भरतपुर, २१ वैशाख ।
वैशाख ३० गते हुन गैरहेको स्थानीय चुनावलाई लक्षित गरी सत्ता गठबन्धनले भरतपुरमा सभा गर्दैछ । बिहीबार हुने उक्त सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितले सम्बोधन गर्ने कार्यक्रम छ । सभापति देउवा बुधबार साँझ नै भरतपुर आउने कार्यक्रम रहेको स्रोतले बताएको छ ।
तर, प्रधानमन्त्री देउवा आचारसंहिताविपरीत चुनावी प्रचारमा आउन लागेको भन्दै उजुरी परेको छ । अधिवक्ता सुनिता अधिकारीले मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा बुधबार उजुरी दिएकी हुन् ।
सुनिताले दिएको उजुरीको बेहोरामा लेखिएको छ, ‘निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी र भययुक्त वातावरण कायम राख्नका लागि निर्वाचन आचारसंहिता २०७८ जारी भएको छ ।’
प्रधानमन्त्रीविरुद्ध परेको उजुरीमा भनिएको छ, ‘संहिताको दफा ५ ले निर्वाचनमा आफैँ उम्मेदवार भएका अवस्थामाबाहेक नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा खेल्न वा प्रचारप्रसार गर्न नहुने स्पष्ट व्यवस्था गरेकोमा यही मिति वैशाख २२ गतेका दिन नेपाली कांग्रेस, माओवादीसमेतका गठबन्धनका उम्मेदवारको पक्षमा शेरबहादुर देउवालगायत नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीहरू सहभागी हुने कुरा राष्ट्रिय समाचार पत्रिकामा प्रकाशित भएको हुँदा आचारसंहिताविपरीत हुन लागेको कार्यक्रम स्थगित गरी पाउँ र आचारसंहिताविपरीत कार्य भएमा सजाय समेत गरी पाऊँ ।’
मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका प्रवक्ता पुरुषोत्तम पौडेलले सभामा आचारसंहिता उल्लंघन हुने भन्दै आज उजुरी परेको पुष्टि गरे । उनले भने, ‘हामीलाई भोलि हुने आमसभाबारे लिखित उजुरी परेको छ । यो विषयप्रति हामीले केन्द्रीय निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिलाई जानकारी गराइसकेका छौँ । पत्र पठाउने पनि तयारी गरेका छौँ ।’
बिहीबार केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) मा गठबन्धनका पाँचै दलका केन्द्रीय नेताहरूको सहभागितामा चुनावी सभा हुन लागेको छ ।





