भरतपुर,२१ वैशाख।
विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले चुनावको बेला सधै राम्रो मान्छे चाहियो भनेर सामाजिक सञ्जालमा कराउने जमातले आफूहरुले उत्कृष्ट उम्मेद्वार उठाउँदा पनि जिताउन नसकेको गुनासो गरेका छन् । भरतपुरमा विवेकसील साझाको उम्मेद्वारको संकल्प पत्र सार्वजनिक कार्यक्रममा बोल्दै मिश्रले मौका पाउदाखेरि गलत मान्छेलाई रोज्ने र पाँच वर्षसम्म गाली गरेर बस्ने प्रवृति पटक पटक दोहोरिएको बताए ।
उनले भने, ‘देशमा परिवर्तन हुनुपर्यो पनि भन्ने राजनिती सफा हुनुपर्यो पनि भन्ने अनि हामीले शिक्षित र गर्छु भनेर आएका युवालाई अगाडि सार्दा होइन पाँच वर्ष गाली गरियो फेरि पुराना नेतालाई नै भोट हाल्ने हो भने के अर्थ भयो र?’ ।
उनले भरतपुरमा सक्षम इमान्दार र परिपक्व उम्मेद्वार उठाएको भन्दै भोट दिन आग्रह गरे । यस्तै पार्टी अध्यक्ष मिश्रसँग राप्रपासँग पार्टी एकिकरणको विषयमा पत्रकारले सोधेको प्रश्नमा अनौपचारिक छलफल भएपनि अगाडि बढ्न नसकेको बताए ।
उनले जवाफ दिर्दै भने,‘हामी दुई पार्टी एक ठाउँमा आउन सक्यौ भने त्यसले राजनितीको स्वरुपलाई परिवर्तन गर्न सक्छ र हामी हस्तक्षेपकारी भूमिकामा पुग्न सक्छौ भनेर केही संवादभएको हो तर त्यो अगाडि बढ्न सकेन ’ । भरतपुरमा विवेकशील साझा पार्टीको तर्फबाट मेयरमा प्रवीन काफ्ले र उपमेयरमा पुष्पा सापकोटाको उम्मेद्वारी रहेको छ ।





