परीक्षा सकेर घर जाँदै गरेका विद्यार्थीलाई `मुना´

रत्ननगर, १५ वैशाख ।
चितवनका विद्यालयहरूमा यतिबेला वार्षिक परीक्षा चलिरहेको छ । कतिपय विद्यालयमा परीक्षा सकिइसकेको छ भने कतै सकिने तरखरमा छ । रत्ननगर नगरपालिका-१२ जिरौनास्थित पिस भिजन आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरूले पनि बिहीबार वार्षिक परीक्षा सकाएका छन् । अब नयाँ कक्षा सुरु नहुन्जेल सबै विद्यार्थीहरू खाली हुनेछन् ।
विद्यालयका शिक्षक बद्री खनालले परीक्षा सकेर घर जान तयारी अवस्थामा रहेका विद्यार्थीहरू यो खाली समयमा सिर्जनशील बनुन् भनेर सबै विद्यार्थीलाई बालपत्रिका `मुना´ उपलब्ध गराएका छन् ।

शिक्षक खनाल सोही विद्यालयमा सामाजिक बिषय पढाउँछन् । विद्यार्थीहरूलाई पाठ्यक्रमका किताबका अलावा अतिरिक्त किताब पनि पढ्ने बानी बसाउन मुना पत्रिका वितरण गरिएको शिक्षक खनालले बताए । `बालबालिकाको लागि मुना अत्यन्तै उपयोगी पत्रिका हो, यसमा बालबालिका कै सिर्जना हुन्छन् । उनीहरूलाई प्रेरणा मिल्ने सामग्री पनि हुन्छन्´ खनालले भने- `सानैदेखि मुना र मुना जस्तै पत्रपत्रिका पढ्ने बानी बसाल्न सके विद्यार्थीले धेरै कुरा सिक्न सक्छन्, जसले उनीहरूलाई अगाडि बढ्न सहयोग गर्छ ।´

विद्यालयका परीक्षा संयोजक राजु अधिकारीले हरेक विद्यालयमा विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत पुस्तक तथा पत्रपत्रिका पढ्न प्रेरित गर्नुपर्ने बताए । विद्यालयका संरक्षक देवेन्द्र विश्वकर्माले यी पत्रपत्रिका पढेपछि शिक्षकशिक्षिकालाई विद्यालयमा कार्यक्रमको आयोजना गरी विद्यार्थीहरूलाई सिर्जनात्मक क्रियाकलापमा प्रोत्साहन गर्न आग्रह गरे । विद्यालयमा नेपाली बिषय पढाउने शिक्षिका रमा चापागाईंले साहित्य सिर्जनामा रुचि राख्ने विद्यार्थीलाई विद्यालयले पहिल्यैदेखि उनीहरूको क्षमताको कदर गर्दै आइरहेको बताइन् ।

शिक्षक खनाल पुस्तक व्यवसायी पनि हुन् । जिरौनामा ३ वर्ष अगाडिदेखि उनले मेधावी पुस्तक पसल सञ्चालन गरिरहेका छन् ।तीन वर्ष पार गरेको व्यवसाय र वैवाहिक वर्षगाँठको पनि अवसर पारेर सिर्जनात्मक अभियान अन्तर्गत आफैले पढाउने विद्यालयमा सबै विद्यार्थीलाई पुग्ने गरी मुना पत्रिका वितरण गरिएको खनालले बताए ।

त्यसैगरी रत्ननगर-१० स्थित न्यू स्पिडी बोर्डिङ स्कुलमा पनि सबै विद्यार्थीलाई मुना बालपत्रिका वितरण गरिएको छ । वार्षिक परीक्षा सकेर घर फर्कँदै गरेका विद्यार्थीका हातमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवन शाखाका उपाध्यक्ष काजीराज चौधरीले मुना पत्रिका थमाइदिएका हुन् ।

बिहीबार चौधरीको जन्मदिन परेको थियो, सोही अवसरमा विद्यार्थीमा पुस्तक पढ्ने बानीको विकास गराउन मुना पत्रिका वितरण गरिएको चौधरीले बताए । विद्यार्थीहरू खाली समयमा मोबाईल तथा कम्प्युटरमा मात्रै भुल्ने गरेको हुँदा उनीहरूलाई पुस्तक पढ्ने, घुम्ने र रचनात्मक काम गर्ने बानी जगाउन शिक्षक र अभिभावकले भूमिका खेल्नुपर्ने चौधरीले बताए । शिक्षकहरूले पनि पढ्ने बानी गरेमा विद्यार्थीहरूको रुचि जाग्ने भन्दै चौधरीले शैक्षिक पुस्तकहरू उज्यालोतिर, करोडौं कस्तुरीलगायतका पुस्तक पनि शिक्षकको लागि उपलब्ध गराएका थिए ।

परीक्षा सकेर घर जाँदै गरेका विद्यार्थी मुना पत्रिका पाएर खुसी भएको विद्यालयका प्रधानाध्यापक अर्जुनबहादुर थापाले बताए । आगामी दिनमा विद्यालयमा विद्यार्थीहरूको प्रतिभा प्रदर्शनी तथा पुस्तक अन्तरक्रिया कार्यक्रम राखिने प्रधानाध्यापक थापाले बताए । चितवन तथा नवलपरासीका विद्यालयमा विद्यार्थीहरूलाई पुस्तक पढाउने अभियान अन्तर्गत पुस्तक तथा पत्रिका वितरणमा नारायणगढस्थित सम्पूर्ण किताबले सहजीकरण गरिरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट