भरतपुर, ६ वैशाख।
भरतपुर महानगरपालिका–६ गीतानगरकी इन्दिरा तामाङले सानो रकमको लागि जहिले पनि श्रीमानको आस गर्नुपथ्र्यो । घरायसी काममा मात्रै व्यस्त हुँदा उनले आयआर्जन गर्दैनथिन् । तर अहिले उनको जीवनले कोल्टे फेरेको छ । घरको कामसँगै दाम पनि कमाउन थालेपछि इन्दिराको आत्मविश्वास बढेको छ ।
तीन महिनाअघि उनले फोहोरबाट विभिन्न सामग्री बनाउने तालिम लिने अवसर पाइन् । भरतपुर महानगरले दिएको तालिमलाई उनले अवसरको रुपमा लिएर दत्तचित्तका साथ सिकिन् । अहिले त उनी प्लाष्टिकजन्य फोहोरबाट सामग्री बनाउने मात्रै होइन, अरुलाई सिकाउन पनि थालेकी छिन् । उनी भन्छिन्, ‘पहिले फोहोर व्यवस्थापनको उपाय थाहा नहुँदा नगरपालिकाको गाडीमा सबै पठाइयो । अहिले फोहोरको छनोट गर्छु कुहिने फोहोरलाई मल र नकुहिनेलाई प्लास्टिकजन्य फोहोरबाट सामग्री बनाउएर बेच्न पनि थालेकी छु ।’
उनले प्लाष्टिकबाट फूलदानी, गमला, ह्याट, इयररिङ लगायतका विभिन्न चिटिक्कका सामग्री बनाइराखेकी छिन् । मंगलबार भरतपुर महानगरपालिकाले आयोजना गरेको वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापन सम्बन्धी वृहत प्रदर्शनीमा सहभागी हुन आएकी उनले सबै जागरुक भएमा फोहोर न्यूनीकरणसँगै आयाआर्जन समेत गर्न सकिने अनुभव साटिन् । ‘पहिले मैले नै श्रीमानसँग पैसा माग्नुपथ्र्यो । अहिले फोहोरबाट सामग्री बनाउन थालेपछि साँच्चै मोहोर आउन थालेको छ । कसैसँग हात थाप्नुपर्दैन घरव्यवहार चलाउन पनि सजिलो भएको छ’ उनले आफ्नो अनुभव सुनाउँदै भनिन् ।
मंगलबार उद्योग वाणिज्य संघमा आयोजित फोहोरमैला व्यवस्थापन सम्बन्धी वृहत प्रदर्शनीमा तामाङको छिमेकी टोल संस्थासहित २१ वटा समूहको सहभागिता रहेको थियो । सोही प्रदर्शनीमा सहभागी भरतपुर–१ की सुष्मा पिया पनि फोहोर व्यवस्थापनमा संवेदनशील छिन् । कुहिने फोहोरलाई कम्पोष्ट मल बनाएर उनले आफूलाई पुग्ने तरकारी खेती गरेकी छिन् ।
कौसीमा तरकारी लटरम्म फलाएको उनले बताइन् । ‘एक महिनामा नगरपालिकाको फोहोर संकलन गर्न नाआए पनि केही फरक पर्दैन, नकुहिने फोहोर पुनः प्रयोग ग¥यो, कुहिनेको मल भइहाल्छ’ उनी ढुक्क सुनिन्छिन् ।
भरतपुर–१० स्याउलीबजारका बाबुराम कँडेलले फालिएका टायरबाट गमला बनाएर तरकारी खेती गरिराखेका छन् । बाटोमा फालिएको टायरमा जम्मा भएको पानीले डेङ्गु निम्ताएपछि उनले त्यसलाई व्यवस्थापनको उपाय लगाएर गमला बनाए । ‘टायरमा जमेको पानीले गर्दा डेङ्गुले टोल नै बिरामी भएपछि मैले गमला बनाउन थालेँ । अहिले त्यसैमा तरकारी लगाउन थालेको छु’ उनले भने ।
घरमा महिलालाई मात्रै फोहोर व्यवस्थापनको जिम्मेवारी दिइएको बताउँदै पुरुषले पनि उत्तिकै भूमिका खेल्नुपर्ने उनको तर्क छ । कुहिने र नकुहिने फोहोरलाई छुट्याएर विभिन्न सामग्री र कम्पोष्ट मल बनाइरहेको उनले बताए । ‘अहिले मैले सिक्दै छु, सिकेपछि व्यावसायिक हिसाबले पनि गर्ने सोच्दै छु’ उनले भने ।
उत्कृष्ट समुह पुरस्कृत
