भरतपुर, ३ वैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले शुक्रबार भएको आमसभास्थलमा सरसफाई गरेको छ । केन्द्रीय बस टर्मिनल (पारस बसपार्क)को खुला चौरबाट झण्डै २० बोरा फोहर संकलन गरिएको राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालले जानकारी दिए ।
ढकालका अनुसार चौरमा रहेका कागज, प्लाष्टिकहरु टिपेर व्यवस्थापन गरिएको हो ।
जिल्ला कोषाध्यक्ष दिनेश अधिकारीले करिब २ घण्टा लगाएर सरसफाई गरिएको बताए । राप्रपा क्षेत्र नम्बर ३ का अध्यक्ष मदनप्रसाद पौडेलले चौरमा शनिबार पनि पानी ट्याङकरको प्रयोग गरी धुलो व्यवस्थापन गरिएको बताए ।
आमसभास्थलको सहज अवलोकन गर्न मिल्ने गरी ५ दिन लगाएर चौर सम्याउने र सफाई गरिएको थियो । राप्रपा चितवन प्रदेश ३ (ख) का अध्यक्ष रामकृष्ण क्षेत्रीले राप्रपाका जिल्ला पदाधिकारी, युवाहरुको सक्रियतामा सफाई गरिएको बताए ।
जिल्ला प्रवक्ता राजु भण्डारीले शुक्रबारको आमसभामा २५ हजार सर्वसाधरण उपस्थित भएको अनुमान गरिएको बताए ।





