माडी, २१ वैशाख ।
मध्यपूर्वी माडीका विभिन्न गाउँहरुमा चलेको भीषण हावा हुण्डरीबाट क्षतीग्रस्त आवासीय घरहरु छाउनका लागि माडी नगरपालिकाले जस्तापाता उपलब्ध गराएको छ ।
माडी नगरपालिका वडा नम्बर ७ र ८ का विभिन्न गाउँहरुमा हावा हुण्डरीले दर्जनौं आवासीय घर एवम् केहि विद्यालय भवनहरुको छानो उडाई क्षती गरेकोमा नगरपालिकाले छानाका लागि जस्तापाता उपलब्ध गराएको हो ।
यसअघि, माडी नगरपालिकाको बिपद् व्यवस्थापन समितिको बैठकले बैशाख १९ गते आएको हावाहुरीबाट भएको क्षतीको लगत संकलन गर्ने र क्षतीग्रस्त आवासीय घरका लागि जस्तापाता उपलब्ध गराउने निर्णय गरेको थियो ।
यसबाहेक नगरपालिकाले बिपद् सम्बन्धी जानकारी लिनदिन टोल फ्री नम्बर सञ्चालन प्रक्रिया अगाडी बढाउने, राहत तथा सहयोगका लागि नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.) लगायतका संस्थासंग अपील गर्ने र वडा नं. ३, ५ र ६ मा गठन भएका सामुदायिक बिपद् व्यवस्थापन समितिहरुलाई प्रक्रिया पुरा गरी दर्ता गर्ने समेत निर्णय गरेको बिपद् सम्पर्क व्यक्ति गोबिन्द न्यौपानेले जानकारी दिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालको अध्यक्षतामा बसेको बैठकमा माडीका राजनैतिक दल, वडाध्यक्षहरु, सुरक्षा निकाय, रेडक्रसकर्मी र सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागी रहेका थिए ।
तस्बिर सौजन्य : स्वदेश एफएम





