गैँडाकोट,२० चैत ।
६५औँ सहकारी दिवसका अवसरमा विजय सामूदायिक शिक्षा सदनले आयोजना गरेको कविता प्रतियोगिता विजय सामुदायिक शिक्षा सदनका आस्था घिमिरे प्रथम भएकी छिन् । सहकारी दिवसको अवसरमा `सहकारी र वित्तिय शिक्षा´ बिषयमा १० विद्यालयका १७ विद्यार्थीले प्रतियोगितात्मक कविता प्रस्तुत गरेका थिए ।
कविता प्रतियोगितामा विजय सामुदायिक शिक्षा सदनकै अनुराग कँडेलले द्वितीय स्थान हासिल गर्न सफल भएका छन् । यस्तै सरस्वती निकेतन अङ्ग्रेजी स्कुलका स्वस्तिका पौडेल तृतीय र बालविकास माध्यमिक विद्यालयका निश्चल भुषालले सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा प्रथम हुनेले नगद ५ हजार सहित ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेले नगद ३ हजारसहित ट्रफी र प्रमाणपत्र, तृतीय हुनेले नगद २ हजारसहित ट्रफी र प्रमाणपत्र अनि सान्त्वना हुनेले १ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए ।
कार्यक्रममा गैँडाकोट नगरपालिका शिक्षा शाखा प्रमुख डा. वालकृष्ण चापागाईले नेपाल सरकारले निर्धारण गरेको शिक्षाको लक्ष्यमा बालबालिकाको व्यक्तित्व विकास र नेतृत्व क्षमता विकासमा प्रतियोगिता सहयोगी हुने बताए ।
गुणस्तरिय शिक्षा प्रदान गर्न २०५८ सालमा स्थापना भएको विजय सामुदायिक शिक्षा सदन नगरको एक मात्र सहकारी माध्यमबाट अध्ययन, अध्यापन हुने विद्यालय हो । सहकारी विद्यालय भएकोले सहकारी दिवसका दिनमा नै कविता प्रतियोगिता आयोजना गरिएको विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडका उपाध्यक्ष एवम् कार्यक्रमका सभाध्यक्ष परमेश आचार्यले बताए ।
कार्यक्रममा बोल्दै प्याब्सन गैँडाकोट नगर अध्यक्ष लक्ष्मीप्रसाद दवाडीले यस्ता कार्यक्रमले विद्यार्थीले विद्यार्थीको सिर्जनात्मक क्षमता अभिबृद्धि गर्ने बताए ।
कवि एवम् साहित्यकार गोविन्दराज विनोदीले साहित्य पढ्न र लेख्न विद्यालयले उत्प्रेरित गरेकोमा धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्न आग्रह गरे ।
कार्यक्रममा निर्णयकका रुपमा प्राध्यापक कपिल अज्ञात, बालकुमारी कलेज नेपाली बिभाग प्रमुख विश्वराज लम्साल र साहित्यकार राधा कोइराला रहेका थिए ।





