भरतपुर, १५ वैशाख ।
नारायणगढको कमलनगरमा बुधबार राति सुरु भएको आगलागी बिहीबार बिहान मात्रै नियन्त्रणमा आएको छ । प्रत्यक्षदर्शीले बताएअनुसार आगलागी राति १२ बजेतिर सुरु भएको थियो ।
भरतपुर महानगरका दुई तथा खैरहनी र कावासोती नगरपालिकाका एक-एक वटा वारुणयन्त्रलाई आगो निभाउन करिब ६ घण्टाको समय लागेको थियो । स्थानीय र सुरक्षाकर्मी पनि उद्धारमा खटिएका थिए ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार एक बिजुलीको पसलबाट अगलागी सुरु भएको थियो । क्षतिको विवरण भने आउन बाँकी छ । विद्युत सर्ट भइ आगलागी भएको हुनसक्ने अनुमान गरिएको उनले बताए ।
आधिकारिक तथ्यांक आउन बाँकी रहेको भए पनि ६ वटा व्यापारिक पसल र दर्जन बढी कार्यालयमा आगलागीले पूर्ण रूपमा क्षति गरेको छ । आगलागीबाट करोडौँको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।








