धनगढी, २६ वैशाख ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वागी उम्मेदवारलाई नछोड्ने चेतावनी दिएका छन् । कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले वागीलाई कारवाहीको चेतावनी दिएका हुन् ।
एमालेको शासनबाट मुक्त हुन स्थानीय सरकारमा पनि गठबन्धनले जित्न आवश्यको रहेको उल्लेख गर्दै देउवाले यस्तो उर्दी जारी गरेका हुन् । ‘स्थानीय सरकार पनि जित्न जरुरी छ । वागीले उम्मेदवारी फिर्ता लिनुपर्छ । मन्तव्यमार्फत पनि हामीले उम्मेदवार फिर्ता लिएका छौ,’ देउवाले भने, ‘अहिले भन्न चाहन्छु । वागी उम्मेदवारलाई कुनै पनि हालतमा सहिने छैन । मान्यता दिइने छैन । अहिले झगडा गर्ने हैन । वागी उठ्दा हामीले पहिले पनि हारेकै हो । अहिले पनि वागी उठेर पार्टी हर्यो भने कुनै पनि हालतमा माफी गरिने छैन ।’
कैलरी गाउँपालिकामा यस्तो समस्या रहेको उल्लेख गर्दै देउवाले तुरुन्त उम्मेदवारी फिर्ता लिन आग्रह गरे । ‘कैलरी गाउँपालिका पनि त्यही समस्या छ । धनसिंह जोशीको गाउँमा । फिर्ता लिनुस् । केन्द्रबाट निर्णय आउँछ। फिर्ता लिनुभएन भने तपाईलाई कारवाही हुनेछ,’ उनले भने ।
एमालेले बहुमतको सरकार हुँदा पनि चलाउन नसकेकोले अब गठबन्धनले जित्नुपर्ने उनको भनाई थियो । ‘आफ्नै बहुमत भए पनि संसद भंग गरिहाल्ने । एमालेको जितेको खण्डमा फेरि ओलीले त्यही गर्ने हो,’ देउवाले भने ।
देउवाले गठबन्धन सबैको सरकार भएको तर्क गर्दै आफू सुदुरपश्चिमको सहयोगकै कारण प्रधानमन्त्री भएको बताए । ‘केन्द्रमा गठबन्धनको सरकार छ । यहाँ पनि गठबन्धनको सरकार छ प्रदेशमा पनि । प्रचण्डजीको पार्टीको मुख्यमन्त्री हुनुह्नछ । सबैको सरकार हो यो,’ देउवाले भने, ‘कैलाली धनगढी, यो ठाउँ मेरो लागि अत्यन्तै महत्वपूर्ण छ। यही ठाउँकै कारण म प्रधानमन्त्री भएको हुँ ।’
सुदूरपश्चिमको विकासमा आफू लागिपरेको र थप विकास गर्ने आश्वासनसमेत देउवाले दिए । ‘पहिले इन्डिया भएर आउनुपर्थ्यो । सुदुरपश्चिममा धेरै काम गरेको छु,’ प्रधानमन्त्री देउवाले भने, ‘अछाम जोड्ने बाटो हुन सक्छ कर्णाली किनारैकिनारबाट । तल्लो भागबाट ।’ धनगढी उपमहानगरमा गठबन्धनबाट कांग्रेसका नृपबहादुर वड मेयरका उम्मेदवार छन् । उपमेयरको उम्मेदवार भने माओवादी केन्द्रकी शान्ति अधिकारी रहेकी छन् ।





