भरतपुर, ७ चैत ।
विश्व कविता दिवसका अवसरमा चितवनमा कविता वाचन गरिएको छ । अक्षर समूह चितवनको आयोजनामा नारायणगढस्थित सम्पूर्ण किताबमा कार्यक्रम आयोजना गरिएको हो । 
कार्यक्रममा विभिन्न भाषामा कविताहरू वाचन भए । कवि उदय अधिकारीले अङ्ग्रेजीमा, ईश्वर कँडेलले फ्रेन्चमा, प्रभाकर पण्डितले हिन्दीमा, रामहरि श्रेष्ठले नेवारीमा र मनोज चौधरीले थारु भाषामा कविता सुनाए । त्यसैगरी कविहरू रमेश प्रभात, भूपिन, गणेश श्रमण, नारदप्रसाद थपलिया, सुमित्रा सापकोटा, उपेन्द्र भुसाल र आकाश पौडेलले पनि कविता सुनाए ।
सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले हरेक मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसपछि हरेक वर्ष मार्च २१ का दिन संसारभर कविता वाचनका कार्यक्रम हुँदै आएका छन् । नेपालमा पनि लामो समयदेखि यो दिवस मनाइँदै आइएको छ । चितवनमा भने २०६३ सालदेखि यो दिवस मनाउन थालिएको अक्षर समूहका पूर्व अध्यक्ष भूपिनले बताए । `प्रकाश सायमीजी चितवनमा रहँदा उहाँको सल्लाहमा र प्रेमविनोद नन्दनजीको संयोजनमा नारायणगढमा पहिलोपटक विश्व कविता दिवस मनाइएको हो´, कवि भूपिनले भने- `त्यसपछि निरन्तर रूपमा यो कार्यक्रम मनाइँदै आइएको छ ।´
कार्यक्रमलाई अक्षर समूहका सचिव लेखराम सापकोटाले सहजीकरण गरेका थिए । चार हजार वर्षअघि बेबिलोनमा पहिलो कविता रचना भएको मानिन्छ ।





