भरतपुर, १३ वैशाख ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका वडा नम्बर २० मा नेपाली काङ्ग्रेसका पुराना नेता एकनारायण पौडेलले स्वतन्त्र रुपमा वडाअध्यक्षको उमेदवारी दर्ता गराएका छन् ।
२०३६ सालको वहुदल कि निर्दल भन्ने चुनाव देखि नै वहुदलीय चुनावी पक्षको आन्दोलनमा होमिएका एकनारायण पौडेलले २०४६ सालको सत्याग्रहको क्रममा जेलनेलको समेत अनुभव गरी सकेका छन् ।
२०३६ सालदेखि नेपाली कांग्रेसमा आवद्ध रहि हालसम्म क्रियाशील राजनैतिक जीवनमा रहेका पौडेलले आसन्न स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षमा हिजो उम्मेदवारी दर्ता गरेका हुन। विगत लामोसमयदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा क्रियाशील रहेका पौडेलले भीमनगर माविको भवन निर्माण समितिको संयोजक, चनौली बजार व्यवस्थापन समितिको कोषाध्यक्ष, गाई समूह भीमनगरको सल्लाहाकार, पौडेल बन्धु समाज धरमभकारीको अध्यक्ष एवं सल्लाहाकार, मालपोत कार्यालय चनौली स्थानान्तरण समितिको सदस्य, चनौली बजार बाटो विस्तार समितिका सदस्य, चनौली कुलो समितिको सल्लाहाकार र नेपाल रेडक्रस सोसाईटी उपशाखा चनौलीको निर्विरोध निर्वाचित पहिलो कार्यसमितिका अध्यक्षसमेत रहि विभिन्न संघ-सस्थामा योगदान दिएका छन् ।
नेपाली कांग्रेस पार्टीको १४औँ महाधिवेसनको क्रममा वडा नम्बर – २० को पार्टी प्रतिनिधि निर्वाचन समन्वय समितिको सदस्य समेत रहेर काम गरेका पौडेल हाल लायन्स क्लव अफ चनौलीको अध्यक्ष र गुन्जनगर खानेपानी समितिका निर्विरोध निर्वाचित संस्थापक अध्यक्ष हुन् । वडामा निष्पक्ष तवरबाट द्रुत विकासका लागि वडाध्यक्षमा आफ्नो दाबेदारी रहेको उनी बताउँछन् । `सबै पक्ष अनि पुस्तालाई समेटेर र आपसमा हातेमालो गरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता हो, यसका लागि म सदैव तत्पर छु´,
उमेदवारी कुन पार्टीबाट भन्ने कुरा प्राविधिक कुरा हो । जनताको सेवामा म समर्पित छु, चारतारे झन्डा कै छहारी मुन्तिर छु । यस पटक वडा नम्बर २० का सबैबाट सहयोग पाउनेमा विश्वस्त छु’ पौडेलले भने ।
पौडेल हाल सक्रिय रहेका विभिन्न संस्थाका सबै जिम्मेवारीहरुमा सर्वसम्मतरुपमा निर्वाचित भएका हुन् । सोही अनुसार यसपटकको स्थानीय चुनावमा वडा नम्बर- २० बाट वडाध्यक्षमा अत्यधिक मतले विजयी हुनेमा पौडेल आशाबादी देखिन्छन् ।
स्मरण रहोस्, वडा नम्बर २० को लागि नेकपा एमालेबाट देवबहादुर तामाङ्ग र काङ्ग्रेसबाट मुक्ती घलेले पनि उमेदवारी दर्ता गराएको कुरा निर्वाचन समितिको सूचनामा उल्लेख छ ।
उमेरको हिसावले पनि अन्य आकांक्षीहरुभन्दा अनुभवी एवम् पाको रहेको र वडा नम्बर- २० का स्थानीयसँग विगत ५० वर्षदेखि घुलमिल भै समाजसेवामा एककदम अगाडि रहेका पौडेल एक सफल सामाजिक व्यक्तित्व पनि हुन् ।





