भरतपुर, ३ वैशाख ।
२७औं वन्यजन्तु सप्ताहको अवसरमा भरतपुर महानगरपालिका वडा नम्बर १३ को सहयोगमा राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियानले शनिबार आयोजना गरेको सरसफाइ कार्यक्रमका सहभागीले राप्ती नदी र नारायणी नदीलाई संरक्षण गर्न आवश्यक रहेको बताएका छन् ।
ढुक्कसँग पानी पिउन सकिने चितवनका दुइ ठुला नदीहरु आज प्रदुषण हुन थालेकाले उनीहरु चिन्तित बनेका हुन् । मानिससँगै वन्यजन्तु पनि रमाउने नदीहरु उपयोगहिन हुनसक्ने भन्दै नदीमा ढल र फोहोर नफाल्न आफूहरु अभियानमा जोडिइरहने बताएका छन् ।
टोलसुधारका तर्फबाट धनु स्मृति टोल विकास संस्थाका अध्यक्ष हरिकृष्ण सुवेदीले नदी र वन्यजन्तुको चरण भएको स्थानमा फोहोर नगर्न, घरबाट निस्केका फोहरहरु जथाभाबी नफाल्न अनुरोध गरे । बाटुलीपोखरी मध्यवर्ती वन समूहका अध्यक्ष ज्ञानु सुनारले महिलाहरूलाई आफ्नो घर भित्रैबाट फोहोर जन्य पदार्थको उचित व्यवस्थापन गर्न, वर्गीकरण गर्न र सफाइ अभियानमा सक्रिय हुन अनुरोध गरिन् । माध्यमिक विद्यालय गंगानगरका प्रधानाध्यापक गणेश सुवेदीले पर्यावरण संरक्षणमा विद्यालय स्तरबाट विद्यार्थी र शिक्षकलाई सहभागी गराई परिणाममुखी कार्यक्रम संचालन गर्न आफू पनि तयार गएको बताए ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा पटिहानीका सभापति कृष्णहरि शर्माले वन्यजन्तुबाट घाइते हुनेहरुलाई रेडक्रस मार्फत नि:शुल्क एम्वुलेन्स सेवा प्रदान गरिरहेको बताए । सभापति घिमिरेले राप्ती र नारायणी नदी जोगाउन गरिएको सरसफाइ अभियानले आफूलाई आकर्षण गरेको बताउँदै वन्यजन्तु संरक्षणमा सरसफाइ अत्यन्त महत्वपूर्ण रहेको बताए । पटिहानी उपभोक्ता समितिका अध्यक्ष शंकर महतोले वन्यजन्तुको हितमा सबै सरोकारवालाहरु एक भएर लाग्न प्रेरित गरे । समुदायका अगुवाहरुबाट हुने वन ,नदी र वन्यजन्तु जोगाउने सबै खाले कार्यक्रमलाई आफ्नो सहयोग रहने उनले बताए ।
कार्यक्रमका विशिष्ट अतिथि चितवन राष्ट्रिय निकुञ्ज कसराका सहायक संरक्षण अधिकृत राजु घिमिरेले वातावरणीय सन्तुलनका लागि जीवनसँगै वन्यजन्तुको रक्षा गर्नु हामी सबैको दायित्व भएको बताउँदै कर्मचारी, सेना र समुदाय मिलेर शुन्य शिकारीको परिणाम सम्भव भएको उल्लेख गरे । चितवन राष्ट्रिय निकुञ्जको आम्दानीबाट मध्यवर्ती वरपरका बासिन्दाहरुलाई बेलाबेलामा वन्यजन्तुको आक्रमणबाट हुने गरेको क्षतिमा राहात दिने गरिएको घिमिरेले बताए । पृथ्वी सबैको साझा घर भएकाले सहअस्तित्वको भावले सबैको हित हुने उल्लेख गरे । `मृगहरु प्रशस्त हुनु, तराइमा बाघ देखिनु घाँसे मैदानको व्यवस्थापन राम्रो छ भन्ने हो, नदीमा घडीयाल देखिनु नदी सफा छ भन्ने बुझिन्छ´ घिमिरेले भने । नारायणीमा डल्फिन देखिनुले नदी अझै नबिग्रेको तर खतराउन्मुख रहेकोमा अधिकृत घिमिरेले सचेत रहन र नदी जोगाउने अभियानमा लाग्न आग्रह गरे । राष्ट्रिय निकुञ्ज वरपरका बासिन्दाहरुलाई वन्यजन्तु देखाएर रोजगार सिर्जना गरी आत्मनिर्भर बनाउन सकिनेमा जोड दिए ।
चितवनका दुई प्रमुख नदी जोगाउन अभियान सञ्चलनमा आएकोमा खुशी व्यक्त गर्दै यस अभियान र यसका समर्थकहरुलाई धन्यबाद व्यक्त गरे । वेल शहर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष शोभाखर अधिकारीले स्वागत मन्तव्य राख्दै वन प्रवेश गर्नेहरुलाई जथाभावी फोहोर नगर्न अनुरोध गरे ।अभियानका संयोजक एवम् कार्यक्रमका सभापति अपिल घिमिरेले यस अभियानले राप्ती र नारायणी जोगाउन थप योजना बनाइ कार्यक्रम गरिने बताए ।
२७औं वन्यजन्तु दिवसको तेस्रो दिनको सो कार्यक्रममा खड्गदल गण कसरा व्यारेक, पटिहानी पर्यटक प्रहरी,भरतपुर १३ का विभिन्न टोल सुधारका प्रमुख एवम् प्रतिनिधि सिबिएपियु पटिहानीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण थानप्रसाद सुवेदीले गरेका थिए ।




