पाँच दलको सत्ता गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा ओर्लिएको नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकामा भने राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ । तालमेल मिलाउन भरतपुर र माडीमा मेयर पदको उम्मेदवारी आफूले लिएर एमालेले दुवै स्थानीय तहमा उपमेयरको उम्मेदवारी राप्रपालाई छाडेको छ । एमालेले आइतबार नारायणगढको क्याम्पाचौरमा भरतपुर केन्द्रित चुनावी सभा सम्पन्न गरेको छ । सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनका मतदातालाई कसैको धाकधम्कीबाट नडराउन आगह्र गरेका छन् । गएको बिहीबार पाँचदलीय गठबन्धनको चुनावी सभामा बोल्दै नेकपा माआवोदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन पराजित भएमा देश ठूलो दुर्घटनामा धकेलिने बताएका थिए । प्रचण्डको त्यही बोलीमाथि ओलीले प्रतिक्रिया जनाउँदै ओलीले कसैको धाकधम्कीबाट नडराउन मतदातासमक्ष अनुरोध गरेका हुन् ।
चुनावका बेला हुने सभाहरुमा नेताहरुले एकअर्कालाई सत्तोसराप गर्ने प्रचलन नै भइसकेको छ । मैले यस्तो गरेँ वा यस्तो गर्नेछु भनेर आफ्ना एजेण्डा मतदातासमक्ष राखी मत माग्ने सँस्कार नेपालमा बस्न सकेन । गालीगलौज र एकले अर्कोलाई खिसिट्युरी गर्ने काममा नेताहरु लागिरहे, लागिरहेकै छन् । अरु बेला पनि हाँसोठट्टा गर्ने ओलीले चुनावका बेला झन् बढी कटाक्ष गर्ने गरेको पाइन्छ । सोमबार मात्रै पोखरामा आयोजित एमालेको चुनावी सभामा बोल्दै उनले ‘गठबन्धनमा पाँच वटा बाँदर छन्, मतपेटिका खोस्न आऊलान्’ भनेर पोखरेली मतदाताको मनोरञ्जन गराएका छन् ।
चितवनमा भने ओलीले प्रचण्डलाई कटाक्ष गर्ने मात्र नभई नेपाली काँग्रेसका कार्यकर्ता फकाउने प्रयास पनि गरे । प्रकाश सपुतको गीतमा भनिए झैँ पिर बिसाउने ठाउँ नपाउँदा चितवनका काँग्रेसीहरुले हातले मुटु थिचेर बस्नु परेको होला भनेर ओलीले सहानुभूति व्यक्त गरे ।
सत्ता गठबन्धनले भरतपुरको मेयर पदमा पुरानै उम्मेदवार उठाएपछि असन्तुष्ट काँग्रेसीहरुको नेतृत्व गर्दै पुराना काँग्रेसी नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएपछि एमाले हौसिएको छ ।
गठबन्धनको मत बाँडिएपछि त्यसको फाइदा आफूलाई हुने एमालेको आँकलन छ । त्यसैले त एमाले अध्यक्ष ओली काँग्रेसी मतदातालाई फकाउँदै छन्, र भन्दै छन्, ‘पाँच वर्षअघि पनि उनैलाई भोट हाल्नु, अहिले पनि तिनैलाई भोट हाल्नु । अहिले जितेपछि प्रचण्डले अरु १५–२० वर्ष गठबन्धन टिकाउनुहुन्छ रे । काँग्रेसी कार्यकर्ताको मुटुु कति धड्किएको होला ? कति पिर परेको होला ? काँग्रेसका नेताहरूले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदै छन् । कार्यकर्ता के हेरेर बसेका होलान् ?” ओलीको यो बोलीले कत्तिको काम गर्नेछ ? त्यो हेर्न भने मतगणनाको नतिजा कुर्नै पर्नेछ ।




