राप्ती, २३ चैत ।
राप्ती नगरपालिका स्वास्थ्य शाखाले अभिमुखीकरण गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । बुधबार राप्ती नगरपालिका सभाहलमा गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीमा टाइफाइडविरुद्धको खोपबारे अन्तरक्रिया गरिएको छ ।
यसै सन्दर्भमा राप्ती नगरपालिका अन्तर्गतका १५ महिनादेखि १५ वर्षसम्मका सम्पूर्ण बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ । नगरले राप्तीभित्रकै विद्यालय र अन्तिम दिन स्वास्थ संस्थामार्फत खोप लगाइने भएको हो । नगरले यही चैत २५ गतेदेखि ३० गतेसम्म खोप लगाउने भएको हो ।
दूषित खाना र पानीबाट बच्चाहरुमा टाइफाइड बढी लाग्ने गरेको नगर स्वास्थ्य शाखा उपप्रमुख राममणि सिलवालले बताए । सबै उमेरकोलाई यो रोगको डर भए पनि मुख्यगरी १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई धेरै जोखिम भएकोले खोप लगाउन लागिएको उनले बताए । नियमित खोपको रुपमा सुरुवात गरिएकोले यो कुनै ट्रायल खोप नभएको राप्ती नगर स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले बताए ।
टाइफाइडका मुख्य लक्षणहरु उच्च ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने रहेको छ । यो रोग लागेपछि पेट दुख्ने, पखाला लाग्ने वाकवाकी लाग्ने लगायत शरीरमा बिमिराहरु आउनेजस्ता लक्षण देखा पर्ने उपप्रमुख सिलवालले बताए ।
टाइफाइड सरुवा रोग भएको र यसले शरीरको विभिन्न भागमा संक्रमण फैलाउने उनले बताए । कतिपय संक्रमितमा लक्षणहरु देखा नपर्ने पनि उनले बताएका छन् ।
राप्ती–५ की वडाध्यक्ष मेनुका पाठकको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा खोप लगाउनुका उद्देश्य, खोप अभियानको पृष्ठभूमि, औचित्य, कार्यनीति र रणनीति लगायतको विषयमा छलफल भएको थियो ।





