भरतपुर, १३ वैशाख ।
चितवनमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । गठबन्धनमा रहेका अन्य दलहरूले जसपालाई महत्व नदिएको भन्दै गठबन्धनबाट अलग भएको जनाएको छ ।
जसपाले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनको राजनीतिक महत्व, हैसियत, मर्म र भावनाविपरीत काम गरेको आरोप लगाएको छ ।
गठबन्धनको बैठकमा आफूहरूलाई नबोलाइएको र २९ वटै वडामा अध्यक्षसहित सदस्यहरूमा मनोमानी ढंगबाट बाँडफाँट गरिएकाले गठबन्धनबाट बाहिरिएको जसपा भरतपुरका अध्यक्ष अनुज जोशीले बताए ।
उनले वडाध्यक्षसहित सदस्यहरूमा आफ्ना उमेदवारहरूलाई मित्रवत प्रतिस्पर्धामार्फत जिताउन आग्रह गरेका छन् ।





