भण्डारा अस्पतालको निर्माण कार्य तीव्र गतिमा

राप्ती,१६ चैत ।

चितवनको राप्ती नगरपालिकामा १० बेडको अस्पताल बनाउने कार्य तीव्र गतिमा अगाडि बढेको छ । २ बर्षमा निर्माण कार्य सकाउने गरि गरिएको अस्पतालको निर्माण कार्य लगभग एक वर्ष पछि मात्रै सुरु गरिएको थियो । अहिले निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ ।

निर्माणाधीन अस्पतालको अहिले डिपिसी र पिल्लर उठाउने कार्य भइरहेको छ । मेयर प्रभा बरालका अनुसार १० करोड ४२ लाख ४३ हजारको ठेक्कामा अस्पताल निर्माण भइरहेको हो । विशेषगरी चेपाङ महिलाहरु उपचार गर्न हस्पिटल जान गाह्रो मान्ने भएकोले महिला विशेषज्ञले यहीँ उपचार गर्ने उदेश्यले हस्पिटल निर्माण गरिएको उनले बताएकी छन् ।

‘पूर्वी क्षेत्रमा सिमान्तकृत वर्गका महिलाहरु, चेपाङ महिलाहरु कुनै समस्या परे हस्पिटल जान गाह्रो मान्नुहुन्छ ।’ उनले भनिन, ‘उहाँहरुलाई विविध रोगहरु लाग्दा पनि हस्पिटल नपुगिदिने हुँदा समस्या पर्ने भएको हुनाले ती महिलाहरुलाई यहीँबाट सेवा दिऔ भन्ने उदेश्य हस्पिटल बनाउन लागेका हौँ ।’
२ बर्षमा हस्पिटल बनाइसक्ने लक्ष्य लिइएको छ । स्वास्थ्य मन्त्रालय र राप्ती नगरपालिकाबाट बजेट छुट्टयाएर निमार्ण कार्यलाई अगाडि बढाइएको नगर प्रमुख बरालले बताइन् ।

राप्तीमा एउटा पनि अस्पताल नभएपछि स्वास्थ्य चौकीलाई विस्तार गरि भण्डारा अस्पतालको स्थापना गरिएको थियो । २४ सै घण्टा आकस्मीक सेवा सहित सञ्चालन भइरहेको अस्पताल अहिले काम चलाउ रुपमा रहेको छ । अहिले निर्माणाधीन अस्पताल र भण्डारा अस्पताल एकै भएको नगर प्रमुख बरालले बताइन् । ‘भण्डारा अस्पताल कै नयाँ भवन बनेको हो । यसमा महिला विशेषज्ञ सहितको टीम चै थपिन्छ, अन्य सबै प्रक्रियाहरु त्यही हुन् र त्यसकै निरन्तरता हुन् ।’ उनले भनिन् ।
बागमती प्रदेशका पूर्व मन्त्री दावा दोर्जे लामा र पूर्व मुख्यमन्त्री डोरमणी पौडेलको पहलमा मत्स्य विकास केन्द्रको जग्गा हस्पिटललाई छुट्टयाइएको पनि उनले बताएकी छन् ।

हस्पिटल निर्माणलाई एउटा उपलब्धिको रुपमा लिइएको नगर उप प्रमुख इमान सिंह लामाले बताए । विकासका पूर्वाधार मध्येको एक स्वास्थ्य क्षेत्रको विस्तारले नगरलाई एउटा छुट्टै पहिचान दिने उनले बताए ।

राप्तीमा धेरै विकट क्षेत्र भएको र कतिपय समुदायहरु स्वास्थको पहुँचबाट टाढा रहेको पनि उनले बताए । ‘राप्तीका पहाडी क्षेत्रहरुमा अझै पनि स्वास्थ्यको पहुँच पुग्न सकेको छैन । अस्पताल टाढा भएका कारण कतिपयलाई झन् धेरै समस्या भएको छ । अस्पतालको निर्माणले यी सास्तीहरुको न्युनिकरण पक्कै गर्नेछ ।’ उनले भने ।

हस्पिटलको निर्माण कार्य अघि बढेसँगै स्थानीयहरुमा खुशी छाएको छ । स्थानीयस्तरमै स्वास्थ्य सेवामा पाउनेहरुमा उनीहरु विश्वस्त रहेका छन् । ‘निर्माण कार्य सुरु नहुँदा अस्पताल नै बन्दैन कि जस्तो लागेको थियो । अहिले काम धमाधम अघि बढेको छ । हामी खुशी छौँ ।’ एक स्थानीयले बताए । अस्पताल बनेपछि नगरले अस्पताल व्यवस्थापनलाई पनि ध्यान दिनुपर्ने उनले बताए ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट