भरतपुर, ११ वैशाख ।
चितवन साहित्य परिषद्को अध्यक्षमा साहित्यकार केदारनाथ खनाल चयन भएका छन् । सुरेन्द्र अस्तफलको अध्यक्षतामा शनिबार परिषद् भवन नारायणगढमा सम्पन्न १२औँ साधारणसभा तथा अधिवेशनले परिषद्का संस्थापक समेत रहेका पूर्व अध्यक्ष खनाललाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा गणेश श्रमण, सचिवमा शान्ति शर्मा, कोषाध्यक्षमा पदमप्रसाद अर्याल र सहसचिवमा नवराज ढुङ्गाना चयन भएका छन् ।
त्यसैगरी कार्यसमितिको सदस्यहरूमा बालकृष्ण थपलिया, सरला जोशी, विश्वनाथ खनाल, मित्रराज घिमिरे र कमल कँडेल प्रकृति चयन भएका निर्वाचन सहजीकरण समितिका संयोजक गोविन्दराज विनोदीले जानकारी दिए ।
कार्यक्रममा परिषद्का पूर्व अध्यक्ष तथा सल्लाहकारहरू प्रेमविनोद नन्दन, केदारनाथ खनाल, श्रीभक्त अच्युत वाग्ले,गायत्री श्रेष्ठ, गोविन्दराज विनोदी, श्यामजी अतिथि, केशवकुमार श्रेष्ठलाई चिसाप साहित्य सम्मान २०७९ बाट सम्मान गरिएको थियो ।
अधिवेशनले सचिव बालकृष्ण थपलिया र कोषाध्यक्ष नवराज ढुङ्गानाको प्रतिवेदन समेत पारित गर्दै आगामी कार्यक्रमहरु पारित गरेको छ ।
चिसापका संस्थापक समेत रहेका अग्रज साहित्यकार रामबाबु घिमिरेको प्रमुख आतिथ्यमा सञ्चालित १२ औं अधिवेशनको उद्घाटन समारोहमा त्रिवेणी साहित्य प्रतिष्ठानका अध्यक्ष प्राडा नारायणप्रसाद खनाल, भैरव वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्राडा कपिल अज्ञात, बलराम वाङ्मय प्रतिष्ठानका अध्यक्ष पूर्णप्रसाद अधिकारी, भाषा कला साहित्य प्रतिष्ठानका अध्यक्ष डा एकनारायण पौड्याल, कविडाँडा साहित्य समाजका उपाध्यक्ष उदय अधिकारी, अभिव्यञ्जना साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष रमेश प्रभात, हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलि, परिषदका संस्थापक सदस्य भागवतशरण न्यौपानेलगायतका वक्ताहरूले नेपाली भाषा साहित्यको उत्थान, परिषद्ले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझै प्रभावकारी कार्यक्रम सञ्चालन गर्न शुभेच्छा प्रकट गरेका थिए ।





