रत्ननगर, २० वैशाख ।
रत्ननगरमा मंगलबारदेखि सञ्चालनमा आएको सेभ सुपरमार्केटबाट कलाकार हरिवंश आचार्यले फर्सीको बियाँ, जुनेलोसहित नेपाली उत्पादनहरू खरिद गरेका छन् । रत्ननगर नगरपालिका-१ बकुलहरमा संचालनमा आएको सेभ सुपरमार्केटको उद्घाटन गर्न कलाकार आचार्य मंगलबार बिहान चितवन आएका थिए ।
सौराहा भेञ्चर्स प्रालिले संचालनमा ल्याएको सेभ सुपरमार्केटको उद्घाटन गर्दै कलाकार आचार्यले टाँडी बजारमा यो किसिमको सपिङ कम्प्लेक्स खुल्नु स्थानीयका लागि खुसीको कुरा भएको बताए । सुपरमार्केटले स्वदेशी उत्पादनलाई पनि उपभोक्तासमक्ष पुर्याउन भूमिका खेल्नुपर्ने बताउँदै कलाकार आचार्यले `नेपाली उत्पादनहरू कता राखिएको छ ?´ भन्दै प्रश्न गरेका थिए । सुपरमार्केटका सहयोगीले कलाकार आचार्यलाई स्वदेशी उत्पादनहरू देखाएपछि उनले उक्त सुपरमार्केटबाट फर्सीको बियाँ, जुनेलोलगायतका स्वदेशी उत्पादन खरिद गरेका थिए । कलाकार आचार्यले खरिद गरेको सामग्रीको पहिलो बिल काटेर कारोबार सुभारम्भ गरिएको सौराहा भेन्चर्स प्रालिका अध्यक्ष नारायण भट्टराईले बताए ।

बकुलहरस्थित पुरानो ज्योति हल भएको स्थानमा बनाइएको सुपरमार्केटमा सौराहाका १८ जना व्यवसायीको १६ करोड रुपैयाँ लगानी छ । एउटै छानामुनि सस्तो र सुपथ मूल्यमा खाद्यान्नदेखि लत्ताकपडा हुँदै किचन र घरमा चाहिने सबै प्रकारका सामग्री पाईने अध्यक्ष भट्टराईले बताए ।
यो मार्केट सञ्चालनमा आएपछि उपभोक्ताले सस्तोमा गुणस्तरीय सामान पाउने कार्यकारी अधिकृत दिनेश घिमिरेले बताए । `हामीले सबै वर्ग र तहका ग्राहकलाई लक्षित गरेर सुपरमार्केट सञ्चालनमा ल्याएका छौँ । हरेक हप्ता फरक फरक सामानमा अफर लगाउने छौं । लिफलेट हेरेर ग्राहकहरुले सामान लिन पाउने छन् । यसको प्रत्यक्ष फाइदा ग्राहकलाई हुनेछ´ घिमिरेले जानकारी दिए ।
तीन तले सुपरमार्केटको पहिलो तलामा खाद्यान्नलगायत ग्रोसरी, दोस्रो तलामा कपडा, ईलेक्ट्रिक र किचनमा प्रयोग हुने सबै प्रकारका भाँडाकुँडा रहेको छ । तेस्रो तलामा मनोरञ्जनको लागि सुविधासम्पन्न स्केट पार्क रहने छ ।
सो मार्केटको तेस्रो तलामा छिट्टै सुविधासम्पन्न चलचित्र हल समेत सञ्चालन गर्ने योजना रहेको संचालक सुमन घिमिरेले बताए । सुपरमार्केट बिहान ७ बजेबाट राती ९ बजे सम्म सञ्चलन हुने पनि घिमिरेले बताए । यसले ग्राहक वर्गलाई आफ्नो अनुकूलता अनुसार सामान लिन सहज हुने घिमिरेको भनाई छ ।
सुपरमार्केट सञ्चालनसँगै पूर्वी चितवनबाट दैनिक उपभोग्य वस्तुहरु खरिदका लागि यात्रा गरेर भरतपुर जानु पर्ने बाध्यता हटेको छ ।





