टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको आफ्नो अन्तिम खेलमा नेपालले जित हात पारेको छ । नेपालले आयोजक मलेसियामाथि बिहीबार २५ रनको जित हात पारेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा ८६ रन जोड्यो । नेपालका लागि अन्जली विश्वकर्माले ३३ रन र आस्मा पुलामी मगरले २६ रनको योगादन गरे ।
बलिङमा मलेसियाकी नूर समादले २ विकेट लिइन् । ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेटको क्षतिमा ६१ रन मात्र जोड्न सक्यो ।
मलेसियाका लागि इस्ला हन्टरले २८ रन जोडिन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा नेपालकी कप्तान कृतिका मरासिनीले २ विकेट लिइन् ।
यो जितसँगै ६ अंक जोडेको नेपाल छनोटमा तेस्रो भएको छ । नेपालले पाँचमध्ये तीन खेल जित्दा दुई खेलमा हार बेहोर्यो । नेपाललाई थाइल्यान्डले ४९ रन र युएईले १० विकेटले पराजित गरे ।
अन्तिम खेलमा मलेसियालाई हराएको नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो भने भुटानमाथि ४ विकेटले जित निकालेको थियो ।




