भरतपुर, १६ वैशाख ।
भरतपुर महानगरको मेयरका लागि नेपाली कांग्रेसका तर्फबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले समयसीमा सकिँदासम्म पनि आफ्नो मनोनयन फिर्ता लिएनन् ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेयरबहादुर देउवासहितका नेताहरूको आग्रह अस्वीकार गर्दै निर्वाचन आयोगले दिएको समयसीमा सकिँदा पनि मनोनयन फिर्ता लिएनन् ।
उनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठलगायत नेताले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।
अडान कायमै राखेपछि पौडेललाई फकाउन चितवन पुगेका गृहमन्त्री खाँण र राज्यमन्त्री श्रेष्ठ निरास हुँदै काठमाडौं फर्किएका थिए । पाैडेललाई फकाउन गृहमन्त्री खाँणसँगै राज्यमन्त्री श्रेष्ठ बिहीबार उनको घरमै पुगेका थिए ।
भरतपुरबाट प्रचण्ड पुत्री रेनु दाहालले मेयरमा दोहोरिन उम्मेदवारी दिएकी छिन् । पौडेलले उम्मेदवारी फिर्ता नलिँदा रेणुलाई जित्न मुस्किल पर्ने देखिन्छ ।
यता, उम्मेदवारी फिर्ता नलिनेलाई नेपाली कांग्रेसले कारबाहीको तयारी गरेको छ । पार्टीले अनुशासनका कारबाही गरे भोग्न तयार रहेको उनले बताएका छन् । आयोगले अहिले ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकेको थियो ।





