देशमा बिस्तारै स्थानीय निर्वाचनको वातावरण बन्दैछ । दलहरु उम्मेदवार छनौटमा व्यस्त हुन थालेका छन् । विभिन्न दलनिकट व्यक्तिहरुले स्थानीय तहका विभिन्न पदमा आकांक्षा देखाउन थालेका छन् । आकांक्षीका रुपमा उनीहरुको नाम चर्चामा आउन थालेको छ । यसै सन्दर्भमा सबै दलको आँखा भने भरतपुर महानगरपालिकाको मेयर पदमा पुगेको छ । नेकपा (माओवादी केन्द्र) अघिल्लो स्थानीय निर्वाचनमा झैँ गठबन्धन गरेर मेयरमा पुनः रेनु दाहाललाई ल्याउन खोजिरहेको छ । यस कुराको छनक रेनुका बुबा पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक कार्यक्रममा बोल्ने क्रममै दिइसकेका छन् । नेपाली कांग्रेससँगको गठबन्धनबाट छोरी रेनुलाई मतपत्र च्यातेरै भए पनि भरतपुरको मेयर बनाउन सफल प्रचण्ड यसपालि पनि छोरी रेनुलाई मेयर पदमा दोहोर्याउने दाउमा छन् ।
भरतपुरको मेयर कसले पाउने भन्नेमा सत्ता गठबन्धनले निर्णय लिन सकेको छैन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रचण्डप्रति नतमस्तक भए पनि जिल्ला कांग्रेस भने भरतपुरमा मेयर कांग्रेसले नै पाउनु पर्ने अडानमा छ । यही माग राख्न दुई दिनअघि काठमाडौं पुगेको चितवन कांग्रेसका सभापति राजेश्वर खनालसहितको टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभापति देउवासँग भेट गरेको छ । खनालसहित जिल्लाका कार्यकर्ता र केन्द्रीय सदस्य सम्मिलित टोलीले सभापति देउवालाई चितवनमा अहिलेको राजनीतिक अवस्थाबारे जानकारी गराउँदै भरतपुरको मेयर कांग्रेसले पाउनु पर्ने भन्दै ध्यानाकर्षण गराएको छ । अघिल्लो पटक कांग्रेसले माओवादीलाई समर्थन गरेको हुँदा यसपालि नेपाली कांग्रेसले नै भरतपुरको मेयर पाउनु पर्ने भनी सभापति देउवासमक्ष चितवन कांग्रेसले माग राखेको छ । यसअघि टोलीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, उपसभापति धनराज गुरुङलगायतका कांग्रेसका नेताहरूसँग भेट गरी भरतपुरको मेयर कांग्रेसले छाड्न नहुने बताएको थियो ।
भरतपुर महानगरपालिकाको मेयरमा कसलाई उम्मेदवार उठाउने भन्ने विषयमा सत्ता गठबन्धनको निर्णय नआउँदै प्रतिपक्षी दल नेकपा (एमाले)ले भरतपुरको मेयरमा विजय सुवेदीलाई उठाउने निर्णय गरिसकेको छ । सुवेदी जनस्तरमा भिजेका प्रभावशाली नेता हुन् । वाग्मती प्रदेशको मन्त्री भइसकेका सुवेदी भिजन भएका पाका नेताको रुपमा पनि चिनिन्छन् । एमालेबाट भरतपुरको मेयरमा सुवेदी उठ्ने पक्कापक्की भइसकेपछि सत्ता गठबन्धनलाई उपयुक्त उम्मेदवार घोषणा गर्न दबाब पुगेको छ । गएको पाँच वर्षको काम हेर्दा भरतपुरमा रेनु दाहाललाई दोहोर्याउनु पर्ने कुनै कारण छैन । गठबन्धनको वैशाखी टेकेर पुनः मेयर बन्ने दाहालको सपना पूरा हुने छाँट छैन । पुनः भरतपुरको मेयरमा मेरो व्यक्तिगत चाहना छैन भन्ने दाहालका आसेपासे भने भरतपुरमा जनताले नै उनलाई खोजेको कुतर्क गरिरहेका छन् । यदि त्यस्तै हो भने एक्लै उठेर जितेर देखाए भैगो त । कसले रोकेको छ र ?





