गैँडाकोट नगरपालिका–५ मा रहेको जनक नमुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफैँ पढ्ने विद्यालयमा व्यापक तोडफोड र आगजनी गरे । विद्यालयका शिक्षक र प्रधानाध्यापकका मोटरसाइकलसँगै फर्निचर पनि जलाए । शान्तिसुरक्षाका लागि खटिएका प्रहरीमाथि ढुंगामुढा गरे ।
कारण जेसुकै भए पनि शान्तिक्षेत्र मानिएको विद्यालयमा स्वयं विद्यार्थीहरुबाट तोडफोड र आगजनीका घटना हुनु निन्दनीय काम हो । यस्ता घटनाले हिंसा बढाउने काम मात्र गर्छ । यस्ता घटना हुनुमा मोबाइलमा खेलिने पब्जी र फ्रिफायर जस्ता हिंसात्मक खेलहरु पनि केही हदसम्म जिम्मेवार छन् । यी यस्ता खेल हुन् जसले हिंसा सिकाउँछन् । यी खेल मोबाइलमा खेलिन्छ, खेलमा मार्ने र मर्ने काम हुन्छ । यस्ता खेलको लतमा परेपछि उनीहरुको मनोविज्ञान हिंसात्मक बन्न पुग्छ । जनक माध्यमिक विद्यालयमा देखिएको तोडफोडको घटनाले यही बताउँछ ।
विद्यालयका शिक्षकले १२ कक्षामा अध्ययनरत एक जना छात्रालाई अश्लील भिडियो देखाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि विद्यालय परिसर तनावग्रस्त बन्यो । पठनपाठन रोकियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गर्यो । विद्यालय तनावग्रस्त बनेपछि विद्यार्थीलाई घर पठाइयो । आइतबार बिहान आरोपित शिक्षक र पीडित भनिएकी छात्रासहित विद्यालयमा छलफल चलिरहेका बेला शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रिए । न्यायका लागि प्रदर्शनमा उत्रिनु सामान्य कुरा हो, तर हिंसात्मक प्रदर्शनमा उत्रिनु गलत हो । कुनै पनि बहानामा हिंसालाई छुट दिन सकिँदैन । यो कुरा प्रत्येक विद्यार्थी र तिनका अभिभावकले बुझ्न जरुरी छ ।
आन्दोलनरत विद्यार्थीहरुका अनुसार गएको चैत २८ गते बिहान विद्यालयमा कम्प्युटर विषय पढाउने एक शिक्षकले १२ कक्षामा अध्ययनरत ती छात्रालाई कम्प्युटर ल्याबमा लिएर गई अश्लील भिडियो देखाएर यौन दुर्व्यवहारको प्रयास गरेका थिए । यस विषयमा पीडित भनिएकी छात्राले मुख खोलेकी छैनन् । पछि प्रहरीमा उजुरी परेपछि आरोपित शिक्षक पक्राउ परेका छन् । कुनै पनि घटनामा न्यायका लागि निश्चित प्रक्रिया छन् । ती प्रक्रिया पूरा गर्दागर्दै पनि न्याय पाइएन भने बल्ल प्रदर्शनमा उत्रिने हो । प्रदर्शनमा उत्रिँदा पनि हिंसात्मक बन्न भने पाइँदैन ।
कानुनी राज्यको सम्मान गर्नु प्रत्येक नागरिकको कर्तव्य हो । भिडका नाममा कानुन हातमा लिने काम गलत छ । हिंसात्मक गतिविधि गलत छ । भविष्यमा यस्तो घटना कतै नहोस् । विद्यालयकी छात्रा यौन दुर्व्यवहारमा परेकी हुन् भने दोषी शिक्षकमाथि कारबाही होस् । सबै पक्षले संयमता नगुमाऔँ ।





