भरतपुर, २३ चैत ।
भरतपुर महानगरपालिका ४ लंकुमा रहेको जेम्स वर्ल्ड फन पार्कले आफ्नो वार्षिकोत्सवको अवसर पारी विभिन्न मनोरञ्जनात्मक खेलहरूमा छुटको व्यवस्था गरेको छ । आगामी वैशाख १ गते स्थापनाको तीन वर्ष पूरा गर्न लागेको फनपार्कले नयाँ वर्षलाई समेत लक्षित गरेर भारी छुटको योजना ल्याएको हो ।
वैशाख १, २ र ३ गते खरिद गरिएको टिकटले वर्षमा अन्य तीन पटकसम्म पुन: प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको फनपार्कका अध्यक्ष महेश तिवारीले जानकारी दिए ।
नयाँ वर्षको पहिलो तीन दिनका लागि विभिन्न खेलहरूमा टिकट शुल्क समेत घटाइएको तिवारीले बताए । छुट योजना अनुसार एउटै टिकटले फन पार्कभित्रका सुख्खा तथा पानीमा हुने सम्पूर्ण खेलहरू खेल्न पाइनेछ । सो योजना अन्तर्गत बालबालिका तथा वयस्कका लागि टिकटको शुल्क ५५० र ७५० रुपैयाँ तोकिएको छ । यो योजना तीन दिनको लागि मात्र लागू हुनेछ ।
पार्कद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “कोरोना संक्रमणको दर शून्यमा झरेसँगै फनपार्कमा मानिसहरूको आकर्षण बढ्दै गएको छ । चितवन बाहिरबाट पनि पर्यटकहरू फनपार्क घुम्न नियमित आउने गरेकाले हामी हर्षित भएका छौं ।”
पछिल्ला वर्ष महामारीका कारण व्यवसाय निराशाजनक अवस्थामा पुगेपनि अब भने नागरिकको इच्छा र चाहनाअनुसार फन पार्क सञ्चालन गर्न आफूहरू प्रतिबद्ध रहेको फनपार्कका अध्यक्ष तिवारीले बताए ।
फनपार्कमा साना तथा ठूला गरी १०० वटा खेल समावेश छन् । वाटरपार्कमा ४३ फिटको उचाइबाट घुमाउरो र २६५ फिट लामो टनेलभित्र चिप्लेटी खेल्दै भुइँमा झर्न सकिने व्यवस्था पनि रहेको छ ।





