भरतपुर, १३ वैशाख ।
स्थानीय तहको निर्वाचन अन्तर्गत वैशाख ११ र १२ गतेका लागि तोकिएको उम्मेदवार मनोनयन दर्ता देशका दुईचार ठाउँबाहेक सबैतिर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । देशभर ३५ हजार २ सय २१ पदका लागि एक लाख ४० हजारभन्दा बढी उम्मेदवारी परेका छन् । उम्मेदवार मनोनयन दर्ताको यो तथ्यांकले देश अब निर्वाचनमय भएको संकेत गरेको छ ।
चितवनका सात वटै पालिकामा स्थानीय तह निर्वाचनको उम्मेदवार मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । सबै पालिकामा पार्टीगत र स्वतन्त्र उम्मेदवारी परेका छन् । उम्मेदवारी दर्ता गर्न साना ठूला सबै पार्टी उत्साहका साथ सहभागी भए । अब वैशाख ३० गते हुने मतदानमा मतदाताले पनि यस्तै उत्साहका साथ मतदान गरे भने निर्वाचन सफल हुनेछ ।
भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा एमालेका तर्फबाट विजय सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् । सुवेदीले उम्मेदवारी दर्ता गराउन जानुपूर्व बिपी कोइराला, मदन भण्डारी र जीवराज आश्रितको शालिकमा फूल चढाएका थिए । राप्रपासँग चुनावी तालमेल गरेको एमालेले उपमेयरमा उम्मेदवारी दर्ता गराएन । उपमेयर पदमा राप्रपाकी हिमाला गुरुङको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको तर्फबाट मेयरमा नकेपा माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दर्ता गराएकी छिन् भने उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीको उम्मेदवारी परेको छ ।
नेपाली कांग्रेसको असन्तुष्ट समूहको नेतृत्व गर्दै भरतपुरको मेयरमा पूर्वसांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । चारतारे झण्डासहित जुलुस निकालेर पौडेल उम्मेदवारी दर्ता गराउन पुगेका थिए । भरतपुरको मेयरमा कांग्रेसका मोहितजंग पाण्डे र उपमेयरमा भोजराज कौडालले पनि स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराएका छन् ।
ठूला दलका उम्मेदवार मात्र नभई साना दलका उम्मेदवारले पनि उत्साहपूर्वक उम्मेदवार मनोनयन दर्ता गराएका छन् । विवेकशील साझा पार्टीको तर्फबाट भरतपुरको मेयरमा प्रवीण काफ्ले र उपमेयरमा पुष्पा सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु ईरिक्सा चढेर उम्मेदवार मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । विप्लव नेतृत्वको नेकपाका नेता दुर्गाप्रसाद शर्माले पनि भरतपुर महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनी पार्टीको भरतपुर महानगर इन्चार्ज हुन् । राष्ट्रिय जनमोर्चाको तर्फबाट भरतपुरको मेयरमा भक्तिराम गौतम र उपमेयरमा देवी शर्माले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट बाहिरिएको जनमोर्चाले भरतपुरको मेयर र उपमेयरमा उम्मेदवारी दिएको छ ।
चितवनका अन्य ६ वटा पालिकामा पनि उम्मेदवारी दर्ता उत्साहपूर्ण नै रह्यो । अब प्रचारप्रसारसँगै चुनावी रौनक बढ्ने देखिन्छ ।





