खैरहनी, २० वैशाख ।
खैरहनी नगरपालिका वडा नम्बर- ४ मा गठबन्धनका उमेदवारहरुले मंगलबार घरदैलो गरेका छन् ।
गठबन्धनबाट नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उमेदवार शशी कुमार खनिया र नेकपा माओवादीको तर्फबाट उपमेयर पदका उमेदवार लक्ष्मी ढकाल तथा वडाध्यक्षका उम्मेदवार नारद बरुवालसहितका उम्मेदवारहरुले घरदैलो गरी मत मागेका हुन् । गठबन्धनबाट वडा सदस्यका उमेदवारहरु बहादुर गुरुङ , रामबहादुर थापामगर, महिला सदस्य गोमा उप्रेती र दलीत महिला सदस्य सपना परियार पनि घरदैलोमा सहभागी थिए । मतमाग्न घरदैलोमा पुगेको उम्मेदवारलाई वडाबासीले स्वागत तथा आशीर्वाद दिँदै शशी खनियाको नेतृत्वमा खैरहनी नगरपालिकाले आमूल परिवर्तन गर्ने र ग्रामीण भेगको विकासमा उहाँको टिम लागि पर्ने विश्वास व्यक्त गरेका छन् ।
भौगोलिक हिसाबले सुन्दर रहेको खैरहनी- ४ को पर्यटनलाई विस्तार गरि कुमरोजमा आएको पर्यटकलाई कंकाली ल्याएर होमस्टे निर्माण गरि यहाँको पर्यटन विस्तार र कृषि उपजको प्रवर्द्धनमा आफू लागिपर्ने मेयर पदका उम्मेदवार खनियाले बताए । खैरहनी ४ को मेलमिलाप चोक, चामेडाँडा, लाफागाउँ, सूर्योदय टोल, गैडेआहाल, पुलचोकलगायतका स्थानमा वडाबासी मतदाताले गरेको स्वागत हौसला र उहाँहरुले देखाएको भरोसाका कारण आफू उत्साहित भएको खनियाले बताए ।
उपमेयर पदका उम्मेदवार लक्ष्मी ढकालले पाँच वर्षको अवधिमा यस क्षेत्रको पर्यटन विस्तारलगायतका काममा नगरले ध्यान नपुर्याएको भन्दै कंकाली सामुदायिक वनमा पर्यटन प्रबर्द्धन गरि यहाँको विकासलाई पुरा गर्ने र यहाँका समस्यालाई समाधान गर्ने दृढ संकल्पको साथमा आफूले उम्मेदवारी दिएको बताए । नगरबासीको जनचाहना बमोजिम काम गर्न मैदानमा आएको भन्दै उनले यसको लागि आफू प्रतिबद्ध भएको पनि बताए ।
वडाध्यक्ष पदका उम्मेदवार नारद बरुवालले बेल्सी पुलदेखि भुतिया खोलासम्म औधोगिक करिडोर निर्माण, कयर खोलामा तटबन्ध, सामुदायिक विद्यालयको स्तरोन्नतिलगायतका कामलाई प्राथमिकतामा राख्दै समाधान गर्न आफू र आफ्नो टिमलाई मतदान गर्न आग्रह गरेका छन् ।
३१०२ मतदाता रहेको सो वडामा यस अघिको स्थानीय निर्वाचन र उपनिर्वाचनमा पनि नेपाली काङ्ग्रेसले नै वडा अध्यक्षलगायत सम्पूर्ण पदमा विजय हासिल गरेको थियो ।
यस्तै खैरहनी नगरपालिकाका नगर सभापति गुणराज श्रेष्ठले नगरको १३ वडामा घरदैलो कार्यक्रम संचालन भैरहेको र स्थानीयको उल्लासपूर्ण सहभागीताले काङ्ग्रेस सहितको गठबन्धनले मेयर उपमेयर सहित १३ वटै वडामा जितको नजिक पुगेको बताए ।





