भरतपुर, १६ वैशाख ।
गृहमन्त्री बालकृष्ण खाँणले भरतपुर महानगरपालिकामा मेयरमा उठेका बागी उम्मेदवार मिलाउन प्रयास गरेको विषयलाई निर्वाचन आयोगले नोटिस गरेको छ ।
भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएपछि उनलाई फकाउन मन्त्री खाँण बुधबार चितवन आएका थिए ।
सार्वजनिक पदमा रहेको व्यक्ति उम्मेदवार विवाद मिलाउन पुग्नु आचारसंहिता विपरीत हुने आयोगले स्पष्ट पारेको हो ।
आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले भने, ‘विवाद मिलाउन मन्त्रीज्यू नै गएको भन्ने जुन कुरा छ । पक्कै पनि आयोगको ध्यानाकर्षण भएको छ ।’
सत्ता गठबन्धनबाट महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका छन् ।





