कारागारमा मृत भेटिएका सुन्दर हरिजनको न्यायका लागि प्रदर्शन हुँदै

भरतपुर, १७ जेठ ।
रोल्पा कारागारमा मृत भेटिएका सुन्दर हरिजनको हत्या भएको भन्दै उनका परिवारले दोषीमाथि कारवाहीको माग गरिरहेका बेला चितवनमा पनि जात व्यवस्था उन्मूलन मोर्चा वागमती प्रदेशले मंगलबार दबाबमूलक प्रदर्शन गर्दैछ । साँझ ५ बजेपछि भरतपुरको चौबीसकोठी चोकमा प्रदर्शन गरिने कार्यक्रम रहेको जात व्यवस्था उन्मूलन मोर्चा, नेपालका केन्द्रीय सदस्य एवम् सामाजिक अभियन्ता विजय विश्वकर्माले जानकारी दिए । कारागारभित्र रहेका हरिजनको मृत्यु रहस्यमय रहेको भन्दै सुनियोजित तरिकाले हत्या भएको परिवार र आफन्तले बताउँदै आएका छन् ।

कारागारको शौचालयमा कालो गलबन्दीमा झुन्डिएको अवस्थामा भेटिएका सुन्दरले आत्महत्या गरेको जेल प्रशासन र प्रहरीको दावी छ । नेपालगन्जमा रहेको हरिजन परिवारले भने आफ्नो निरक्षर सन्तानलाई अर्कैको सजाय भुक्तान गर्न लगाइएको र त्यसको रहस्य खुल्न थालेपछि हत्या गरिएको दाबी गरेको छ ।

आरोपित हरिजन २०७६ भदौमा बाँके कारागार पुग्दा त्यसको दुई वर्षअघि नै जेल परेका विजयविक्रम शाह पनि त्यहीँ थिए । २०७७ मंसिर ८ गते दुवै जनालाई नाटकीयरुपमा सँगै रोल्पा कारागार सारियो । हतियार तथा खरखजनासम्बन्धी मुद्धामा जेल परेका विजयविक्रमको नाममा सुन्दरलाई जेल सजाय दिलाउन लगाएको परिवारले आरोप लगाउँदै आएको छ। सुन्दर भने चोरी आरोपमा जेल परेका थिए।

तर राज्यपक्षबाटै षड्यन्त्रकारी भूमिका देखाइएको विश्वकर्माको भनाइ छ । ‘राज्य कतिसम्म भ्रष्ट, षडयन्त्रकारी र क्रुर हुनसक्छ भन्ने पछिल्लो उदाहरण हो यो घटना,’ उनले भने, ‘एउटा नामुद अपराधीलाई जोगाउन एउटा दलित नाबालकलाई कसरी बलिको बोको बनाइन्छ यो घटनाबाट प्रष्ट हुन्छ । के यो राज्य सुन्दर हरिजनहरुको होइन ? यी कारागर हुन् कि बधशाला ? किन कारागारहरुमा दलितका लाशका बिस्कुन लाग्न थालेका छन् ?’

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट