भरतपुर,१३ वैशाख ।
गठबन्धनको तर्फबाट भरतपुरको मेयर नेकपा माओवादीकी रेनु दाहालले पाएपछि तिव्र असन्तुष्टि पोखिरहेका कांग्रेसका नेता तथा कार्यकर्ता फकाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुुटुक्क चितवन आएर काठमाडौँ फर्किएका छन् ।
आज बिहान चितवन आइपुगेका उनले भरतपुर महानगरपालिका–१० मा रहेको रेनु दाहाल निवासमा कांग्रेस र माओवादी नेताहरुसँग छलफल गरेर काठमाडौँ फर्केका छन् । नेकपा माओवादी चितवनका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले आज बिहान प्रचण्ड आएर नेता कार्यकर्तासँग भेटघाट गरको बताए । उनले भने ‘पारिवारीक भेटघाटका लागि आउनुभएको थियो फर्किहाल्नु भयो ।’
काँगेसका केही नेताहरुसँग भेटघाट गरेपनि काँग्रेसबाट बागी उम्मेद्वारी दिएका जगन्नाथ पौडेलसँग भने भेट नभएको उनले बताए ।
चितवनमा असन्तुष्ट कांग्रेसका तर्फबाट पूर्वसांसद पौडेलले मेयरमा बागी उम्मेदवारी दिएपछि रेनुको भोट घट्ने आकलन सत्ता गठबन्धनको छ ।
हिजो सोमबार गरिएको मनोनयन दर्तामा पनि ठूलो संख्यामा कांग्रेस नेता तथा कार्यकर्ता बागी उम्मेदवारको पक्षमा लागेका थिए ।