भरतपुर महानगरपालिकाले फोहोर व्यवस्थापनमा उत्कृष्ट काम गरेका समूहलाई मंगलबार पुरस्कृत गरेको छ । वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापन सम्बन्धी वृहत प्रदर्शनीमा सहभागी भएका २१ वटा समूहमध्ये पाँच वटा समूहलाई पुरस्कृत गरिएको हो । प्रदर्शनीमा भान्साबाट निस्कने नकुहिने फोहोरबाट बनाइएका विभिन्न हस्तकलाका सामग्री चकटी, व्याग, किरिङ, फूलदानी, फालिएका टायरबाट बनाइएका कुर्ची, घडीलगायत राखिएको थियो ।
प्रदर्शनीमा भरतपुर महानगरपालिका–९को मिलन सचेतना महिला समूह प्रथम भएको थियो । भरतपुर–२ को आनन्द अभिभावक आश्रम द्वितीय, भरतपुर–१० को स्याउली बजार टोल तृतीय, महाकालेश्वर टोल विकास संस्था र निलगिरी टोल भरतपुर–११ ले सान्त्वना पुरस्कार हात पारे । उनीहरुलाई भरतपुर महानगरकी मेयर रेनु दाहाल, उपमेयर पार्वती शाह ठकुरीले प्रमाणपत्रसहित कृषिजन्य सामग्री हस्तान्तरण गर्दै सम्मान गरेका थिए ।

मेयर दाहालले महानगरमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै फोहोर व्यवस्थापनमा पहिलो जिम्मेवारी घरपरिवारको रहेको बताइन् । भरतपुर महानगरलाई हराभरा र स्वच्छ महानगर बनाउन घरबाटै फोहोर व्यवस्थापन गर्नका लागि टोलटोलमा तालिमहरु दिइरहेको उनले जानकारी गराइन् । दीर्घकालीन फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल साइट बनाउन कोरियन कम्पनीसँग सम्झौता भए पनि कोरोनाको कारण काम अगाडि बढ्न नसकेको मेयर दाहालले बताइन् ।
उपमेयर ठकुरीले घरबाट निस्कने जैविक र अजैविक फोहोरलाई मोहोरमा परिणत गर्न ढिला गर्न नहु््ने बताइन् । फोहोरलाई व्यवस्थापन गर्न सकेमा विभिन्न रोगहरुबाट समेत बच्न सकिने उनको तर्क थियो । देशकै केन्द्रभागमा रहेको भरतपुर महानगर स्वच्छ हराभरा बनाउन सबै क्षेत्रले उत्तिकै भूमिका खेल्नुपर्ने उपमेयर शाहको भनाइ थियो ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले हरेक व्यक्तिले आफ्नो दायित्व, जिम्मेवारी र कर्तव्य निर्वाह गरे मात्र स्वच्छ वातावरणको आकांक्षा पूरा हुने बताए ।
भरतपुर महानगरपालिकाका प्रवक्ता अरुण पीडित भण्डारीले व्यक्तिगत शृंगारमा ध्यान दिएजस्तै परिवार, घर, छिमेक, गाउँलाई सुन्दर बनाउन पनि ध्यान दिन अनुरोध गरे ।
भरतपुर महानगर वातावरण शाखाकी अधिकृत जानुका केसीले चालू आ.वमा ३४ वटा समूहरटोल विकास संस्थालाई जैविक र अजैविक फोहोर व्यवस्थापनको तालिम दिइसकेको जानकारी गराइन ।
उनले तालिमपश्चात त्यसको प्रभावकारीताबारे बुझ्न र फोहोर व्यवस्थापनमा लाग्न थप हौत्सला प्रदान गर्न महानगरको तर्फबाट आजको प्रर्दशनी कार्यक्रमा आयोजना गरिएको बताइन् ।
नेपाल विकास समाजका कार्यक्रम संयोजक सागर कार्कीले पाप पखाल्न नदीमा डुबुल्की मार्नेहरुबाटै नदी किनार दूषित भएको गुनासो गरे । फोहोर मैलो व्यवस्थापन गर्ने ठाउँ वा फाल्ने ठाउँ नदी किनार हुन नहुने उनको भनाइ छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठलगायतका सरोकावालाहरुको उपस्थिति रहेको थियो ।





