पुस्तक व्यवसाय सुरक्षित बनाउन व्यवसायीको माग

भरतपुर, २८ चैत ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ चितवन शाखाको १३औं वार्षिक साधारणसभा
सोमबार नारायणगढमा सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागीहरुले व्यवसायिक सुरक्षा प्रति चिन्ता व्यक्त गर्दै यसको सुरक्षाको माग राखेका छन् । उनीहरुले पुस्तक तथा स्टेशनरी व्यवसाय कमजोर बन्दै गएको बताउँदै प्रकाशक, वितरक, थोक र खुद्रा बिक्रेता विच समन्वय हुनुपर्नेमा जोड दिएका छन् ।

महासंघका केन्द्रीय सदस्य एवम् चितवन जिल्लाका निवर्तमान अध्यक्ष राजेन्द्र तिवारीले सामुदायिक विद्यालयका सरकारी पुस्तकमा हाल रहेको कमिसनमा वृद्धि गर्न र ढुवानी उपलब्ध गराउन माग गरे । केन्द्रीय सदस्य मोहनप्रसाद सापकोटाले विद्यालयले पुस्तक सूचि समयमै सार्वजनिक गर्नुपर्नेमा जोड दिए । महासंघका केन्द्रीय उपाध्यक्ष किरणकुमार खनालले ठूला निजी विद्यालयले अव्यवहारिक विदेशी पुस्तकहरु लागू गरेको आरोप लगाउँदै यस्ता पुस्तकहरु नेपाल प्रवेश गर्न रोक लगाउन माग राखे । उपाध्यक्ष खनालले पाठ्यपुस्तकसँग सम्बन्धित सन्दर्भ सामग्री बन्देज लगाइएकोमा यसको बिरोध पनि गरे । चितवनमा इलाइब्रेरीको आवश्यकता रहेको पनि खनालले बताए ।

महासंघका वागमती प्रदेश अध्यक्ष नारायणकुमार श्रेष्ठले देशभरका पुस्तक व्यवसायीहरुको बीमा शुरु गरिएकोले सबै प्रदेशमा अभियान सक्न अनुरोध गरे । साथै जनक शिक्षा सामग्री केन्द्रसँग कमिसन प्रतिशतबारे छलफल भैरहेको जानकारी गराए ।

महासंघका महासचिव शिवसागर शर्माले विद्यालय हाताबाट पुस्तक बिक्री नगर्न सबै व्यवसायीलाई अनुरोध गरे । महासंघ व्यवसायीको हितको लागि नीतिगत बहस पैरवी गर्ने थलो भएकाले आफूहरु नीतिगत योजना जारी गर्न लागि पर्ने बताए ।

महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिवाकर शर्माले व्यवसाय मैत्री बहसको आवश्यकता महसुस गरे ।उनले प्रकाशकले विभिन्न बहानामा व्यवसायीहरुलाई अप्ठ्यारोमा पारेको बारेमा चिन्ता व्यक्त गरे ।
प्रकाशन गृहले पुस्तक लगाए बापत विद्यालयलाई कमिसन बढाएर व्यवसायीलाई कटौती गर्दै लगेकोले अब व्यवसायीहरू अलमलमा नपरी सचेत रहन आग्रह गरे ।

महासंघका केन्द्रीय अध्यक्ष सञ्जयकुमार चौधरीले केन्द्रले देशभरका पुस्तक तथा स्टेसनरी व्यवसायीहरुको व्यवसायिक सुरक्षाको लागि रणनीतिक योजनामा लागेको बताउँदै केन्द्रको काम हेर्न केही समय पर्खन सबैलाइ आग्रह गरे ।

जनक शिक्षा सामग्री केन्द्र बाग्मती प्रदेशका प्रमुख रामविनय श्रेष्ठले सामुदायिक विद्यालयका पाठ्यपुस्तक एक महिनाभित्र वितरण गर्ने गरी तयार हुँदै गरेको बताए । प्रमुख श्रेष्ठले ढुवानी भाडा माडी र इच्छाकामना क्षेत्रमा निशुल्क गराउने बारे कुरा भैरहेको बताए । उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष चिरन्जीवी सुवेदीले पुस्तक व्यवसायीहरुलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेलले विद्यालयले हरेक वर्ष पुस्तक पुस्तक शुचि परिवर्तन गर्ने कार्य नगर्न अनुरोध गरे ।
उनले स्वदेशमा उत्पादन वृद्धि गराइ नेपाललाई चीन र भारतको डम्पिङ साइट बनाउन नहुने बताए । नेपालीहरु भारत र चीनको सामान विक्री गर्ने दलालीहरुको रुपमा मात्र स्थापित हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।

साधारण सभाका प्रमुख अतिथि वाग्मती प्रदेशका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मिलनबाबु श्रेष्ठले चितवन शाखाले स्थापना गर्न लागेको इपुस्तकालयको लागि आवश्यक सहयोग गर्ने र बाग्मती सरकार हुँदै संघीय सरकारसम्म व्यवसायीको हकहितका लागि मद्धत पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे ।

उद्घाटन कार्यक्रममा चितवन शाखाका प्रथम उपाध्यक्ष काजीराज चौधरीले स्वागत मन्तव्य राखेका थिए । अध्यक्ष उद्योग विक्रम बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव महेन्द्र कोइरालाले सञ्चालन गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट