इच्छाकामना, २१ वैशाख ।
यति बेला देशभर स्थानीय तह निर्वाचनको माहोल गर्माइरहेको छ । दलका विभिन्न तहका नेता तथा कार्यकर्तालाई चुनाव ठूलै चाडपर्व जसरी लागेको छ । तर विपन्न नागरिकहरू भने चुनावलाई लिएर खासै उत्साहित देखिँदैनन् । राजनीतिक दलहरूले दलित तथा विपन्न वर्गलाई हरेक पटक भोट बैंकका रूपमा प्रयोग गर्ने गरेको तर चुनाव जितेपछि फर्केर पनि नहेर्ने गरेको उनीहरूका गुनासा यस पटक पनि सुनिएका छन् ।
इच्छाकामना गाउँपालिका वडा नं ७ सिमलढापका सूर्य बहादुर चेपाङ चुनाव आउन लाग्दा खासै खुशी छैनन् । वर्षका अन्य दिन देखा नपर्ने पार्टीका नेताहरू चुनावको समयमा फेरि भोट माग्न गाउँ पस्न थालेका छन् । विभिन्न पदका उम्मेद्वारहरूले सूर्य बहादुरहरूलाई यस अघिका चुनावमा पनि थुप्रै सपना दखाएका थिए । तर जिताएर पठाएकाले पाँच वर्षको अवधिमा एक पटक पनि गाउँलाई फर्किएर नहेरेको सूर्य बहादुरको आरोप छ । जनप्रतिनिधि गाउँमा आउलान् र मनका कुरा सुनाउन पाइएला भनेर उनीहरूले बाटो पनि कुरेर नबसेका होइनन् । पर्खाइको समय झन्झन् लम्बिँदा यतिबेला गाउँलेका आँखा नै थाक्न पुगेका छन् ।
“पाँच वर्षमा एउटा वडा कार्यालय भवन चाहिँ बन्यो । अरु त केही पनि भएजस्तो लाग्दैन”, सूर्य बहादुरले निराश हुँदै भने । चुनाव जितेपछि नेताको जीवनस्तर बदलिएपनि आफूहरूको स्थिति भने जहाँको त्यहीँ नै रहेको उनी सुनाउँछन् । “हाम्रो वडामा खानेपानीको समस्या एकदमै छ । धारामा बिहान बेलुका जतिबेला पनि पानी नै कुरेर बस्नुपर्छ”, उनी अगाडि थप्छन्, “पानी भर्न पाइएन भने बिजोग हुन्छ । खानेपानीको त हाहाकार छ ।” गाउँमा सिँचाइको समेत प्रबन्ध हुने हो भने खेतीपाती गर्न समेत सजिलो हुने उनको भनाइ थियो ।
खानेपानी सहज तरिकाले उपलब्ध गराउन स्थानीयले जनप्रतिनिधिलाई अनुरोध नगरेका पनि होइनन् । तर प्रत्येक नेता पिच्छे फरकफरक कुरा सुन्नु पर्दा उनीहरू दिक्क भएका छन् । “खानेपानी उपभोक्ता समिति बनाऔं अनि खानेपानीको योजना ल्याऔं भनेर आवाज पनि उठाएका हौं । तर अहँ, कुरा कसैले सुनेनन्”, कारुणिक मुद्रामा सूर्य बहादुरले सुनाए ।

“बाठो जति कारमा, लाटो जति ओडारमा”
हाल सूर्य बहादुर श्रीमती, दुई छोरा र एक छोरीका साथ दुई कठ्ठा ऐलानी जग्गामा बस्दै आएका छन् । थरीथरी पार्टीहरूले लालपूर्जा दिन्छौं भनेर राजनीति गर्ने गरेको पनि उनी सुनाउँछन् । पछिल्लो समय भूमिसम्बन्धी समस्या समाधान गर्न बनेको आयोगले गाउँपालिकाको माध्यमबाट भूमिहीन, अव्यवस्थित बसोबासी, लगायतको लगत संकलन गरेको छ । प्राप्त भएका विवरणका आधारमै गाउँपालिकाले निस्सा वितरणको काम थालेको छ ।
निर्वाचन आचारसहिंता लागू हुनु अगाडिसम्म केहीलाई लालपूर्जा पनि वितरण गरिसकिएको छ । “यो पटक निस्सा दिएका छन् । लालपूर्जा पाइन्छ कि पाइँदैन बिस्तारै थाहा होला”, सूर्य बहादुरले भने । भूमिसम्बन्धी समस्या समाधान आयोगको तथ्याङ्कलाई हेर्ने हो भने चितवन जिल्लाभर ३८ हजार घरपरिवारले लालपूर्जाका लागि निवेदन दिएका छन् । जसअन्तर्गत दुई हजार ४१६ अव्यवस्थित बसोबासी र ७३४ सुकुम्बासी परिवार इच्छाकामना गाउँपालिकाका हुन् ।
