भरतपुर, २८ चैत ।
माडी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट ७ जना आकांक्षी देखिएका छन् । कांग्रेस माडी नगर समितिले संकलन गरेको नामावलीमा ७ जना मेयर र उपमेयरमा १३ जना अग्रसर बनेका छन् । मेयरमा खेमप्रसाद महतो, सविता बराल, छविलाल भट्टराई, भोजराज देवकोटा, विकास भुषाल, काशि अधिकारी, नारायणप्रसाद दाहालले मेयर बन्ने इच्छा नगरकमिटिलाई जानकारी गराएका छन् ।
महतो २०७४ सालको निर्वाचनमा माडीको मेयरमा ४४ मतान्तरले पराजित भएका थिए । उनी माडी नगर समितिमा सभापति पदमा २ मतले पराजित भएका थिए । त्यस्तै कांग्रेसको पूर्व जिल्ला सदस्य, साविक गर्दी गाविस पार्टीको ३ कार्यकाल सभापति र १ कार्यकाल वडाध्यक्ष भएका थिए ।
मेयरका उम्मेदवार बराल २०७० सालको संविधानसभा सदस्य चुनावका लागि चितवन क्षेत्र नम्बर ५ को उम्मेदवार थिए । उनी कांग्रेस महासमिति सदस्य हुन् । माडीका पुराना नेता भट्टराई २०४८ सालदेखि कांग्रेस माडीको चुनावी प्रसारप्रसार समिति संयोजक छन् । उनी क्षेत्रीय प्रतिनिधि, निर्वतमान महासमिति सदस्य हुन् । पूर्व जिल्ला सदस्य देवकोटा जिल्ला सहसचिवको उम्मेदवार थिए । उनी नेविसंघको पूर्व जिल्ला उपसभापति हुन् । युवा नेता भुषाल नेविसंघको पूर्व जिल्ला सहसचिव, माडी क्याम्पसको स्ववियु सभापतिका उम्मेदवार थिए । वित्त क्षेत्रमा सक्रिय भुषाल कान्छा आकांक्षी हुनुहुन्छ । अधिकारी, दाहाल पुराना नेता हुन् ।
यस्तै उपमेयरमा माडी नगरसमितिका सभापति कोलनाथ भुषाल, सचिव लोकनाथ लामिछाने, २०७४सालको चुनावमा उपमेयर उम्मेदवार शिवमाया भट्टराई आकांक्षी छन् । यस्तै नारायण सुवेदी, कृष्णकुमारी पौडेल, तिलक भुषाल, टीका खत्री, हरि पौडेल, हिमाल गुरुङ, शुक्रमिया महतो, प्रविन देवकोटा, सीता अर्याल, जानुका थापा क्षेत्रीसमेत उपमेयरको आकांक्षी छन् । २०७४ सालको चुनावमा माडीको मेयरमा कांग्रेस झिनो मतान्तरले पराजित भएको थियो । मेयर, उपमेयर दुवै पदमा कांग्रेसले दावी गरेको छ । संकलन भएका नामहरु प्रदेश, क्षेत्र र जिल्लामा पठाइने माडी नगर समितिले जनाएको छ ।





