रेनु दाहालको उम्मेदवारी फिर्ता गराउनुहोस् : जगन्नाथ पौडेल

भरतपुर, १५ वैशाख ।
भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहालको उम्मेदवारी फिर्ता गराउन आग्रह गरेका छन् । आफूलाई फकाएर उम्मेदवारी फिर्ता गराउन आएका गृहमन्त्री बालकृष्ण खाँणलाई बागी उम्मेदवार पौडेलले यस्तो आग्रह गरेका हुन् ।

सत्तागठबन्धनले चितवनमा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहाललाई उम्मेदवार बनाएपछि आक्रोशित कांग्रेस नेता कार्यकर्ताले बागी उम्मेदवारी दिएका छन् । कांग्रेसका नेता पौडेलले बागी उम्मेदवारी दिएपछि उनीसँग डिल गर्न खाँण चितवन पुगेका हुन् ।

सत्तागठबन्धनबाट महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका छन् । खाँणले जिल्ला पार्टी कार्यालय नारायणगढमा गठबन्धनका नेताहरूसँग छलफल गरे । त्यसपछि आफूलाई फकाउन आफ्नो निवास भरतपुर–७ स्थित पिपलचोक आएका गृहमन्त्री खाँणसँग पौडेलले उम्मेदवारी फिर्ता नगर्ने अडान राखे ।

उनले सञ्चारकर्मीसँग भने, ‘‘म फिर्ता गर्नेवाला छैन । किनभने यो सामूहिक कुरा, सार्वजनिक कुरा भयो । होला चितवनको कांग्रेसको भावनाको कुरा छ, त्यसो भएर त्यो त्यति इजी छैन भनेर मैले भनेँ । बरु मैले रेणु दाहालको उम्मेदवारी फिर्ता गराउन आग्रह गरेको छु ।’’

बागी उम्मेदवारी दिएका उम्मेदवारले १६ वैशाखसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट