भरतपुर,११ वैशाख ।
नेकपा एमालेको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेका विजय सुवेदीले २४ पृष्ठ लामो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । पाँच वर्षे कार्यकालको लागि ल्याएको महत्वकांक्षी प्रतिबद्धताभित्र रेल सञ्चालनदेखि अपूरो रंगशाला निर्माणसम्मका प्रतिबद्धताहरू छन् ।
भरतपुर–रामपुर–मेघौली तथा भरतपुर–गीतानगर–जगतपुर जस्ता महानगरका मुख्य रुटहरूमा ट्रली बस, ट्राम तथा शहरी रेल प्रणालीको सम्भाव्यताबारे अध्ययन गर्ने, र सम्भव देखिएमा क्रमिक रूपमा कार्यान्वयन गर्ने जस्ता कुरालाई उनले प्राथमिकतासाथ समेटेका छन् ।
त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाको निर्माण कार्यमा भएको गतिरोध अन्त्य गरी निर्माण सम्पन्न गर्न विशेष अभियान चलाइने र प्रदेश तथा संघीय सरकारसँगको सहकार्यमा सम्पन्न गरिने उनको योजना छ । लामो समयदेखि समाधान गर्न खोजीएको
भरतपुर विमानस्थललाई स्थानान्तरण गर्ने कामलाई पनि सुवेदीले प्राथमिकतामा राखेका छन् ।
त्यस्तै उनले नारायणी नदीमा रहेको हालको पुलको विकल्पमा सिग्नेचर पुल निर्माण सम्भाव्यताको अध्ययन गरी नवलपुरसँग जोड्ने गरी थप पुलको व्यवस्था मिलाउन समन्वय गरिने योजना समेत अघि सारेका छन् । स्वास्थ्यतर्फ सुवेदीले सरकारी अस्पतालको समन्वयमा महानगरवासीहरूको नियमित स्वास्थ्य जाँच गराउने प्रतिबद्धता पनि गरेका छन् । सुवेदी भरतपुर अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष पनि हुन् । विपन्न वा निरपेक्ष गरिब परिवारको पहिचान गरेर अभिलेख तयार पारी त्यसका आधारमा परिचयपत्र दिने र गरिबीको रेखामुनिका नागरिकलाई शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, यातयातमा विशेष सहुलियतको प्रबन्ध गरिने सुवेदीको प्रतिबद्धतापत्रमा उल्लेख छ ।




