श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपक्षले व्यापक रूपमा सरकार विरोधी प्रदर्शन भइरहँदा राजीनामा दिएका छन् ।
राष्ट्रपति तथा आफ्ना भाइ गोटबय राजपक्षलाई पठाइएको पत्रमा ७६ वर्षीय प्रधानमन्त्रीले नयाँ सरकारका लागि बाटो खोल्न आफूले राजीनामा दिएको बताएका छन् ।
त्यस्तो नयाँ सरकारले गहिरिँदो आर्थिक सङ्कटबाट बाहिरिन देशलाई निर्देश गर्न सक्ने पनि उनले पत्रमा उल्लेख गरेका बताइएको छ ।
सरकार विरोधी प्रदर्शनकारी तथा राजपक्ष दाजुभाइका समर्थकबिच हिंसात्मक झडपहरू भएपछि कर्फ्यु लगाइए लगत्तै उनले राजीनामा दिएका हुन् ।
प्रहरी र अस्पतालका अधिकारीहरूका अनुसार उक्त हिंसात्मक झडपमा सत्तारुढ पार्टीका एक जना सांसदसहित दुई जनाको ज्यान गएको छ भने करिब एक सय ४० जना घाइते भएका छन् ।
गम्भीर आर्थिक सङ्कटसँग गुज्रिरहेको श्रीलङ्कामा मानिसहरूले औषधिसहित अत्यावश्यक सामग्रीहरू प्राप्त गर्न सङ्घर्ष गरिरहेका छन् ।
त्यहाँ महँगी अत्यिधक बढेको छ र विद्युत् आपूर्तिमा कटौती भएको छ ।
दुई करोडभन्दा बढी जनसङ्ख्या भएको यस टापु राष्ट्रले, सन् १९४८ मा ब्रिटेनबाट स्वतन्त्र भएयता सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ ।
त्यहाँको सरकारले आपत्कालीन आर्थिक सहयोगको आह्वान गरिरहेको छ ।
गत अप्रिल महिनाको सुरुवातदेखि सरकारविरुद्ध प्रदर्शन जारी छ र प्रदर्शनकारीहरूले राष्ट्रपति राजपक्षको राजीनामा माग गरिरहेका छन् ।
त्यहाँ सङ्कटकाल लागू हुनुअघि राजधानी कोलम्बोमा प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालय बाहिर भइरहेको प्रदर्शन हिंस्रक भएपछि प्रहरी परिचालन गरिएको थियो ।
सत्तारुढ दलका समर्थकहरूले सुरक्षा घेरा तोडेर सरकार विरोधी प्रदर्शनकारीमाथि प्रहार गरेपछि प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो ।
श्रीलङ्काको विदेशी मुद्रा सञ्चिति सङ्कुचित भएको छ र अब खाद्यान्न, औषधि र इन्धन लगायतका अत्यावश्यक वस्तुहरू किन्न पर्याप्त विदेशी मुद्रा छैन ।
जीवनयापन महँगो भएका कारण त्यहाँका जनता आक्रोशित छन् ।
सरकारले यस्तो परिस्थिति आउनुको कारण कोरोनाभाइरस महामारी भएको बताएको छ, जसका कारण त्यहाँको पर्यटन व्यवसाय ठप्प भयो ।
पर्यटन श्रीलङ्कामा विदेशी मुद्रा कमाउने ठूला माध्यमहरूमध्ये एक हो ।
तर धेरै विज्ञहरूले आर्थिक व्यवस्थापनको पाटोमा दोष देखाएका छन् ।
बीबीसी