यस पटकको स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा पनि आफ्नोतर्फ बढी उपस्थिति रहेको देखाउन उम्मेद्वार तथा नेता–कार्यकर्ताले गाउँगाउँ पुगेर विपन्न नागरिक बटुले । उम्मेद्वारी दर्ता गराउने अन्तिम दिन सूर्य बहादुरसँगै अन्य स्थानीयलाई रिजर्भ बस चढाइ दलहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालय पु¥याए । पार्टीका झण्डा र चुनाव चिह्न बोकाए, नारा गाउन लगाए अनि केही मुठी चिउरा दिएर सबैलाई घर फर्काए । चुनावका बेला आफूहरूलाई प्रचार सामग्रीका रूपमा प्रयोग गरिएको देख्दा सूर्य बहादुर खिन्न हुन्छन् ।
“अब त यो पार्टी ऊ पार्टी भनेर हिँड्न मन लाग्न छाड्यो । कुनै पनि पार्टीमा नलागी स्वतन्त्र भएर बाँच्न मन छ”, कुनै समय माओवादी लडाकू पनि बनेर हिँडेका सूर्य बहादुरले भने, “बाठो जति कारमा, लाटो जति ओडारमा भनेजस्तै लाग्न थालेको छ ।”
गाउँमा रोजगारी नपाउँदा नागरिकहरू विदेशै जान बाध्य
गाउँपालिकाको वडा नं ७ स्याङ्दीमा बसोबास गर्दै आएका सोम बहादुर तामाङ्ग पनि चुनाव नजिकिँदा खासै खुशी छैनन् । वैदेशिक रोजगारीको शिलशिलामा मलेशिया पुगेको आफ्नो छोराको काम गर्ने क्रममा उतै मृत्यु भएपछि उनी ठूलो शोकमा छन् । सोम बहादुरका ३३ वर्षीय छोरा पुष्प गएको असोज १७ गते काम गर्ने क्रममा अचानक बेहोस भई ज्यान गएको थियो ।
ऋणधन जम्मा गरी विदेशमा कमाउन पठाएको छोरा बाकसमा फर्किएको देख्दा ६९ वर्षीय सोम बहादुरको गुनासो राजनीतिक दलहरू र सरकारतर्फ तेर्सिएको छ । “यहाँ काम गर्नलाई के नै छ र ? रोजगारी मिलाइदिन्छौं भन्छन् नेताहरू, खोइ कहाँ छ रोजगारी ?”, सोम बहादुरले प्रश्न गरे, “आखिर विदेशै त जानुपर्ने रहेछ नि ।”

सोम बहादुर नजिकैको जंगलमा वनरक्षकको काम गरिरहेका छन् । ऐलानी जग्गामा मकै र धान लगाउने गरेको भएपनि खानलाउनलाई ठूलो समस्या हुने गरेको उनी बताउँछन् । उनका अनुसार कतिपय घरपरिवारमा गरिबी यति हदसम्म छ कि बारीमा मकै पूरा पाक्न नपाउँदै खानलाई टिपिहाल्नुपर्ने बाध्यता छ । गाउँमा रहेका कतिपयको आम्दानीको स्रोत कुल्ली काम हुने गरेको छ । देशका अन्य भूभागमा जस्तै यहाँका युवाहरू पनि धेरै कमाउने इच्छा लिएर विदेश हानिने गरेका छन् । सरकारले रोजगारी प्रवर्द्धन गर्न भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेपनि त्यसले व्यक्तिलाई आयआर्जनमूलक सीप भने सिकाउन नसकेको आरोप नागरिकहरूको छ ।
सात भाइ छोरामध्ये पाँचौँ छोरा (पुष्प) गुमाएका सोम बहादुरका छैटौँ छोरा पनि धन कमाउन कतार पुगिसकेका छन् । आफ्नो ज्यानलाई जोखिममा पार्दै पैसा कमाउन विदेश जानुपर्ने अवस्था रोकियोस् भन्ने सोम बहादुरको चाहना छ । “आफ्नै घरको अन्न खाएर गाउँमै केही काम गर्न सके राम्रो हुन्थ्यो । सन्तानलाई विदेशी भूमिमा गुमाउने चाहना कुन चाहिँ बाबुआमाको हुन्छ र ?”, मलिन हुँदै सोम बहादुरले बताए ।





