भरतपुर, ६ वैशाख ।
महानगरको भागबन्डा मिलाउने बिसयमा बसेको सत्तारुढ गठबन्धनको बैठकले अहिलेसम्म कुनै निर्णय लिन सकिरहेको छैन । बालुवाटारमा दिउँसोदेखि जारी सत्ता गठबन्धनको बैठकले भागबन्डाको कुरा लगभग मिलिसकेको बताए पनि औपचारिक सहमति सार्वजनिक भैसकेको छैन । बैठक आज राति १० बजे फेरि बस्ने बताइएको छ ।
बैठकमा महानगरको भागबण्डाबारे सैद्धान्तिक सहमति भने जुटेको बताइएको हो । यद्यपि, औपचारिक सहमति भने हुन बाँकी रहेको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।
महानगरपालिकाहरुमा कुन दलले प्रमुख र उपप्रमुख पाउने भन्ने विषयमा सैद्धान्तिक सहमति जुटेको बताइएको छ । जसअनुसार काँग्रेसले ६ मध्ये तीनवटा महानगरको नेतृत्व लिने तथा अन्य दलले एक एकवटा महानगरको नेतृत्व लिने गरी सहमति भएको बताइएको छ ।
त्यस्तै, अन्य दलले पाएका महानगरमा काँग्रेसले उपप्रमुख पाउने र काँग्रेसले पाएका महानगरमा अन्य दलले उपप्रमुख पाउने सैद्धान्तिक सहमति पनि जुटेको छ । यसबारे ठोस सहमतिमा पुग्न आज नै बैठकमा बस्ने सरकारका प्रवक्ता तथा काँग्रेस नेता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
आजको बैठकमा काँग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर गरी तीन महानगरको प्रमुख पाउने, माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादी पार्टीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगर पाउने गरी दलहरू सहमति नजिक पुगेका बताइएको छ । त्यस्तै, अन्य दलले पाएका महानगरमा काँग्रेसले उपमेयर पाउने र काँग्रेसले पाएको काठमाडौँमा एकीकृत समाजवादीले, विराटनगरमा जसपाले र ललितपुरमा ललितपुर माओवादीले उपमेयर पाउने गरी सैद्धान्तिक सहमति जुटेको नेताहरुले जानकारी दिएका छन् ।





