काठमाडौँ, १८ वैशाख ।
सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । हालका आईजीपी शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधिका कारण आजदेखि अनिवार्य अवकाशमा गएपछि सरकारले नयाँ आईजीपी नियुक्त गरेको हो ।
आइतबार बिहान भएको सत्ता गठबन्धनको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावका वेला वरियता मिचेर आईजीपी नियुक्त गर्दा विवाद हुन सक्ने बताएका थिए ।
तर प्रधानमन्त्री देउवाले आईजीपी नियुक्तिबारे छुट्टै परामर्श गरेका थिए । विवादका कारण ११ बजे बस्ने भनेको मन्त्रपरिषद् बैठक दिउँसो १ बजे मात्रै सुरु भएको थियो ।
एआईजीहरु विश्वराज पोखरेल, सशकुल थापा र रवीन्द्र धानुक पनि आईजीपीको प्रतिस्पर्धामा भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको रोजाइमा परेपछि सिंहले नेपाल प्रहरीको कमाण्ड सहाल्ने मौका पाएको स्रोतले बतायो ।
गृहमन्त्री खाँण भने विश्वराज पोखरेललाई आइजिपी बनाउने सोचमा थिए । यसैकारण आइतबार बिहान ११ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक दुई घन्टा ढिलो गरी बसेको हो ।
सिंह केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० मा कार्यरत थिए । सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक पनि प्रहरी महानिरीक्षक बन्ने दौडमा थिए । तर सरकारले तेस्रो वरियतामा रहेका सिंहलाई आईजीपी नियुक्त गरेको हो ।
पोखरेल र थापालाई केपी शर्मा ओली नेतृत्वको सरकारले दरबन्दी थप गरेर आईजीपीको रोलक्रममा ल्याउने गरी एकल बढुवा गरेर एआईजी बनाएको थियो । तर शेरबहादुर देउवा नेतृत्वको सरकारले वरियतामा पोखरेल र थापाभन्दा पछाडि रहेका सिंहलाई राजेको हो ।
प्रहरी नियमावली–२०७१ को नियम ४१ मा एआईजीमध्येबाट ‘सरकारले उपयुक्त देखेका उम्मेवारलाई प्रहरी महानिरीक्षक’ मा बढुवा गर्न सक्ने भनिएको छ ।
तर जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्य लगायतलाई आधार बनाएर निर्णय लिने भनिएको छ ।
हालका आईजीपी शैलेश थापा क्षेत्रीसहितका उनका ब्याचका प्रहरी अधिकृतहरुले ३० वर्षे सेवा अवधिका कारण आइतबारबाट अवकाश पाउँदैछन् । आइतबारबाटै सिंहले प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।





