भरतपुर, २० वैशाख ।
आसन्न स्थानीय निर्वाचनको लागि भरतपुर महानगरपालिकाको गठबन्धन दलले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ ।
मंगलबार एक कार्यक्रमको आयोजना गरि गठबन्धनको तर्फबाट भरतपुर महानगर मेयरकी उम्मेदवार रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीले संयुक्तरुपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
‘बिगतको गठबन्धनको गौरवपूर्ण ५ वर्षको आधार ! वर्तमान गठबन्धन समृद्द भरतपुरको योजनाकार’ भन्ने नाराका साथ घोषणापत्र सार्वजनिक गरिएको छ ।
विभिन्न विषयवस्तुमा १२ पृष्ठ लामो प्रतिबद्दतापत्रमा किसानलाई पेन्सनदेखि जेष्ठ नागरिकलाई निशुल्क बससेवासम्म प्रतिबद्धतामा उल्लेख गरिएको छ । एअरपोर्ट बिस्तार गरि सुविधासम्पन्न बनाइने, किक्रेट रंगशालाको बाँकी कामलाई पूर्णता दिइनेसमेत प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ । भरतपुरको तीन ठाउँमा आकाशे पुल बनाइने बताइएको छ ।
भरतपुर महानगरपालिका भित्र सार्वजनिक इलेक्ट्रीक बस सन्चालन प्रक्रिया सुरु गरिने बताइएको छ । पर्यटनतर्फ सिटीहल, प्रर्दशनी केन्द्र, गौतमबुद्द क्रीकेट रंगशालाको अधिकतम उपयोग गरि पर्यटन प्रवद्दर्न गरिने बताइएको छ ।
भरतपुरमा सुविधासम्पन्न आईटी पार्क स्थापना गरिने बताइएको छ । प्रत्येक वडामा अस्पताल, घरदैलोमा महानगर हेल्थ क्लिनिक संचालन गर्ने उल्लेख गरिएको छ । कृषि र पेन्सन कार्यक्रम अन्तगर्त बीउ उत्पादन गर्ने कृषकलाई प्रतिकेजी ३ रुपैयाँ अनुदान र कृषिमा आधारित विद्युत खर्चमा ५० प्रतिशत अनुदान दिइने प्रतिबद्धता गरिएको छ । कृषि पेसामा संलग्न प्रत्येक किसानहरुको पहिचान र वर्गीकरण गर्दै किसान पेन्सनको व्यवस्था गरिने जनाइएको छ । भरतपुरलाई बेरोजगारमुक्तको परिकल्पना गर्दै पहिलो वर्ष एक वडाका ५० जना गरि भरतपुरका १४५० जनालाई रोजगारीको व्यवस्था गरिने उल्लेख गरिएको छ ।
त्यसैगरी यसलाई दोस्रो वर्षदेखि दोब्बर बनाइने बताइएको छ ।
मजदुरहरुको लागि रोजगार केन्द्र स्थापना गरि रोजगार उपलब्ध गराइने बाचा पनि गरिएको छ । ५० जनाभन्दा बढीलाई रोजगारी दिने उद्योगलाई व्यवसाय करमा ५० प्रतिशत छुट दिइने समेत उल्लेख गरिएको छ ।
भूमिहिनलाई लालपुर्जा वितरण गरि छत र स्वाभिमान दुबै उपलब्ध गराइने प्रतिबद्धतामा उल्लेख छ ।




