स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएका अर्यालको चुनावी खर्च ५ हजार मात्रै

भरतपुर, १३ वैशाख ।
स्वतन्त्रतर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका गुञ्जनगरका ३५ वर्षीय पर्शुराम अर्यालले अनिवार्यबाहेकमा चुनाव खर्च नगर्ने बताएका छन् । जनप्रतिनिधि बन्नको लागि शिक्षण पेसा छाडेर आएका अर्यालले वडा अध्यक्ष पदमा आफूलाई जिताउन भन्दै जम्मा पाँच हजार खर्च गर्ने प्रतिवद्धता जनाए ।
‘खर्च गर्नैपर्ने ठाउँ उमेदवारी दर्तामा एक हजार, पर्चा छपाइमा तीन हजार र फ्लेक्समा एक हजार गरी जम्मा पाँच हजार रूपैयाँभन्दा बढी खर्च हुँदैन,’ उनले भने ।

अन्य उम्मेदवारहरूले ठूलो धनराशि नै खर्च गरेर मतदाता रिझाउने प्रयास गरिरहँदा भरतपुर–१८ को अध्यक्षका उम्मेदवार बनेका अर्याल भने आफ्नो योजनाकै आधारमा मतदाताले आफूलाई जिताउने दाबी गर्छन् ।

‘वडामा रहेका १२ वटा टोललाई गाभेर ६ वटा बनाउने र घरेलु तथा साना उद्योग सञ्चालन गर्ने, रासायनिक मलको कारखाना स्थापनाको लागि अध्ययन गर्ने र किसानलाई निःशुल्क तालिम, मल र बीउको व्यवस्था गर्ने, विपन्न विद्यार्थीलाई निःशुल्क इन्टरनेट (वाइफाइ)को व्यवस्था गर्ने मेरा चुनावी एजेण्डा हुन्,’ उनले भने, ‘यिनै एजेण्डाको आधारमा म चुनाव जित्छु भन्ने लागेको छ ।’

आफ्नो वडामा कुनै पनि परिवर्तन नभएपछि बाध्य भएर उम्मेदवारी दिनुपरेको उनले बताए । ‘स्थानीय सरकार आएको पाँच वर्ष बितिसक्दासम्म पनि हाम्रो वडामा कुनै परिवर्तन देख्न पाएनौँ,’ उनले भने, ‘त्यसैले मैले स्वतन्त्रतर्फबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको हुँ ।’

कानुनमा एलएलवी (स्नातक) र अंग्रेजीमा स्नातकोत्तर गरेका उनी यसअघि पार्वतीपुरस्थित अन्नपूर्ण कलेज, हिमालय बोर्डिङ, एपेक्स एकेडेमीलगायतमा अध्यापन गर्थे । अब वडामा जनप्रतिनिधि भएर जनताको सेवा गर्ने बाटो परिवर्तन गर्ने योजनासहित उम्मेदवारी दिएको उनले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट