त्यो चितवन, त्यो चुनाव र ती काँग्रेसीहरु

सराङघाटमा डुंगा तरेर गढी उक्लेपछि गाइघाट आउने रहेछ । गाइघाट तरेर त्रिशुली किनारैकिनार रामनगर पुगेपछि चितवन नजिकिएको छनक मिल्यो । त्यहाँबाट नारायणगढ पुग्दा भने चितवन नै हरायो । त्यहाँ सबै खरले छाएका, सिठाले बारेका घर, त्यसैमा पसल । नुनका बोरा र मट्टीतेलका टिन बाहिरै राखेका । चुरोट, चिनी, कपडा बेच्न राखिएका पसलको कुनैकुनै घर टिनले छाएका पनि थिए । त्यस्तो बजार पो भेटियो ।
यो २०१६ साल पुसको सुरुतिरको दृश्य हो ।

०००

अहिलेको जस्तो महङ्गो प्रचार थिएन । गाउँका प्रतिष्ठित व्यक्तित्वहरुलाई वडावडामा बोलाएर अहिले फलनालाई भोट हाल्नु पर्दछ भन्दा धेरैले मान्थे । उम्मेदवार हुँदा मेरो खल्तीमा पाँच मोहर थियो । चुनाव जितेर हेर्दा तीन मोहर बाँकी नै थियो । त्यसरी बनेँ म गाउँ पञ्चायतको प्रधानपञ्च ।
यो २०२९ सालको चुनावको कुरा हो ।

०००
‘अब बिपी बाबु आउँदै हुनुहुन्छ । उहाँलाई त सिध्याइहाल्छन् । हामीलाई पनि त्यही घानमा पारेर सिध्याउँछन् । त्यसैले बिपीलाई कारवाही हुनु पर्छ भनेर पहिल्यै कागज तयार गरे जोगिन सकिने छ भनेर कागज लेखिएको छ । त्यसमा तपाइँको हस्ताक्षर गर्नु पर्ने छ ।’ मलाई भीमबहादुरजीको यो भनाइले पुरै आवेगमा ल्यायो । बिपीलाई कारवाही गर्न हुन्न भनेर कागज लेख्नु पर्नेमा मण्डलेहरुको मतियार भएर कारवाहीको सिफारिस गर्ने ? कसले दियो त्यो अधिकार ?
काँग्रेस र बिपीलाई गाली गरेरै धेरैले आफ्नो राम्रो बन्दोबस्त गरेका थिए । भीमबहादुरजी पनि कम्युनिष्ट नै भएकाले त्यो काम गर्नुभयो होला । तर जो सधैँ काँग्रेस थिए, प्रजातन्त्रका लागि ठूलाठूला खतरा मोलेर पञ्चायतमै रहेर त्यसको विरोधमा लाग्थे, तिनीहरुको समेत हस्ताक्षरले म चिन्तित भएँ ।’
यो राष्ट्रिय मेलमिलापको नीति लिएर भारतबाट बिपी कोइराला नेपाल फर्कने भएपछि २०३३ साल पुसतिर भएको घटना थियो । पञ्चायतकालमा प्रधानपञ्च भएका काँग्रेसहरुले नै बिपीलाई कारवाही गर्नु पर्दछ भनेर लेख्दै हस्ताक्षर गर्न थालेछन् । आखिर को थिए त ती काँग्रेसीहरु ?

०००

अहिले सक्रिय राजनीतिमा नदेखिए पनि कृष्णलाल सापकोटा चितवनको राजनीतिमा सामान्य चासो राख्ने व्यक्तिका लागि समेत परिचित नाम हो । काँग्रेस पार्टीको पूर्व जिल्ला सभापति समेत रहेका सापकोटा बहुदलको पुनर्बहालीपछि पहिलो पटक भएको २०४९ सालको स्थानीय निर्वाचनबाट निर्वाचित तत्कालीन चितवन जिल्ला विकास समितिको पहिलो सभापति पनि हुन् ।
१९९५ सालको चैत १४ गते म्याग्दीको फूलबारी गाउँमा जन्मेका सापकोटा उतै हुँदा नै राजनीतिमा भिजेका थिए । उनै सापकोटा चितवन झर्ने सोचले यात्रामा निस्के । यतै बसे र राजनीतिमा नै जीवन बिताए ।
आफ्नो बाल्यकाल र जीवन वृतान्त समेटेर सापकोटाले ‘जीवन यात्रा’ नामक पुस्तक प्रकाशित गरेका छन् । २०७३ सालको पुसमा निस्केको यो पुस्तक भने यो वर्ष अर्थात २०७८ सालको चैत १४ गते साँझपख मेरो हात प¥यो । सापकोटाको जन्मदिनमा उनको पुस्तक मेरो हात पर्नु संयोग नै थियो ।
यो पुस्तकको विमोचन कार्यक्रममा म पनि पुगेको थिएँ । त्यो बेला पुस्तकमा समेटिएका विषय प्रसंगहरुका बारेमा रमाकान्त सरले चर्चा गर्नु भएको थियो । चितवन काँग्रेसका विभिन्न नेताहरुका बारेमा हामीले देखे जानेको भन्दा अलग तस्बिर छ भन्ने कुरा चलेको थियो । त्यसैले त्यो किताब संग्रहणीय हुने ठानेर उति बेलै लिन खोजेको थिएँ । सायद त्यो बेला सीमित प्रति थियो कि रु प्राप्त हुन सकेन । बजारतिर पनि पाइएन ।
रमाकान्त सापकोटा सरको हालै मात्रै ‘शिक्षाका आयाम’ नामक पुस्तक आएको छ । हाम्रो सिर्जनाले प्रकाशित गरेको सो पुस्तक डिआर पोखरेल सरले उनको घर गएका बेलामा मलाई थमाउनुभयो । सो पुस्तकमा विभिन्न लेख समेटिएका छन् । रमाकान्त सरले ‘जीवन यात्रा’ विमोचनमा गरेको चर्चा पनि सो पुस्तकमा रहेछ । त्यो पढेपछि म फेरि पुस्तकको खोजीमा लागेँ ।

०००

कृष्णलालजीलाई मैले धेरै लामो समयदेखि ख्याल गरेको थिएँ । ५२÷५३ सालतिरको कुरा हुनु पर्दछ । मेरो एकजना साथीको मितको बिहे थियो । म र साथी जन्त गएका थियौं । साथीको मितको घर किरणगञ्जतिर हो क्या रे । जन्त भने थुम्सी गैंडाकोट गएका थियौं । त्यो बिहेमा एकजना हेर्दा हँसिला, चिटिक्कका पाका मान्छे पनि जन्ती बनेर आएका थिए । कृष्णलाल सापकोटा उनै थिए । सापकोटा चितवन जिविसको सभापति भइसकेपछिको कुरा हो यो । सापकोटा साथीको मितका आफन्त पर्दा रहेछन् ।

पछि चितवन बसेर पत्रकारिता गर्न थालेपछि त उनको सम्मुख धेरै नै परियो ।
गेष्टहाउसचौरमा ५७÷५८ सालतिर एउटा महायज्ञ भएको थियो । सहिद मञ्च बनाउन बजेट जुटाउने उद्देश्यले त्यो महायज्ञ भए झैँ लाग्छ । बद्री तिमिल्सिना त्यो बेला हर्ताकर्ता थिए । सापकोटा मुख्य कर्ता जस्ता लाग्थे । त्यो महायज्ञको समापनमा सापकोटाले गरेको भाषण अहिलेसम्म पनि मलाई याद छ ।

उनले भनेको एउटा वाक्य यस्तो थियो ‘१८ सालमा यहाँ धेरैलाई पञ्चे सरकारले अनाहकमा मा¥यो । मारेर कुनै विधिविधान बिना पु¥यो । तिनको आत्मा भड्केको पो छ कि भन्ने लाग्थ्यो । यो यज्ञले उनीहरुको आत्मालाई पनि शान्ति मिल्ने छ ।’
तर कृष्णलाल जीसँग मेरो चिनजान एकोहोरो जस्तै हो । उनले मलाई ख्याल गरेको कुनै संकेत कहिल्यै पाइएन । त्यसैले कृष्णलालजीलाई नै भेटेर कसरी किताब लिने रु यो कुरामा उद्धव लोहनीजीको सहयोग रह्यो । र, साँझपख सापकोटाजीको निवास बेलचोक छिरेर बिनाभलाकुसारी किताब लिएँ ।

किताब पढ्दै गर्दा ४६ सालको जनआन्दोलनमा त्यो घर पञ्चायती शासकको तारो बनेको रहेछ भन्ने कुरा खुल्यो । र, खुल्दै गए चितवनका अनेक पाटाहरु, राजनीतिका घटनाक्रमहरु । नेताका चरित्रहरु, सापकोटा स्वयंका संघर्ष र योगदानहरु ।
माथि सुरुमा उल्लेख गरेका हरफहरु त्यही किताबबाट लिइएका हुन् ।

०००

यो किताब पढ्दै गर्दा त्यो बेला पहाडी क्षेत्रको अवस्था के थियो भन्ने थाहा हुन्छ । सापकोटा लेख्छन् ‘म जन्मेको गाउँमा मात्रै हैन, बुबाआमा जन्मिएको गाउँहरुमा पनि चाडपर्व, बिरामी पर्दा र पाहुना आउँदा चामलको भात खान सक्ने परिवार खान्दानी मानिन्थ्यो ।’ अर्थात् चितवन झर्नुको तात्पर्य भात खानेसम्म हुन्थ्यो ।

सापकोटाले चितवनमा खेत किनेका बेलामा समेत यहाँ धान रोप्ने नभएर छर्ने चलन रहेछ । ‘त्यो बेला चितवनमा धान रोप्ने चलन थिएन । ढड्डी मासेपछि अरु झारको बीउ पनि थिएन । खेतमा साउन भदौमा आफै पानी निस्कन्थ्यो । त्यसलाई घोल उठेको भनिँदोरहेछ । त्यो छरुवा धान पनि ८०/९० मुरी फल्ने ।’ पेज नम्बर ५४ मा त्यो बेलाको खेती कसरी गरिन्थ्यो, उत्पादन कस्तो थियो भन्ने कुरा यसरी उल्लेख भएको छ ।

सुरुमा पहाडबाट चितवन गए मरिन्छ भन्नेहरु सुकुम्बासीले पनि सय मुरी धान फलाउने गरेको सुनेपछि यता झर्न लोभिएछन् । अन्नमा चितवन सम्पन्न भए पनि अहिलेको व्यस्त बजार नारायणगढ त्यो बेला कस्तो थियो रु सुरुमै चर्चा गरियो ।
काँग्रेस पार्टीमा लागे पनि पञ्चायतलाई उपयोग गर्ने सोच अनुरुप सापकोटाले प्रधानपञ्चको चुनाव लडे । माथिको अर्को प्रसंग उनी तत्कालीन शिवनगर गाउँ पञ्चायतको पहिलो पटक प्रधानपञ्च हुँदा भएको चुनाव खर्चको हो । अहिले यसरी कहाँ जितिन्छ चुनाव ?

चुनाव लड्न थालेपछि चितवनमा पञ्चायत समर्थकभन्दा विरोधीहरुले प्रधानपञ्च जित्न थालेका रहेछन् । तर मृत्युदण्ड समेत हुन सक्ने काँग्रेस नेता बिपी भारत छाडेर नेपाल आउँदा कारवाही हुनु पर्दछ भनेर पञ्चायती सत्ताको साखुल्ले हुन खोज्ने काँग्रेस समर्थक प्रधानपञ्च कोको थिए त रु सन्दर्भ बुझेर ती नाम पढ्दा त्यो बेलाको राजनैतिक परिदृश्य बुझ्न सकिने भएका कारण मैले यहाँ फ्याट्ट उनीहरुको नाम राखिन । किताब किनेर तपाइँहरु नै पढ्नु होला । तपाइँले चिनेजानेकै नामहरु छन् त्यहाँ ।
चुनावी सन्दर्भमा सापकोटामाथि कतै ज्यादती भएको छ, कतै अन्याय भएको छ । पञ्चायतकालमा धेरै काँग्रेसीहरुले व्यक्तिगत रुपमा चुनाव लडे । तर ४४ सालको स्थानीय चुनाव भने लड्ने भनेर पार्टीले नीतिगत निर्णय लियो । त्यो बेला सापकोटा पार्टीको जिल्ला सचिव रहेछन् । भरतपुर नगर पञ्चायतको प्रधानपञ्च र उपप्रधानपञ्च तय गर्ने सम्बन्धमा भएको निर्णयमा सापकोटासँग कसरी आक्रोश पोखियो भन्ने विवरण किताबमा छ । त्यहाँ आक्रोशभन्दा बढ्दा सापकोटालाई अपमानित गरेको देखिन्छ ।

नगर सभापतिका लागि पार्टीले निर्णय गरेको नाममा असहमत त्यो बेलाका युवाहरु सापकोटाको घरमै आएर उनको गर्दन समाएर घोक्राउँदै बेलचोकतिर लैजान्छन् । कालोमोसो दलेर बजार घुमाउने भन्दै लतार्न थाल्छन् । तर ठाकुर कँडेल आएका कारण सापकोटा फुत्कन सफल हुन्छन् । ती युवाहरु को थिए रु ती पनि तपाइँले चिनेजानेकै काँग्रेसीहरु हुन् । ११० पृष्ठमा उनीहरुको नाम छ ।

किताबमा सापकोटा जन्मेहुर्केको गाउँठाउँको चर्चा पनि छ । कर्मथलो चितवनमा गरेको संघर्षको विवरण छ । जेल जीवन र राजनैतिक सक्रियताको बिस्तारमा चर्चा छ । केही प्रसंगहरु राजनैतिक वृत्तभन्दा बाहिरका पनि छन् । केही विकास र घुमफिरसँग सम्बन्धित कुरा छन् । ३६ सालको संघर्ष, जनमत संग्रहका बेला चितवनमा भएका गतिविधिको चर्चा पनि छ ।
४६ सालको आन्दोलनको सुक्ष्मभन्दा सुक्ष्म प्रसंगहरु छन् । संघर्षलाई उठाउन पार्टीका झण्डा प्रदर्शन गर्ने जिम्मेवारी दिएका व्यक्ति झण्डा देखाउनुको साटो पहिल्यै गिरफ्तार भएर सुरक्षित भए भन्ने पढ्न पाइन्छ । झण्डा देखाउँदा धरपकड, लाठी र उस्तै परे गोलीको पनि सामना गर्नु पर्दथ्यो ।

सजिलो बाटो रोजेका ती व्यक्तिले पछि टिकट पाए । कुनै बेला हारे, कुनै बेला जिते । तर कृष्णलाल धेरै पटक जिल्लिइ नै रहे । पार्टी प्रतिबन्धित भएको अवस्थामा जिल्ला सभापति रहेका व्यक्ति हुन् कृष्णलाल सापकोटा । उनले लुक्दै छिप्दै आन्दोलनको कमाण्ड सम्हाले रु कसरी लुके, कसरी डुले रु कसरी मान्छे खटाए रु कसले उनको आग्रह माने रु कसले टेरपुच्छर लगाएनन् रु बैठक कसरी बसिन्थ्यो रु यस्ता कुराहरु किताबका पानासँगै खुल्दै जान्छन् ।

