भरतपुर, २६ चैत ।
निबन्धकार मणि अर्यालको निबन्ध सङ्ग्रह `कुटी´माथि चर्चा गरिएको छ । `लेट्स टक´को आयोजनामा हरेक शनिबार बिहान होटल अशोका भरतपुरमा पुस्तक चर्चा हुँदै आएको छ । सोही सिलसिलामा यो साता `कुटी´ चर्चा राखिएको `लेट्स टक´का अक्षरराज पन्थीले जानकारी दिए ।
युरेका पब्लिकेसन्सबाट प्रकाशित `कुटी´माथि युवा पाठकहरू सिर्जना आचार्य, दीपा धमला र दिनेश नाइसाले टिप्पणी राखे । युवाहरूले पढ्ने र उनीहरूकै टिप्पणी लेखकलाई सुनाउने यो अभियान अहिले चितवनमा हरेक शनिबार चलिरहेको छ । टिप्पणी सँगसँगै युवाहरूले लेखकसँग सवालजवाफ पनि गर्छन् । त्यसपछि युवा पाठकका खुल्दुलीलाई लेखकले मेटाउने प्रयास पनि गर्छन् ।
सप्तगण्डकी क्याम्पसमा स्नातकोत्तर पढ्दै गरेकी सिर्जना २३ वर्षकी भइन् । सिर्जनाले साहित्यिक पुस्तक अध्ययनमा रुचि राख्छिन् । कार्यक्रममा सिर्जनाले कुटी भित्रका एघार वटै निबन्धका बारेमा चर्चा गरिन् । त्यस्तै दीपा धमालाले बालकुमारी कलेजमा स्नातक पढ्दैछिन् । १९ वर्षकी उनले एघार वटै निबन्धको चर्चा गरिन् । निबन्धमा समेटिएको बिषयबस्तु र निबन्धले दिन खोजेको सन्देशलाई सरसर्ती सुनाइन् । एघार वटा निबन्ध मध्ये `पसिनाको स्वाद´ निबन्ध आफूलाई विशेष मन परेको दीपाले सुनाइन् ।सङ्ग्रहका निबन्धमा नैतिक शिक्षाका प्रसङ्गहरू पनि समेटिएको धमलाले सुनाइन् । `कुटी´ माथि नै अर्का युवा दिनेश नाइसा मगरले पनि टिप्पणी राखे । २५ वर्षका नाइसाले सप्तगण्डकी क्याम्पसबाट हालै स्नातक सकेका छन् । एकै बसाइँमा `कुटी´ पढेर सकेको बताउँदै मगरले कुटीका निबन्धहरू सामाजिक बिसयमा लेखिएको हुनाले निबन्ध पढ्दा आफ्नै समाजको झझल्को प्रतिविम्बित भएको बताए ।
निबन्धसङ्ग्रहको सुरुवातमा `गुरुभेट´ निबन्ध छ । यो शैक्षिक निबन्ध हो । बाल मनोबिज्ञानलाई निबन्धकार अर्यालले निबन्धमा उतारेका छन् ।
`होटल हाइवे´ दोस्रो निबन्ध हो । यात्राका क्रममा बाटोका होटलमा खानपिन गरिँदाको अवस्था र अनुभवलाई निबन्धकारले यो निबन्धमा उतारेका छन् ।
तेस्रो निबन्ध `मधुशाला´मा सराब बिना साहित्य सिर्जना मुस्किल हुने आम भनाइलाई गलत साबित गरिएको प्रसङ्ग छ । त्यसैगरी `मेरो गाउँ´ निबन्धमा गाउँको वर्णन, `मित्र संवाद´ निबन्धमा साथीको प्रसङ्ग र महत्त्व, `कुटी´ निबन्धमा आफ्नो घरको चर्चा, `नेपालगन्ज´ निबन्धमा नेपालगन्ज शहरको चर्चा छ ।
त्यसैगरी `प्यान्थर´ शीर्षकको निबन्धमा परिवार नियोजनको अस्थायी साधन प्यान्थरको प्रयोगको प्रसङ्ग जोडिएको छ । `पसिनाको स्वाद´ निबन्धमा मिहिनेती व्यक्तिको सन्दर्भ छ । `रिस´ शीर्षकको निबन्धमा रिसका बेफाइदा बारेमा वर्णन छ ।
त्यस्तै सङ्ग्रहको अन्तिम निबन्ध `सम्झनामा इन्द्रबहादुर राई´मा वरिष्ठ स्रस्टा इन्द्रबहादुर राइको साहित्यिक योगदानको चर्चा छ । तीनैजना वक्ताले सबै निबन्धमाथि अलगअलग टिप्पणी राखेका थिए ।
शनिबार बिहान ८ बजेदेखि ९ बजेसम्म चलेको कार्यक्रमलाई सञ्चारकर्मी सविता अधिकारीले सहजीकरण गरेकी थिइन् । आफ्ना निबन्धहरूको टिप्पणी युवापुस्ताको मुखबाट सुन्न पाउँदा अलग्गै आनन्द मिलेको निबन्धकार मणि अर्यालले बताए ।




