भरतपुर,२३ चैत ।
राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लबले चन्द्रपुरविरुद्ध कठिन जित निकालेको छ । बुधबार भएको दोस्रो खेलमा बिभागिय टोली पुलिसले चन्द्रपुरविरुद्ध २–१ को संघर्षपूर्ण जित निकालेको हो ।
पुलिसको जितमा मनिषा राउत र रेखा पौडेलले गोल गरे । चन्द्रपुरकी कप्तान रोजिना श्रेष्ठले गोल फर्काईन् ।
पहिलो हाफमा चन्द्रपुरले पुलिसलाई गोलरहित बराबरीमा रोक्यो । चन्द्रपुरको डिफेन्स पहिलो हाफमा पुलिसका लागि बाधक बन्यो ।
पहिलो हाफ बराबरीमा रोकिएको पुलिसले दोस्रो हाफको तेस्रो मिनेटमा नै अग्रता लियो । ४८ औं मिनेटमा मनिशाले गोल गर्दै पुलिसलाई सुरूवाती अग्रता दिलाईन् ।
पहिलो गोल गरेको दुई मिनेटमा नै पुलिसले दोस्रो गोल ग¥यो । ५० औं मिनेटमा रेखाले गोल गर्दै पुलिसलाई २–० को अग्रता दिलाईन् । दुबै गोल चन्द्रपुरको डिफेन्स र गोलकिपरको तालमेल नमिल्दा भयो ।
५९ औं मिनेटमा चन्द्रपुरकी कप्तानले गोल फर्काइन् । लेफ्ट कर्नरबाट उनले प्रहार गरेको बलले पुलिसकी गोलकिपर उषा नाथलाई बिट गर्दै चुम्यो । पहिलो गोलपछि हौसिएको चन्द्रपुरले पुलिसमाथि दबाब बनाए पनि गोल फर्काउन सकेन ।
चन्द्रपुरकी दिलकुमारी राना मगर प्लेयर अफ दि म्याच भईन् । यो जितपछि पुलिस पाँच खेलबाट १२ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेको चन्द्रपुरको एक अंक मात्रै छ ।
यस अघि आजको पहिलो खेलमा विराटनगरले धनगढीलाई हरायो । विराटनगरले धनगढीलाई १–० ल पराजित गरेको हो । धनगढीको जितमा विपना राईले खेल सकिन एक मिनेट बाँकी रहँदा गोल गरिन् ।
खेल अवधिभर दुबै टोलीले गोल गर्ने कमै अवसर पाएका थिए । ८७ औं मिनेटमा मैदान प्रवेश गरेकी विपनाले ८९ औं मिनेटमा गोल गरिन् । उनले मैदान प्रवेश गरेकी दोस्रो मिनेटमा नै गोल गरिन् ।
उक्त गोल नै विराटनगरलाई ३ अंक बटुल्न पर्याप्त भयो । विराटनगरकी आशा कुमारी प्लेयर अफ दि म्याच भईन् । यो जितपछि विराटनगर पाँच खेलबाट १० अंक बनाउँदै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेको धनगढीको ९ अंक छ ।
लिगमा शनिबार दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ः१५ बजे नेपाल पुलिस क्लब र ललितपुरबीच हुनेछ । यस्तै दोस्रो खेल दिउँसो ४ः१५ बजे चन्द्रपुर र वाकिङबीच हुनेछ ।