०००

आन्दोलन सकिएपछि ४७ सालको माघमा पार्टीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा देशभरका कार्यकर्ताको भेला राखेको थियो । तर त्यो भेलामा चितवनको तर्फबाट कृष्णलाललाई हैन अर्कैलाई बोल्ने अवसर दिइयो । किताबको १४५ नम्बर पेजमा यो कुरा उल्लेख छ । जो बोल्यो त्यो सक्रिय राजनीतिमा लागेको आन्दोलनकर्ता नभएको कृष्णलालले लेखेका छन् ।

पञ्चायतकालभरि ती व्यक्तिको काँग्रेससँग खासै सम्पर्क थिएन रे । सापकोटा अगाडि लेख्छन् ‘पञ्चायतीकालमा पनि उनी साधुसन्त र ठूलाबडाको सेवा गर्नुहुन्थ्यो । त्यतिखेर ठूलाबडा भनेका मन्त्री, अञ्चलाधीश, सिडिओ हुन्थे ।

तिनीहरु जहाँ हुन्थे, त्यहाँ काँग्रेस रहन सक्दैनथ्यो ।’ को हुन् त त्यस्ता व्यक्ति जसले जनआन्दोलनपछि चितवन काँग्रेसको प्रतिनिधित्व गरेर बोले रु ती व्यक्तिको नाम पनि किताबमा छ । अचेल तपाइँ हामीले धेरै नै आदरसत्कार गरेर मान्ने गरेको काँग्रेसी हो उनी । उनको नाम मैले लेखिन । भुक्तभोगी कृष्णलालका कलमले लेखेको त्यो नाम तपाइँले किताब पढ्नु भयो भने छक्क पर्न बेर लाउँदैन ।

तीन सय पेजको किताबमा राजनीति र जीवन यात्राका धेरै विवरण छन् । देश, विदेश यात्राका नयाँ पुराना तस्बिरहरु छन् । कुनै प्रसंग पढ्दा खित्का छाडेर हाँस्न थालिन्छ । कुनै प्रसंगले भावुक बनाउँछ । पहाड घर छाड्ने बेलाको मन कति गह्रुँगो भएको थियो रु त्यो बह किताबमा यसरी पोखिन्छ ।

‘भारी तयार भए । भारी बोक्ने मानिस आए । तर आमाले त मेरा बुढाले बनाएको घर छाडेर म जान्न भन्न थाल्नुभयो । जन्मेहुर्केको ठाउँ, चिनजानका इष्टमित्र सबै छाडेर हिँड्न मलाई पनि कहाँ सजिलो थियो र रु तर मन भने बसाइ सरिसकेको थियो । घर छाड्नै पर्ने थियो अनि ‘विस २०१७ साल फागुन १४ गते जन्मेको थात थलो छाडेर बिहानै त्यो घरको अन्तिम खानपिन गरेर बाटो लाग्यौं । हिँड्दा तुलसीको मठमा अन्तिम पानी हालेर घरमा रहेको बिरालोलाई एक्लै छाडेर त्यो घरबारी, घाँसका रुख, पारिको हरियो वन, पारिको खेत सबैलाई राम्ररी हेरेर बिदा भयौं । हुन त आफ्नै इच्छाले बसाइ सरेको हो । तर जन्मेहुर्केको ठाउँ छाड्दा उत्पन्न हुने भावना ब्याख्याभन्दा बाहिरको हुँदो रहेछ ।’

यसरी चितवन आएका सापकोटाले किताब लेखेर त्यो बेलाको चितवनसँगै यहाँका अनेक चरित्रसँग परिचय हुने मौका दिएका छन् । चितवन बुझ्न चाहनेले संग्रह गर्न लायकको किताब तयार भएको छ । जुन किताब पढेर केही व्यक्तिबारे हामीले बनाएका पूर्वधारणाहरु परिवर्तन समेत हुन सक्छन् ।
जीवनको ८४ औं वसन्तको अनुभव लिइरहेका सापकोटालाई दीर्घ जीवनको कामना । ‘जीवन यात्रा’ निकालेर इतिहास जान्ने अवसर दिएकोमा धन्यवाद ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट